साढे ६ हजार बालबालिका विद्यालय बाहिर


प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार

सप्तरीमा झण्डै साढे ६ हजार बालबालिका अझै विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

४ सय १२ सामुदायिक र १ सय ५३ संस्थागत विद्यालयमा ६३ हजार ४ सय ६९ बालक र ६७ हजार ३ सय ८२ बालिका भर्ना भएको जानकारी दिँदै जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले करिब ५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको बताए ।

Photo20180117Saptari

पाँच वर्षदेखि १२ वर्षसम्मका आधारभुत तहमा १९.५ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर रहेको बताउँदै जिशिअ पाण्डेले प्राथमिक तहमा पाँच वर्षदेखि नौ वर्षसम्मका मुसहर, डोम तथा अति विपन्न परिवारका ५ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर रहेको बताए ।

विद्यालय बाहिर रहेका बालबालिका भर्नाका लागि विद्यार्थी भर्ना अभियान, विद्यालय खाजा कार्यक्रम, पोशाक तथा कपि कलम कार्यक्रमलगायतका अभियान सञ्चालनमा रहेपनि दलित, विपन्न परिवारका धेरै विद्यार्थीहरू विद्यालयको दायरा भित्र आउन नसकेको उनले बताए ।

जिशिअ पाण्डेले ४० प्रतिशत मात्र नियमित विद्यालयमा उपस्थिति रहने गरेको तथा विषयगत सिकाइ उपलब्धि ४५ प्रतिशत मात्र रहेकोले शैक्षिक उपलब्धिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । भर्ना भएका बालबालिकाहरूलाई विद्यालयमा टिकाउने प्रयासमा लाग्नुपर्ने बताउँदै जिल्लाको शैक्षिक स्तरलाई गुणस्तरीय बनाउन सबैको सहयोगको खाँचो रहेको उनले बताए । जिशिअ पाण्डेका अनुसार जिल्लामा ९ प्रतिशत बालबालिकाहरूको प्राथमिक तहमा कक्षा दोहरिने गरेको छ ।

‘हामी सबैको इच्छा, निःशुल्क अनिवार्य आधारभुत शिक्षा’ नाराका साथ भर्ना अभियान थालिए झैँ विद्यार्थी टिकाउने गरी ठोस योजना ल्याउनु पर्ने बालबालिकाको क्षेत्रमा कार्यरत संस्था क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह बताउँछन् ।

उनी अगाडि थप्छन्-‘पढाइको महत्व बुझाउन नसक्दा दैनिक मजदुरी गर्ने अधिकांश दलित, विपन्न परिवारका विद्यार्थीहरू छात्रवृत्ति बाँडिने दिन मात्र विद्यालय आउने गर्छन् ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार कक्षा १ देखि १० सम्मका २८ हजार ४ सय १८ दलित विद्यार्थीलाई यस वर्ष १ करोड १६ लाख ५३ हजार छात्रवृति प्रदान गरिएको छ ।

मनोहरकुमार पोखरेल

साभार : इन्सेक अनलाइन

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com