अमेरिकाद्वारा नेपालको संविधान दिवसमा शुभकामना, बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त
अमेरिकी विदेशमन्त्री मार्को रुबियो। तस्बिरः अमेरिकी विदेश मन्त्रालय/फ्रेडी एभरेट
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालको संविधान दिवसका अवसरमा अमेरिकी सरकार र जनताका तर्फबाट नेपाली जनतालाई शुभकामना व्यक्त गर्नुभएको छ।
अमेरिकी विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा विदेशमन्त्री रुबियोले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट ज्यान गुमाएकाहरूप्रति शोक व्यक्त गर्दै घाइते तथा प्रभावित परिवारहरूप्रति समवेदना प्रकट गर्नुभएको छ। बाढीबाट प्रभावित अमेरिकी नागरिकहरूप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ।
विपद्को करिब तीन सातापछि पनि नेपाल–चीन सीमा क्षेत्रमा करिब ७० जना अमेरिकी नागरिक सम्पर्कविहीन छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार १८ जना अमेरिकी नागरिक भने सुरक्षित स्थानमा पुगिसकेका छन्। नेपालमा जारी उद्धार तथा राहत कार्यमा अमेरिकाले पूर्ण सहयोग र समर्थन गर्ने प्रतिबद्धता पनि वक्तव्यमा जनाइएको छ।
नेपाल र अमेरिकाबीच करिब ८० वर्ष पुरानो द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै विदेशमन्त्री रुबियोले आगामी दिनमा व्यापार, नवप्रवर्तन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्दै दुवै देशको हितका लागि यो साझेदारीलाई अझ सुदृढ बनाउन अमेरिका उत्सुक रहेको बताउनुभएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकाले बाढीबाट प्रभावित नेपाली जनताका लागि जीवनरक्षक स्वास्थ्य, मानवीय तथा फरेन्सिक सहयोगमा ५ मिलियन डलरभन्दा बढी सहायता उपलब्ध गराइरहेको छ।
विपद्को केही घण्टापछि, अगस्ट २६ मा अमेरिकाले विश्वव्यापी सहायता कार्यक्रमअन्तर्गत क्याथोलिक रिलिफ सर्भिसेसमार्फत खाद्यान्न, आश्रय, खानेपानी, सरसफाइ तथा स्वच्छता र आर्थिक सहयोगका लागि ५ लाख डलर उपलब्ध गराएको थियो। क्याथोलिक रिलिफ सर्भिसेसले अगस्ट २८ मा अमेरिकी सरकारको सहयोगमा कम्बल, प्लास्टिकका सिट, पाल र सौर्य बत्ती लगायतका सामग्री प्रभावित क्षेत्रमा पठाएको थियो।
प्रारम्भिक ५ लाख डलर सहयोगबाहेक अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेसमार्फत बाढी प्रभावित समुदायका लागि संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्न थप १ लाख ८५ हजार डलर उपलब्ध गराएको छ। यस सहयोगअन्तर्गत प्रभावित समुदायका लागि मानसिक तथा मनोसामाजिक सहयोग र विद्यालय तथा उद्धार केन्द्रहरूमा बालमैत्री स्थान स्थापना गर्ने कार्यक्रम समावेश छन्।
अगस्ट ३० मा अमेरिकाले विश्व खाद्य कार्यक्रममार्फत थप ३० लाख डलर सहायता परिचालन गरेको थियो। यसबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन खाद्य सहायता उपलब्ध गराउने तथा क्षतिग्रस्त सडक पुनःस्थापना र विशेष ढुवानी साधन परिचालन गरी पहुँचबाट वञ्चित समुदायसम्म अत्यावश्यक मानवीय सहायता पुर्याउने योजना छ।
सेप्टेम्बर २ मा दुई अमेरिकी सैन्य कार्गो विमानले नेपाल नेतृत्वको खोज, उद्धार तथा पुनःस्थापना अभियानलाई सहयोग गर्न ५ हजार विशेष विपद् पीडित उद्धार सामग्री, ५०० प्राथमिक उपचार किट, स्ट्रेचर र अगाडिबाट माटो तथा भग्नावशेष हटाउने यन्त्र नेपाल ल्याएका थिए।
त्यसै दिन अमेरिकाले नेपालका सशस्त्र प्रहरी बललाई अमेरिकी सहयोगमा उपलब्ध गराइएका तीनवटा सौर्य ऊर्जा चार्जिङ ट्रेलर औपचारिक रूपमा हस्तान्तरण गरेको थियो। भोटेकोशी बाढीबाट प्रभावित दुर्गम समुदायमा भरपर्दो विद्युत् उपलब्ध गराउन सशस्त्र प्रहरीले ती ट्रेलर प्रयोग गर्नेछ। अमेरिकी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला ब्युरोले अमेरिकी न्याय मन्त्रालयको सहकार्यमा ती ट्रेलर उपलब्ध गराएको हो।
सेप्टेम्बर ३ सम्म अमेरिकाले जिपिगो, एफएचआई ३६० र संयुक्त राष्ट्रसंघीय बाल कोषमार्फत बाढी प्रभावित समुदायका लागि स्वास्थ्य, पोषण तथा खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रमका लागि थप ३ लाख ६५ हजार डलर सहायता उपलब्ध गराइरहेको थियो।
सेप्टेम्बर १२ मा अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाहरूको पहिचान गर्न नेपाल प्रहरीलाई फरेन्सिक सहयोग उपलब्ध गराउन थप १० लाख डलर घोषणा गरेको थियो। मन्त्रालयका अनुसार नेपाल प्रहरीसँगको सहकार्यमा उच्च प्राथमिकताका आवश्यकताहरू पहिचान गरी डीएनए विश्लेषण किटलगायतका सामग्री उपलब्ध गराइँदैछ।
अमेरिकी संघीय अनुसन्धान ब्युरोका फरेन्सिक विशेषज्ञहरू पनि नेपाल प्रहरीसँगै काम गरिरहेका छन्। उनीहरूले विपद् पीडितको पहिचानमा सहयोग गर्नुका साथै विशेष फरेन्सिक विशेषज्ञता उपलब्ध गराइरहेका छन्। यसबाट अमेरिकी नागरिकसहित बाढी तथा विपद्मा ज्यान गुमाएका सबैका परिवारलाई आफ्ना आफन्तको अवस्थाबारे जानकारी प्राप्त गर्न सहयोग पुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।





