नयाँ हवाई रुट पाँच वर्षदेखि चर्चामै सीमित,भैरहवा रुट दिन अस्विकार


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भएको झन्डै ५ वर्ष भइसकेको छ । गत वर्ष नेपाल र भारतीय प्रतिनिधिबीच भएको दुईपक्षीय वार्तामा नयाँ हवाई रुट थप गर्न सहमतिसमेत भएको थियो । तर हालसम्म पनि कार्यान्वयनमा भने आउन सकेको छैन ।
भारतले तत्कालका लागि नेपालगन्ज रुट प्रयोग गर्न दिने भने पनि गत वर्षदेखि कुनै पनि वार्ताहरु अगाडि नबढ्दा नयाँ हवाई रुट खुल्ने प्रक्रिया झनै लम्बिँदै गएको छ । तीन वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको अवसरमा नयाँ हवाई रुट दिने बताएका थिए । उक्त समयमा ६ महिनामा टुंग्याउने बताए पनि हालसम्म कार्यान्वयमा भने आउन सकेको छैन । त्यसयता पटकपटकको वार्तापछि भारतीय पक्षले नेपालगन्ज रुट तत्काल खोल्ने समझदारी गरेकको थियो । तर दुई पक्षले प्राविधिक रिपोर्ट तयार गरेर पुनः वार्ता गरेपनि टुंगिने भनिए पनि हालसम्म रुट भने खुल्न सकेको छैन ।

नेपालले भारतसँग जनकपुर, नेपालगन्ज र भैरहवाको हवाई रुट मागेको थियो । जनकपुर र नेपालगन्ज दिन भारत तयार भएपनि भैहरवाको रुट भने दिननसक्ने यसअघि नै बताइसकेको छ ।

नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । हाल सिमराबाट मात्रै हवाई रुट खुला छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिने सहमति भएको थियो । उक्त सहमतिसमेत कार्यान्वयनमा आएको छैन ।
भारत ट्रान्स हिमालयन रुट–२ समेत खोल्न तयार भइसकेको छ । तर, म्यानमार र भुटानकोसमेत सहमति आवश्यक पर्ने भएकोले उक्त रुट खुल्ने विषयमा समेत कुनै पनि विषय अगाडि बढेको छैन । काठमाडौं–महेन्द्रनगर–दिल्ली (एल–६२६) दोहोरो रुट हो । त्यस्तैगरी ल्हासा–काठमाडौं–भरतपुर–भैरहवा–दिल्ली रुट (बि–३४५) रहेको छ । भने काठमाडौं–जलेश्वर–पटना (जी–३३५) रुट रहेको छ । “विगतमा केही सहमतिहरु भएका छन्, सोही विषयलाई कार्यन्वयन गर्न अहिले नागरिक उड्डयन प्राधिकरणले प्राविधिक अध्ययन गरिरहेको छ,” मन्त्रालयका हवाई सुरक्षा महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले भने । नेपाल र भारत पक्षबीच निकट भविष्यमै कोलकातामा बैठक हुन लागेकाले सोही बैठकबाट धेरै विषय टुंगिने लामिछानेले जानकारी दिए ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल २०१९ भित्र सञ्चालनमा आउँदै छ भने २०२० मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउँदै छ । दुई विमानस्थल सञ्चालनका लागि पनि नेपालगन्ज रुट अनिवार्य छ । हाल सिंगापुरमा जारी अन्तर्राष्ट्रिय ‘एयर शो’मा समेत नेपालले हवाई रुटको विषयमा कुरा उठाएको छ । एउटा मात्रै सिमरा रुट हुँदा नेपाली हवाई आकाश बढी व्यस्त हँुदै आएको छ ।

खुल्ला आकाश सम्झौताको विषयमा छलफलै भएन विमानस्थल निर्माणले गति लिँदै गर्दा नेपाल र भारतबीच हुनुपर्ने अत्यावश्यकीय मानिएको खुल्ला आकाश सम्झौता (एएसए) को विषयमा छलफल नै हुन सकेको छैन । नेपाल–भारतबीच हुने भनिएको हवाई सम्झौता प्रक्रिया सुरु भएको पाँच वर्षमा पनि दुईपक्षीय छलफल अगाडि बढेको छैन ।

यो सम्झौता नभए नेपालमा बन्दै गरेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा जहाजहरु उडान÷अवतरण गर्न नपाउने निश्चत छ । सम्झौता नहुँदा भैरहवा, पोखरा र निजगढमा निर्माण गरिने तीनवटै विमानस्थलले बिजनेस पाउने छैनन् । उक्त सम्झौता नभएमा प्रत्येक उडानको स्विकृति भारत सरकारले दिनुपर्ने अवस्था छ । नेपाल र भारत सीमाको अत्यन्त नजिकै रहेको विमानस्थलमा प्रत्येक उडानमा जहाजले सिमा वारपार गर्नुपर्ने हुन्छ । तर सम्झौता विगत पाँच वर्ष अघिदेखि चर्चामा रहे पनि हालसम्म कुनै पनि निर्णय हुन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com