भारत: दाइजोका लागि ‘बेहुला’ बन्ने महिला पक्राउ


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

भारतमा प्रहरीले आफूलाई पुरुष भन्ने गरेको र दाइजोका लागि दुई जना महिलालाई झुक्याएर विवाह गरेको आरोपमा एक महिलालाई पक्राउ गरेका छन्।

कृष्णा सेन नाम गरेकी ती महिला बुधवार भारतको उत्तराखण्ड राज्यबाट दाइजो मागेको आरोपमा पक्राउ परेकी हुन्। भारतमा दाइजो माग्नु कानुनविरुद्ध हुन्छ।

सोधपुछका क्रममा मात्रै उनी महिला भएको पत्ता लागेको प्रहरीले बीबीसीलाई बताए।

प्रहरीका अनुसार पहिला स्वीटी भनेर चिनिने २६ वर्षीया सेनले सन् २०१४ मा पहिलो विवाह गरेदेखि पुरुषको भेषमा घुम्ने गरेकी छिन्।

“पहिला कृष्णाले भनेका कुरा हामीले बुझ्नै सकेनौँ,” वरिष्ठ प्रहरी अधिकृत जनमेजय खान्डुरीले बीबीसीलाई बताए।

प्रहरीले स्वास्थ्य परीक्षण गराएपछि मात्र उनी महिला रहेको पत्ता लाग्यो।

 

दाइजो

सेन आफ्नी पहिली श्रीमतीसँग विवाहलगत्तै छुट्टिएको र उनले अर्की महिलासँग गत वर्ष अप्रिलमा विवाह गरेको बताइएको छ।

तर भूतपूर्व ससुराली पक्षले सेनले दाइजोका लागि आफ्नी छोरीलाई उत्पीडन गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेको थियो।

उनीहरूले सेनले व्यापार गर्न भनी भारु आठ लाख ५० हजार सापट लिएको तर फिर्ता नगरेको आरोप पनि लगाएका छन्।

दक्षिण एसियामा बेहुलीका माइतीबाट बेहुलाको परिवारले पैसा, लुगा र गहना दाइजोका रूपमा लिने पुरानो चलन हो।

भारतमा यसलाई सन् १९६१ मै प्रतिबन्धित गरिएको भए पनि दाइजो प्रथाले निरन्तरता पाइराखेको छ।

Krishna Sen accompanied by police officers
कृष्णा सेनलाई बुधवार पक्राउ गरिएको हो

जीवनशैली

प्रहरीका अनुसार सेनले उनीहरूलाई आफू सधैँ पुरुष हुन र ‘पुरुषकै जीवन’ बाँच्न चाहेको बताइन्।

तर उनका बाबुआमालाई सेनका क्रियाकलापबारे थाहा भए नभएको भने स्पष्ट छैन।

उनले विवाह गरेका दुवै महिलालाई सेनबारे केही शङ्का नभएको जस्तो देखिएको छ।

उनका साथीहरू प्राय: पुरुष हुने गर्थे र उनी पुरुषकै शौचालय प्रयोग गर्ने गर्थिन् एवम् फरक शैलीमा बोल्ने गर्थिन्।

कतै केही शङ्का नहोस् भनेर उनी पुरुष साथीहरूसँगै धूमपान र मदिरापान गर्ने र मोटरसाइकल चलाउने गर्थिन्।

“पुरुषको जस्तै केश, लुगा र व्यवहारले कृष्णा पुरुष जीवन नै व्यतीत गर्ने गर्थिन्। कसैले कृष्णालाई शङ्का गरेनन्” अर्का प्रहरी अधिकृतले भने।

अझ उनी एउटा ‘आत्मविश्वासपूर्ण पुरुष’ जसरी हिँड्ने गर्थिन्, उनले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com