‘हार्मोनिक हार्ट बिट’ नाराका साथ २० औँ एसियाली खेलकुदको भव्य उद्घाटन (तस्वीरहरू)


प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार

एसियाली खेलकुदको महाकुम्भ ‘२० औँ एसियाली खेलकुद’ ‘हार्मोनिक हार्ट बिट’ भन्ने नाराका साथ जापानको आइची प्रिफेक्चर र नागोया सहरमा औपचारिक रूपमा सुरु भएको छ ।

शनिबार नागोयास्थित पालोमा मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित भव्य समारोहबिच जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । भलिबल र सफ्ट टेनिसका केही खेल गत बुधबारदेखि नै सुरु भइसके पनि शनिबार आयोजित साँझको औपचारिक समारोहसँगै खेलकुद महोत्सवको विधिवत् सुरुवात भएको हो ।

१६ दिनसम्म चल्ने यस बृहत् प्रतियोगितामा एसियाका ४५ देश र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को शरणार्थी टोली गरी कुल ४६ टोलीका करिब १५,००० खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । अफिसियल तथा पदाधिकारीहरूसहित समारोहमा १७,००० भन्दा बढी प्रतिनिधिको उपस्थिति थियो ।

प्रतियोगिताअन्तर्गत ५४ खेल स्थलहरूमा ४३ मुख्य खेलका ४ सय ६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । आयोजक देश जापानले ९ सयभन्दा बढी खेलाडीको विशाल टोली मैदानमा उतारेको छ भने चीन र दक्षिण कोरियाले पनि ८ सयभन्दा बढी खेलाडी सहभागी गराएका छन् ।

उद्घाटन समारोहको सबैभन्दा रोमाञ्चक क्षण दीप प्रज्ज्वलन थियो । जापानका प्रसिद्ध पूर्व एथलिटहरू फुजिनामी आकारी, किताजिमा कोसुके, इतो मिमा, ताकाहासी अयाका र मुरोफुसी कोजीले संयुक्त रूपमा एसियाडको मुख्य दीप प्रज्ज्वलित गरेका थिए ।

यस पटकको एसियाडमा परम्परागत ‘खेलकुद गाउँ’को सट्टा दिगोपन र लागत व्यवस्थापनलाई ध्यानमा राख्दै नयाँ मोडल अपनाइएको छ । करिब १,००० खेलाडी तथा पदाधिकारीहरूलाई नागोया गार्डेन पियरमा राखिएको ३०० मिटर लामो र १ लाख टन क्षमताको इटालियन क्रुज जहाज ‘कोस्टा सेरेना’मा बसोबासको व्यवस्था मिलाइएको छ । अन्य प्रतिनिधिहरूलाई काठका अस्थायी कन्टेनर घर र होटलहरूमा राखिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)का अध्यक्ष शेख जोआन बिन हमाद अल थानीले जापानको उत्कृष्ट व्यवस्थापन र आतिथ्यताको प्रशंसा गरे । जापानले सन् २०२१ मा टोकियो ओलम्पिक सफल रूपमा आयोजना गरिसकेकाले यो एसियाड पनि भव्य र स्मरणीय हुनेमा आफू पूर्ण विश्वस्त रहेको उनले विश्वास व्यक्त गरे ।

जापानले यसअघि सन् १९५८ मा टोकियो (दोस्रो एसियाड) र सन् १९९४ मा हिरोसिमा (१२ औँ एसियाड) मा एसियाली खेलकुद आयोजना गरिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेर्नुहोस्, तस्वीरहरू

सबै तस्वीरहरू : जापानबाट दीपेन्द्र ढुङ्गाना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com