जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल


प्रकाशित मिति : २८ माघ २०७४, आइतबार

जुम्लामा प्रदेश नम्बर ६ को सबैभन्दा बढी शैया भएको अस्पताल बनेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खलंगामा बनाएको उक्त अस्पतालको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दै छन्।

प्रष्तिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार अस्पताल बनाउन ७६ करोड खर्च भएको छ। अस्पतालको निर्माण कार्य ३ वर्षअघि सुरु भएको थियो।

अस्पतालमा २३ विशेषज्ञ चिकित्सकसहित १६० जना कर्मचारी रहेको काफ्लेले जानकारी दिए।

‘प्रदेश नम्बर ६ कै सबैभन्दा ठूलो अस्पताल जुम्लामा बनेको छ,’ काफ्ले भने, ‘आधुनिक प्रविधिसहित अस्पतालमा हाडजोर्नी, प्रसुति, बाल रोगका बिरामीको अहिले नै उपचार हुन्छ भने नाक, कान, घाँटी र मृर्गौलालगायत अन्य बिरामीको उपचार हुने सेवा पनि छिटै सुरु गर्ने तयारी छ।’

काफ्लेका अनुसार अस्पतालले १५० वाटको सोलार बत्ती जडान गरेको छ। अक्सिजन प्लान्ट पनि अस्पतालको आफ्नै छ। ‘अक्सिजन प्लान्टको सबै काम सकिएको छ, ब्लड बैंक पनि राख्दैछौं,’ काफ्लेले भने, ‘यहाँका नागरिकलाई उपचार गर्न नेपालगञ्ज वा काठमाडौं जान नपर्ने गरी काम गर्ने लक्ष्य छ।’

उनले अस्पताल सञ्चालनमा आएसँगै जुम्लामै एमबिबिएस पढाइ सुरु गर्ने गरी काम भइरहेको बताए।

प्रतिष्ठानले अहिले एचए र स्टाफ नर्स पढाइरहेको भने नयाँ शैक्षिक सत्रदेखि ब्याचलर्स इन नर्सिङ र ब्याचलर्स इन पब्लिक हेल्थ पनि पढाउन सुरु गर्ने काफ्लेले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Source : Setopati

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com