पेटभित्र सुन लुकाएर ल्याउने बङ्गलादेशी नागरिक काठमाडौंमा पक्राउ
दुबईबाट काठमाडौं आएका एक बङ्गलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याएको सुनजस्तो देखिने पहेँलो धातु बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले करिब १५० ग्राम तौलका दुई थान धातुसहित ३५ वर्षीय बङ्गलादेशी नागरिक मोहम्मद रासेल हलदारलाई पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडान (एफजेड-११३३) मार्फत काठमाडौँ ओर्लिएका हलदारलाई विमानस्थलमा सादा पोशाकमा खटिएका प्रहरीले शंकास्पद गतिविधिका आधारमा नियन्त्रणमा लिएका थिए ।
प्रारम्भिक सोधपुछका क्रममा हलदारले सुनजस्तो वस्तु पेटभित्र लुकाएर ल्याएको स्वीकारेका थिए । त्यसपछि प्रहरीले उनलाई सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पुर्याएर पेल्भिक एरियाको एक्स-रे गराएको थियो । एक्स-रे रिपोर्टमा आन्द्राभित्र धातुजन्य वस्तु देखिएपछि उनलाई चिकित्सकीय निगरानीमा राखियो।
पाँच दिनसम्म अस्पतालमा राखेर गराइएको शौचका क्रममा उनको शरीरबाट करिब १५० ग्रामका दुई वटा पहेँलो धातुका टुक्रा बाहिरिएको प्रहरीले जनाएको छ।
बरामद धातु सुन नै होरहोइन भन्ने पुष्टि गर्न परीक्षणका लागि पठाइएको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार पक्राउ परेका हलदार र बरामद धातुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।





