माओवादीलाई अध्यक्ष, एमालेलाई महासचिव


प्रकाशित मिति : माघ २९, २०७४ सोमबार

पछिल्लो समयमा एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित वार्तामा बस्ने तयारी गरेको छ ।

नयाँ पत्रिकाका अनुसार एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने मोडालिटी प्रस्ताव गरेका छन् । ०४७ को तत्कालीन माले र माक्र्सवादी एकीकरण गर्दाको यो मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

माले–माक्र्सवादी एकीकरणपछि बनेको एमालेमा माक्र्सवादीका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी अध्यक्ष थिए भने मालेबाट मदन भण्डारी महासचिव बनेको थिए । यसरी एकता गर्दा नेताद्वय माधव नेपाल र झलनाथ खनालमध्ये एक जनालाई राष्टपति पनि बनाउन सकिने उनको भनाइ रहेको नयाँ पत्रिकामा खबर छ ।

यता, अन्नपूर्ण पोस्ट दैनिकले भने एमालेले सरकार गठनलगत्तै माओवादी केन्द्रसँग पार्टी एकता टुंगिने लेखेको छ । स्थायी समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकताको विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग निकै सकारात्मक छलफल भइरहेको र केही दिनभित्रै त्यसले आकार लिने बताएका थिए ।

समाचार अनुसार, फागुन दोस्रो साताभित्रै सरकारको नेतृत्व लिने तयारीमा रहेको एमाले त्यसअगावै माओवादीसँग एकताको खाकामा सहमति खोज्ने तयारीमा छ । नया पत्रिकाबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com