अमेरिकामा आप्रवासीमाथिको धरपकडविरुद्ध कला र संगीतबाट विरोध: अक्टोबर २ मा नयाँ एल्बम आउँदै
प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार
तस्वीर : आइस
लस एन्जलसको कल्भर सिटीमा दशकौँदेखि आइसक्रिम बेच्दै आएका अम्ब्रोसियो “एनरिक” लोजानोलाई अमेरिकी आइसका एजेन्टहरूले नियन्त्रणमा लिएपछि उनको अलपत्र परेको गाडाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो। यही घटनाबाट प्रेरित भई कलाकार तथा अभियान्ता डाली कोलोराडोको नेतृत्वमा ३० भन्दा बढी कलाकारहरू मिलेर ‘कन्ट्रा-आइस भोल्युम १: आइस आउट’नामक विरोध सांगीतिक एल्बम तयार पारेका छन्।
गैर-नाफामूलक संस्था ‘बिल्ड आर्ट मेक चेन्ज’ मार्फत अक्टोबर २ मा रिलिज हुन लागेको यस एल्बममा संगीत, हास्य र भाषण कला समावेश गरिएको छ। एल्बममा क्याथलीन हान्ना, फ्रेड आर्मिसन, र टम मोरेलो जस्ता चर्चित कलाकारहरूको सहभागिता रहेको छ।
यस एल्बम तथा अक्टोबर ३ मा आयोजना हुने च्यारिटी कन्सर्टबाट संकलित रकम आप्रवासीहरूको हकहितमा कार्यरत संस्था ‘एनडिएलओएन’ र ‘युनियन डेल बारियो’ लाई प्रदान गरिनेछ।
एल्बमका गीतहरूले अमेरिकामा आप्रवासीहरूले भोग्नुपरेको त्रास, आक्रोश, र सामाजिक परिस्थितिहरूलाई प्रस्तुत गरेका छन्। अभियान्ता डाली कोलोराडोका अनुसार यो सांगीतिक प्रयास केवल एउटा एल्बम मात्र नभई आप्रवासी अधिकारको पक्षमा सुरु गरिएको सांगीतिक आन्दोलनको सुरुआत हो।





