न्युयोर्कमा घटस्थापना, न्युयोर्कबासी नेपालीलाई पुग्नेगरी जमरा
प्रकाशित मिति : १६ आश्विन २०७३, आइतबार
अमेरिकाको न्युयोर्क रिजउडमा रहेको दुर्गा मन्दिरमा नेपालीहरुले विधिपूर्वक घटस्थापना गरेका छन् । पण्डित उद्धव शास्त्री र हरिनारायण सापकोटाले रिजउड क्षेत्रमा रहेका नेपालीहरुको उपस्थीतिमा घटस्थापना गरेका हुन् । आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्दै घटस्थापना गरिएको पण्डित उद्धव शास्त्रीले जनाएका छन् ।
रिजवुड नेपाली समाजले हरेक वर्ष झैं यस बर्ष पनि घटस्थापनाको दिन दुर्गा मन्दिरमा बिहान ७:४५ बजेको साइतमा घटस्थापना पूर्ण बिधिका साथ समापन गरी साँझ ८:३० बजे जमरा राख्ने कार्य पनि सम्पन्न गरेको रिजउड नेपाली समाजका मिलन कुमार शाहीले जनाएका छन् ।
जमरा सम्पूर्ण न्युयोर्क बासीहरुलाई पुग्ने गरी राखिएको तथा घरमा जमरा राख्न नपाउनु भएको भए बिजयादशमीको दिन जमरा लिन मन्दिरमा आउन साथै उक्त दिन मन्दिरमा टिका ग्रहणको कार्यक्रम समेत रहेको जानकारी शाहीले गराएका छन् ।






