२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

आइस एजेन्टद्वारा दुई अमेरिकी नागरिक कुटपिट र गिरफ्तार भएपछि टेक्सासमा आक्रोश

तस्वीर : आइस

अमेरिकाको टेक्सासस्थित अलामो शहरमा दुई जना १७ वर्षीय अमेरिकी नागरिकलाई अमेरिकी आइसका एजेन्टहरूले कुटपिट गरी आठ घण्टासम्म नियन्त्रणमा लिएका छन्। पीडित युवाहरू म्यारिन कर्प्सको भर्ना केन्द्र जाँदै गर्दा बाटोमा भइरहेको अध्यागमन छापाको भिडियो खिच्न रोकिँदा यो घटना घटेको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एजेन्टहरूले गाडीको ढोका खोलेर युवालाई तानेर भुइँमा पछारेको र एक एजेन्टले उनलाई लगातार चार पटक हानेको देखिएको छ। पीडितमध्येका एक लुइस ओचोआका अनुसार एजेन्टहरूले खुर्सानीको धूलो  प्रयोग गर्नुका साथै उनको हात भाँचिदिएका छन्। उनले आफूले कुनै प्रतिवाद नगरेको र अमेरिकी नागरिक भएको बताउँदा पनि एजेन्टहरूले अभद्र व्यवहार गरेको बताए।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने ती युवाहरूले अधिकारीहरूको काममा बाधा पुर्‍याएको र सुरक्षाकर्मीको गाडीमा ढोका ठटाउँदै दुर्व्यवहार गरेको दाबी गरेको छ। स्थिति नियन्त्रणमा लिन न्यूनतम बल प्रयोग गरिएको र दुवै पक्षबीचको झडपमा अधिकारीहरूलाई पनि सामान्य चोटपटक लागेको होमल्यान्ड सेक्युरिटीको भनाइ छ।

यस घटनालाई लिएर टेक्सासका अमेरिकी सांसदहरूले कडा आपत्ति जनाएका छन्। डेमोक्र्याटिक सांसद हेनरी कुएलर र विसेन्टे गोन्जालेजले सरकारी अधिकारीहरूबाट भएको यस्तो बल प्रयोग र अधिकारको दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल छानबिनको माग गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।