अमेरिकामा बेरोजगारी भत्ता आवेदन दिनेको संख्या पाँच दशकयताकै न्यून
Photo: Sasun Bughdaryan/ Unsplash
विश्वव्यापी आर्थिक अनिश्चितता कायम रहे पनि अमेरिकामा कामदार कटौती न्यून विन्दुमा रहँदा बेरोजगारी भत्ताका लागि आवेदन दिने अमेरिकीहरूको संख्या साढे पाँच दशकयताकै तल्लो विन्दुमा झरेको छ।
अमेरिकी श्रम विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत जुलाई १८ मा समाप्त भएको हप्तामा बेरोजगारी भत्ताका लागि परेका नयाँ आवेदन २२,००० ले घटेर १,८७,००० मा सीमित भएका छन्। श्रम विभागका अनुसार यो संख्या सन् १९६९ को सेप्टेम्बर ६ पछिकै सबैभन्दा कम साप्तहिक आवेदन हो।
यसअघि अर्थशास्त्रीहरूले २,१५,००० नयाँ आवेदन पर्न सक्ने अनुमान गरेका थिए, तर वास्तविक नतिजा सो अनुमानभन्दा निकै राम्रो आएको छ। अमेरिकामा बेरोजगारी भत्ताका लागि पर्ने साप्ताहिक आवेदनलाई रोजगार बजारको तत्काल अवस्था मापन गर्ने मुख्य सूचक मानिन्छ।
इरानसँगको सैन्य तनावका कारण कच्चा तेलको मूल्य वृद्धि भइरहे तापनि अमेरिकी रोजगार बजार बलियो स्थितिमा देखिएको छ। यद्यपि, लामो समयसम्म द्वन्द्व जारी रहेमा र इन्धनको मूल्य उच्च रहेमा कम्पनीहरूले खर्च कटौतीका लागि कर्मचारी संख्या घटाउन सक्ने विश्लेषण विश्लेषकहरूले गरेका छन्।
ऊर्जा संकटका कारण सिर्जित आर्थिक चुनौती अझै सकिएको छैन, हाइ फ्रिक्वेन्सी ट्रेडिङका मुख्य अर्थशास्त्री कार्ल वाइनवर्गले भने, तर तेलको मूल्य वृद्धिले रोजगार बजारमा अहिल्यै ठूलो असर देखाइसकेको छैन।
बिहीबार बिहान अमेरिकी कच्चा तेलको मूल्य प्रति ब्यारेल ९१ डलर नाघेको छ भने पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलरभन्दा माथि पुगेको छ। यसले सर्वसाधारण र व्यवसाय दुवैलाई प्रभावित पारेको छ।
जुन महिनाको रोजगार प्रतिवेदन अनुसार कम्पनीहरूले नयाँ भर्नामा केही सुस्तता ल्याएका छन्। जुनमा ५७,००० मात्र नयाँ रोजगारी थपिएका छन्, जुन अघिल्लो महिनाको तुलनामा आधाभन्दा कम हो। त्यस्तै, बेरोजगारी दर घटेर ४.२ प्रतिशत पुगे पनि धेरै मानिसले कामको खोजी छाडेकाले मात्रै यो दर घटेको देखिएको हो।
हालैका दिनहरूमा माइक्रोसफ्ट (४,८०० जना), भरिजोन, युपीएस, अमेजन, डिज्नी, स्टारबक्स र वालमार्टजस्ता ठूला कम्पनीहरूले कर्मचारी कटौतीको घोषणा गरेका छन्।
विभागका अनुसार अस्थिरता हटाउन प्रयोग गरिने चार हप्ताको औसत बेरोजगारी दाबी ७,२५० ले घटेर २,०७,५०० पुगेको छ। यस्तै, लगातार भत्ता पाइरहेका कुल अमेरिकीहरूको संख्या १८ लाख नजिक रहेको छ, जसलाई रोजगार बजारको हिसाबले सकारात्मक नै मानिन्छ।





