२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नेपालीहरूको विदेश यात्रा : ‘रोजगारी’ नै प्रमुख कारण, त्यसपछि ‘घुमफिर’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रु र उनीहरूलाई बिदाइ गर्न पुगेका आफन्तहरू। तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास

पछिल्ला वर्षहरूमा नेपालीहरूको विदेश प्रस्थान दर ह्वात्तै बढेको छ। रोजगारी, अध्ययन, पर्यटकीय भ्रमण, पारिवारिक कारण तथा स्थायी वा अस्थायी बसोबासका लागि विदेशिने नेपालीहरूको सङ्ख्या निरन्तर उकालो लागिरहेको छ ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२१ मा विश्वव्यापी महामारीका कारण ६ लाख २६ हजार ४८१ नेपाली मात्र विदेश प्रस्थान गरेकोमा सन् २०२५ सम्म आइपुग्दा यो सङ्ख्या झण्डै तीन गुणाले बढेर १७ लाख ९ सय ६९ पुगेको छ।

सन् २०२२ मा १३ लाख ९७ हजार २५०, सन् २०२३ मा १५ लाख ७२ हजार ४०० र सन् २०२४ मा १६ लाख ८५ हजार ४९२ जना नेपाली विदेशिएका थिए । पछिल्लो पाँच वर्षको अवधिमा कुल ७१ लाख २६ हजार ४५९ जना नेपाली विभिन्न उद्देश्यका साथ विदेश प्रस्थान गरेका छन् ।

‘रोजगारी’ नै प्रमुख कारण
नेपालीहरूको विदेश प्रस्थानको कुल सङ्ख्यामा सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारीले ओगटेको छ । पछिल्लो ५ वर्षको अवधिमा विदेशिने कुल नेपालीमध्ये ५२ प्रतिशत अर्थात् आधाभन्दा बढी वैदेशिक रोजगारीका लागि मात्रै गएका छन् ।

पछिल्लो पाँच वर्षको वार्षिक औसत ७ लाख ४३ हजार ६८२ रहेकोमा सन् २०२५ मा रोजगारीका लागि विदेश जाने नेपालीको सङ्ख्या १६ प्रतिशतले बढेर ८ लाख ६६ हजार ३१० पुगेको छ । यसले नेपालको अर्थतन्त्र र श्रम बजार आन्तरिक रोजगारी सिर्जनाभन्दा वैदेशिक आय र रेमिट्यान्समा नै संरचनात्मक रूपमा अत्यधिक निर्भर रहेको स्पष्ट पारेको छ ।

अध्यागमन विभागले हालै सार्वजनिक गरेको ‘वार्षिक पुस्तिका-२०८३’ मा भनिएको छ, “पछिल्लो पाँच वर्षको अवधिमा विदेश भ्रमण गर्ने नेपाली नागरिकहरूको कुल सङ्ख्यामध्ये ५२ प्रतिशत हिस्सा वैदेशिक रोजगारीले ओगट्नुले नेपाली अर्थतन्त्रको संरचनात्मक निर्भरता वैदेशिक रोजगारीमा रहेको देखाएको छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जानेहरू । तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास

‘विदेश घुम्न जान्छन्’ नेपाली
रोजगारीपछि नेपालीहरू सबैभन्दा धेरै भ्रमण वा पर्यटनको उद्देश्यले विदेश जाने गरेका छन्, जसको हिस्सा १४ प्रतिशत रहेको छ । सन् २०२५ मा मात्रै पर्यटन तथा तीर्थ यात्रा भ्रमणका लागि २ लाख ३३ हजार १०८ जना नेपाली विदेश प्रस्थान गरेको अध्यागमन विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी ५ दशमलव २५ प्रतिशत अस्थायी आवासीय प्रयोजनका लागि र ४ दशमलव २० प्रतिशत स्थायी आवासीय प्रयोजनका लागि विदेश गएका छन् । यसरी रोजगारीसँगै स्थायी र अस्थायी बसोबासका लागि विदेश जाने नेपालीको अनुपात जोड्दा कुल विदेश प्रस्थानको ६० प्रतिशतभन्दा बढी हिस्सा आर्थिक अवसरको खोजी र बसाइँसराइसँग सम्बन्धित देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास

विदेश प्रस्थानको अर्को प्रमुख उद्देश्य – ‘शिक्षा’
नेपालीहरूको विदेश प्रस्थानको अर्को प्रमुख उद्देश्य शिक्षा आर्जन बनेको छ। पछिल्लो पाँच वर्षको कुल प्रस्थानमध्ये ६.९ प्रतिशत हिस्सा अध्ययनका लागि विदेशिनेहरूको छ । सन् २०२१ मा शैक्षिक प्रयोजनका लागि करिब २६ हजार नेपाली विदेश गएकोमा सन् २०२५ मा यो सङ्ख्या करिब ४०० प्रतिशतले वृद्धि भई १ लाख ३३ हजार ७८० पुगेको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सन् २०२५ को यो सङ्ख्या पाँच वर्षको वार्षिक औसतभन्दा ३६ प्रतिशतले बढी हो । यसले नेपालीहरूको आप्रवासन केवल अल्पकालीन वैदेशिक रोजगारीमा सीमित नरही उच्च शिक्षा, सीप विकास र दीर्घकालीन बसोबासतर्फ विस्तार हुँदै गएको संकेत गरेको विभागले उल्लेख गरेको छ ।

विभागले भनेको छ, “यस प्रकारको प्रवृत्तिबाट नेपालीहरूको विदेश यात्राको उद्देश्य अल्पकालीन रोजगारीबाट शिक्षा आर्जन गर्दै दीर्घकालीन बसोबासतर्फ निर्देशित हुँदै गएको देखिन्छ ।”

पलायनको बहुआयामिक असर : अर्थतन्त्र आयातमुखी, जनसंख्या असन्तुलनको खतरा
रोजगारी, अध्ययन र अवसरको खोजीमा ठूलो सङ्ख्यामा युवाले देश छाड्दा त्यसको तत्कालीन प्रभाव रेमिट्यान्सका रूपमा देखिए पनि दीर्घकालीन रूपमा नेपालले यसको आर्थिक तथा सामाजिक मूल्य चुकाउनुपर्ने जोखिम बढेको श्रम तथा आप्रवासन विज्ञहरू बताउँछन् ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका कार्यक्रम प्रमुख एवम् श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडालका अनुसार युवा जनशक्ति बाहिरिँदै जाँदा देशभित्र काम गर्ने उमेर समूहको जनसंख्या घट्ने, आश्रित जनसंख्याको अनुपात बढ्ने र उत्पादन तथा अर्थतन्त्रमा त्यसको दीर्घकालीन असर पर्ने देखिन्छ।

जनसंख्या वृद्धिदर घट्दै गएको अवस्थालाई तत्काल हेर्दा सकारात्मक रूपमा लिन सकिए पनि युवा जनशक्तिको ठूलो हिस्सा देशबाट बाहिरिने क्रमसँग जोडेर हेर्दा भविष्यमा जनसंख्या असन्तुलनको जोखिम देखिन थालेको उनी बताउँछन् ।

“अहिले इमिडिएटली हेर्दा जनसंख्या कन्ट्रोल भएको जस्तो देखिन्छ। तर यसको दीर्घकालीन असर के हो भने भोलि हामीसँग जनसंख्या इम्ब्यालेन्स हुने अवस्था आउन सक्छ,” बडाल भन्छन् ।

उनका अनुसार युवा जनशक्ति बाहिरिँदै जाँदा नेपालमा स्थानीय उत्पादनसँग जोडिएका उद्योगसमेत घट्ने जोखिम बढेको छ । सहरीकरण बढे पनि नेपालको अर्थतन्त्र आयातमुखी बन्दै गएको उनको विश्लेषण छ । “मूल उत्पादन एकतिर अनि आयात अर्कोतिर भयो। यी दुवै म्याच भएनन्,” उनले भने।

श्रम तथा आप्रवासन विज्ञ निलाम्बर बडाल

नेपालका लागि कृषि, पर्यटन र ऊर्जा आफ्नै उत्पादनसँग जोडिएका प्रमुख क्षेत्र भए पनि ती क्षेत्रमा आवश्यक पूर्वाधार तथा उत्पादनका लागि समेत बाह्य निर्भरता बढिरहेको विज्ञ बडाल बताउँछन् । युवाको विदेशिने क्रमसँगै कृषि भूमि आवासीय प्रयोजनमा प्रयोग हुने क्रम बढ्नु अर्को अप्रत्यक्ष प्रभाव भएको उनले बताए।

“हामी कृषि भूमिमा हाउजिङ बढाइरहेका छौँ । विदेश जाने एउटा प्रमुख उद्देश्य के हो भने सहरमा घर बनाउने । अब सहरमा घर बनाउन त कृषियोग्य जमिनमा पनि सम्झौता गर्नैपर्यो । भनेपछि हामी अहिले यस्ता खालका अप्रत्यक्ष प्रभावमा छौँ,” उनले भने ।

नेपालीहरूको प्रमुख गन्तव्य – ‘युएई’, दोस्रोमा – ‘कतार’
अध्यागमन विभागका अनुसार नेपाली नागरिकहरूको सबैभन्दा ठूलो गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ। पछिल्लो पाँच वर्षको औसतमा वार्षिक २ लाख ७१ हजार र सन् २०२५ मा मात्रै २ लाख ९५ हजार ७४३ नेपाली युएई प्रस्थान गरेका छन् ।

कतार दोस्रो प्रमुख गन्तव्यका रूपमा रहेको छ, जहाँ पाँच वर्षको औसतमा १ लाख ६८ हजार र सन् २०२५ मा १ लाख ८२ हजार ४९६ नेपाली पुगेका छन् । साउदी अरबतर्फ पाँच वर्षको वार्षिक औसत १ लाख ४४ हजार रहेकोमा सन् २०२५ मा १ लाख ५४ हजार १४३ जना गएका छन् । भारततर्फ १ लाख ४२ हजार १२४ र कुवेततर्फ ६१ हजार ९९७ नेपाली सन् २०२५ मा प्रस्थान गरेका छन् ।

भारत र चीन पनि शीर्ष १० गन्तव्यभित्र परेका छन्, तर भारतसँगको खुला सीमाका कारण अनौपचारिक माध्यमबाट जाने नेपालीको वास्तविक सङ्ख्या अध्यागमनको अभिलेखभन्दा अझ धेरै हुन सक्ने देखिन्छ ।

विकसित मुलुकहरूतर्फ पनि नेपालीहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ । पछिल्लो पाँच वर्षको वार्षिक औसतमा अस्ट्रेलियातर्फ ८२ हजार ५६७ (सन् २०२५ मा १ लाख १२ हजार १५१) र जापानतर्फ ८१ हजार ७४८ (सन् २०२५ मा १ लाख २९ हजार ४९) नेपाली प्रस्थान गरेका छन् । सन् २०२५ मा ५९ हजार ९३८ जना नेपाली अमेरिका प्रस्थान गरेका छन् ।

सन् २०२५ को तथ्याङ्कलाई पाँच वर्षको औसतसँग तुलना गर्दा ओमान जाने नेपालीको सङ्ख्या ११७ प्रतिशतले बढेर ३५ हजार २९६ पुगेको छ । त्यसैगरी थाइल्यान्डतर्फ ७४ प्रतिशत, दक्षिण कोरियातर्फ ५९ प्रतिशत र जापानतर्फ ५८ प्रतिशतले प्रस्थान दर वृद्धि भएको छ ।

अर्कोतर्फ, परम्परागत प्रमुख श्रम गन्तव्य मलेसियातर्फ जाने नेपालीको सङ्ख्या भने घटेको छ । पाँच वर्षको वार्षिक औसत १ लाख ५ हजार ८३६ रहेको मलेसियामा सन् २०२५ मा ८९ हजार ६५९ नेपाली मात्र प्रस्थान गरेका छन्, जुन औसतको तुलनामा १६ प्रतिशतले कम हो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।