प्रविधिको आडमा मूल्य वृद्धि: अमेरिकामा चुलियो कर्पोरेट ठगी विरुद्ध जनआक्रोश


प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार

Photo: Brittani Burns/ Unsplash

अमेरिकामा पछिल्लो समय चुलिएको महँगी र जीवनयापनको खर्च वृद्धिले सर्वसाधारण उपभोक्ताहरू आजित बनेका छन्। तर यो महँगी केवल बजारको सामान्य नियमका कारण मात्र नभई ठूला कम्पनीहरूको योजनाबद्ध “मूल्य वृद्धि र ठगी”का कारण भएको दाबी एक नयाँ पुस्तक र अध्ययनले गरेको छ।

प्रगतिशील थिंकट्याङ्क ‘ग्राउन्डवर्क कोलाबोरेटिभ’ की प्रमुख तथा आर्थिक समाजशास्त्री लिन्ड्से ओवेन्सद्वारा लिखित नयाँ पुस्तक गाउज्ड्: द एन्ड अफ अ फेयर प्राइस – एन्ड ह्वाट द्याट मिन्स फर योर वालेटले आधुनिक कर्पोरेट संसारमा कसरी उपभोक्ताहरूलाई नयाँ तरिकाले ठगिँदै छ भन्ने खुलासा गरेको छ।

ओवेन्सका अनुसार सन् २०२१ मा विश्वव्यापी रूपमा मूल्य वृद्धि सुरु भएयता ठूला कम्पनीहरूले आफ्नो लागत बढेको बहानामा उपभोक्ताहरूबाट अझ बढी नाफा असुल्ने रणनीति अपनाए। यसका लागि कम्पनीहरूले कृत्रिम बौद्धिकता, डाटा माइनिङ र ‘सर्भिलेन्स प्राइसिङ’ जस्ता नयाँ प्रविधिहरूको सहारा लिइरहेका छन्।

एभरसाइट क्रोनोस र प्लेक्सचर जस्ता डाटा ब्रोकर कम्पनीहरूले लगभग ९५ प्रतिशत वयस्क अमेरिकीहरूको व्यक्तिगत विवरण उमेर, आम्दानी, स्वास्थ्य अवस्था, राजनीतिक झुकाव आदि संकलन गर्छन्। सोही डाटाका आधारमा एआइको प्रयोग गरी प्रत्येक उपभोक्ताको क्षमता अनुसार फरक-फरक मूल्य तय गर्ने काम भइरहेको छ, जसले गर्दा बजारमा स्वस्थ प्रतिस्पर्धा र तुलनात्मक खरिद  लगभग असम्भव बनेको छ।

पुस्तकको सुरुआतमै ओवेन्सले उपभोक्ताहरूलाई ढाडस दिँदै भनेकी छन्, “आफैँलाई दोहोर्‍याएर भन्नुहोस्: यो मेरो गल्ती होइन।”

उनका अनुसार उपभोक्ताहरूले व्यक्तिगत रूपमा सतर्कता अपनाएर वा चतुराई देखाएर मात्र यो संगठित प्रणालीसँग जित्न सक्दैनन्। जसरी व्यक्तिगत प्रयासले मात्र जलवायु परिवर्तन रोक्न सकिँदैन, त्यसरी नै एक्लै कर्पोरेट ठगीबाट जोगिन सम्भव छैन।

ओवेन्सले सरकारसमक्ष “शॉपर्स बिल अफ राइट्स” लागू गर्न जोडदार माग गरेकी छन्, जसको मुख्य उद्देश्य आधुनिक प्रविधिको दुरुपयोग रोकेर बजारमा उपभोक्ताको हित संरक्षण गर्नु हो। यस ऐनमार्फत उनले स्थानीय तथा सङ्घीय सरकारहरूलाई कर्पोरेट नाफाखोरी विरुद्ध कडा कानुनी दायरा बनाउन आग्रह गरेकी छन्।

यस नीतिको पहिलो प्राथमिकता कम्पनीहरूबीच हुने गुप्त मिलेमतोलाई अन्त्य गर्नु हो। ओवेन्सका अनुसार कम्पनीहरूले एउटै साझा सफ्टवेयर वा एल्गोरिदम प्रयोग गरेर आपसमा मूल्य निर्धारण गर्ने र बजारमा कृत्रिम रूपमा भाउ बढाउने कार्य गरिरहेका छन्, जसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइनुपर्छ। यसका साथै, एआइ’सपिङ एसिस्टेन्ट’हरूलाई कर्पोरेट नाफा बढाउने माध्यम बनाउनुको साटो उपभोक्ताको हितमा काम गराउने कानुनी बाध्यता सिर्जना गर्नुपर्ने उनको सुझाव छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, ओवेन्सले उपभोक्ताको निजी जानकारीको अवैध व्यापार र ‘सर्भिलेन्स प्राइसिङ’माथि कडा रोक लगाउनुपर्नेमा जोड दिएकी छन्। डाटा ब्रोकरहरूले सर्वसाधारणको व्यक्तिगत विवरण संकलन गरी प्रत्येक ग्राहकको क्षमता अनुसार फरक-फरक र महँगो मूल्य तोक्ने जुन प्रवृत्ति बढाएका छन्, त्यसलाई रोक्न कडा गोपनीयता सम्बन्धी नियमहरू लागू हुनुपर्छ। यी नीतिगत सुधारहरूमार्फत मात्रै बजारमा पारदर्शी प्रतिस्पर्धा र उपभोक्ताको गुमेको विश्वास पुनः कायम गर्न सकिने उनको ठहर छ।

हाल अमेरिकाका विभिन्न राज्यहरूमा एल्गोरिद्मिक मूल्य निर्धारण रोक्न ९० भन्दा बढी विधेयकहरू विचाराधीन छन्। उपभोक्ताहरूको तीव्र विरोधपछि इन्स्टाकार्ट, डेल्टा र वेन्डिज जस्ता ठूला कम्पनीहरू आफ्ना विवादास्पद मूल्य रणनीतिहरूबाट पछि हट्न बाध्य भएका छन्।

ओवेन्स भन्छिन्, “अहिलेको महँगीको संकट नै देशमा नयाँ उपभोक्ता आन्दोलन खडा गर्ने उपयुक्त समय हो। जबसम्म कडा नियमहरू बन्दैनन्, तबसम्म उपभोक्ताहरू यसरी नै पिल्सिरहनेछन्।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com