सिएटलको फुड फेस्टिभलमा गोलीहानाहान: ३ जनाको मृत्यु, एक बालकसहित ४ घाइते
Photo: Brian Zhu /Unsplash
अमेरिकाको सिएटल शहरस्थित ‘सिएटल सेन्टर’ मा आयोजित चर्चित ‘बाइट अफ सिएटल’ फुड फेस्टिभलमा आइतबार राति दुई बन्दुकधारीबीच गोलीहानाहान हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालकसहित चार जना घाइते भएका छन्।
सिएटल प्रहरीका सहायक प्रमुख टाइरोन डेभिसका अनुसार तीनदिने फुड फेस्टिभलको अन्तिम दिन दुई व्यक्तिले एक-अर्कामाथि गोली चलाएका थिए। घटनापछि प्रहरीले एक जना संदिग्ध बन्दुकधारीलाई नियन्त्रणमा लिएको छ भने अर्का बन्दुकधारी भने फरार रहेका छन्।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १९ वर्षका युवक, ४४ वर्षका पुरुष र ५६ वर्षकी महिला रहेका छन्। तीमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घाइते हुनेहरूमा एक सानो बालक, २३ वर्षका पुरुष र ३९ वर्षकी महिला रहेका छन्। उनीहरूको हार्वरभ्यु मेडिकल सेन्टरमा उपचार भइरहेको र सबैको अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ। अर्का एक ४० वर्षीया घाइते महिलाले भने अस्पताल जान अस्वीकार गरेकी थिइन्।
सिएटलकी मेयर केटी विल्सनले यस घटनालाई “अकल्पनीय त्रासदी र भयानक हिंसा” को संज्ञा दिँदै पीडित परिवारप्रति संवेदना व्यक्त गरेकी छन्। प्रहरीले घटनास्थलबाट दुईवटा बन्दुक बरामद गरेको छ र फरार अभियुक्तको खोजी तीव्र पारिएको जनाएको छ।





