२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

ब्रोड पिकमा हिमपहिरो : ४ आरोहीको शव भेटियो, ६ जना अझै बेपत्ता

पाकिस्तानस्थित विश्वको १२ औं अग्लो ब्रोड पिक हिमालमा गएको हिम पहिरोमा परी बेपत्ता भएका १० जना पर्वतारोहीमध्ये चार जनाको शव फेला परेको छ । यद्यपि, ६ जना अझै बेपत्ता छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) र रोयटर्सका अनुसार प्रतिकूल मौसमका बीच पाकिस्तानी खोजी तथा उद्धार टोलीले चार आरोहीको शव फेला पारेको हो । यद्यपि, फेला परेका शव कसको हो भन्नेबारे पहिचान भइसकेको छैन ।

पाकिस्तानको गिलगित–बाल्टिस्तान क्षेत्रका पर्यटन विभागका उपनिर्देशक साजिद हुसेनका अनुसार बाँकी ६ जना आरोहीको खोजी दुर्गम र जटिल भौगोलिकताका बीच जारी राखिएको छ।

अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी)का अनुसार बिहीबार उत्तरी पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा रहेको टोली हिम पहिरोमा परेको थियो । हिमपहिरोपछि विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ)नेतृत्वको सिङ्गो टोलीसँगै सम्पर्क विच्छेद भएको थियो ।

टोलीमा निर्मल पुर्जासहित नेपालका पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । त्यस्तै ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल सखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गेस पनि टोलीमा सामेल छन् ।

बेपत्ता आरोहीमध्येका निर्मल पुर्जा विश्व प्रसिद्ध पर्वतारोही हुन् । ४३ वर्षीय पुर्जाले सन् २०१९ मा ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल मात्र ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

यस्तै, सन् २०२१ मा उनकै नेतृत्वमा नेपाली पर्वतारोहीको टोलीले विश्वको दोस्रो अग्लो हिमाल के–टुको पहिलो पटक हिउँदकालीन सफल आरोहण गरेर इतिहास रचेको थियो । 

पाकिस्तानको काराकोरम पर्वतशृंखलामा पर्ने ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल विश्वभरका आरोहीहरूका लागि पर्यटकीय हिसाबले निकै लोकप्रिय मानिन्छ। बेपत्ता आरोहीहरूको जीवितै उद्धारको आशामा खोजी कार्यलाई तीव्र पारिएको उद्धार टोलीले जनाएको छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिम पहिरो गएपछि नेपाल सरकारले अवस्थाबारे नजिकबाट अनुगमन गरिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रभावित पर्वतारोहीहरूको शीघ्र र सुरक्षित उद्धारका लागि इस्लामाबादस्थित नेपाली दूतावासले पाकिस्तानका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिएको छ ।

दूतावासले अल्पाइन क्लब अफ पाकिस्तान (एसीपी) लगायत त्यहाँका सबै सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको र पाकिस्तानी अधिकारीहरूले घटनास्थलमा खोज तथा उद्धार कार्य जारी राखेको मन्त्रालयले जनाएको छ। –अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।