२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नेपाल सरकारको ‘डिजिटल निगरानी’मा हजारौं अमेरिकीसहित १ लाख २५ हजार विदेशी

सगरमाथा आरोही तेन्जिङको शालिक अवलोकनका क्रममा पर्यटक। फोटो: गार्डेन राई/रासस

पछिल्लो झन्डै साढे साढे ४ महिना (जनवरीदेखि मे १२ सम्म) मा नेपाल भित्रिएका विदेशी नागरिकहरू मध्ये सवा एक लाख अध्यागमन विभागको विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस)को ट्रयाकिङमा परेका छन् । विभागले दिएको जानकारी अनुसार उक्त प्रणालीमार्फत हालसम्म करिब एक लाख २५ हजार विदेशी यात्रुको अभिलेख सङ्कलन गरिएको हो ।

नेपाल भित्रने विदेशी नागरिकको गतिविधि व्यवस्थित रूपमा अभिलेखीकरण तथा अनुगमन गर्ने उद्देश्यले ल्याइएको यो प्रणाली सन् २०२६ जनवरी १ देखि काठमाडौंका तारे होटेलमा लागू गरिएको थियो । त्यसपछि मार्च १ देखि विदेशी नागरिकलाई सेवा प्रदान गर्ने सबै प्रकारका सेवा प्रदायक संस्थामा प्रणाली अनिवार्य रूपमा लागू गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म यस प्रणालीमा होटेल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार पाँच सय ४३ वटा सेवा प्रदायक आबद्ध भएका छन् । जसमध्ये ९४ जना होटेल रहेका छन् ।

के हो विदेशी नागरिक अनुगमन प्रणाली?


अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालका अनुसार यो नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने प्रणाली हो । नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले यो प्रणाली लागु गरिएको प्रवक्ता ढकाल बताउँछन् ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकाल

उनका अनुसार यो प्रणालीको माध्यमबाट आपतकालीन अवस्थामा विदेशी नागरिकको खोज उद्धार तथा सुरक्षा सुनिश्चित गर्न सहज हुने विश्वास लिइएको छ । ‘यो प्रणालीको लागु गर्नुको प्रमुख उद्देश्य भनेको विदेशी नागरिकको सुरक्षा, राष्ट्रिय सुरक्षा, विदेशी नागरिकको गतिविधिको अनुगमन तथा अपराध नियन्त्रण गर्नु हो ।’, अध्यागमन विभागका निर्देशक ढकाल भन्छन् ।

उनी थप्छन्, ‘यसले नेपाल पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने हामीले विश्वास लिएका छौं ।’

४ महिनामा नेपाल भित्रिए ४ लाख बढी विदेशी नागरिक

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सन् २०२६ को ४ महिना (जनवरी–अप्रिल)मा ४ लाख २६ हजार ४ सय ६४ विदेश नागरिक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५ सय ७३ जना विदेशी नागरिक नेपाल भित्रिएका थिए । जनवरीमा नेपाल आउने विदेशी नागरिकमध्ये सबैभन्दा बढी भारतीय रहेका थिए । सो महिनामा मात्रै भारतबाट २६ हजार ६२४ जना नेपाल आएका थिए । यस्तै, चीनबाट ९ हजार १०१, अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ जना नेपाल भित्रिएका थिए ।

फेब्रुअरीमा एक लाख ५ हजार ४४१ जना विदेशी नेपाल आएका थिए । फेब्रुअरी महिनामा नेपाल आउने विदेशी नागरिकमा सबै भन्दा बढी भारतीय थिए । भारतबाट फेब्रुअरीमा २२ हजार ७४५ जना नेपाल आएका थिए भने चीनबाट १० हजार ८१६ जना नेपाल भित्रिएका थिए । सो महिनामा अमेरिकाबाट ९ हजार ७१०, श्रीलङ्काबाट ७ हजार ५१५ जना, म्यानमारबाट ६ हजार ३५ जना, बेलायतबाट ५ हजार ६१८ जना, अस्ट्रेलियाबाट ४ हजार १२६ जना र थाइल्यान्डबाट ३ हजार ६३८ जना नागरिक फेब्रुअरी महिनामा नेपाल आए ।

नेपाल घुम्न आएका विदेशी पर्यटक मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँबाट पर्वतीय पहाड र हिमाल अवलोकन गर्दै । फोटो: सुन्दरकुमार थकाली/रासस

यस्तै, मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी नागरिक नेपाल प्रवेश गरेका थिए । जसमा भारतबाट सबैभन्दा धेरै २५ हजार ७ सय २८ आएका थिए । त्यस्तै, चीनबाट ११ हजार २ सय २०, श्रीलङ्काबाट १० हजार ७ सय ५९, अमेरिकाबाट ७ हजार ९ सय ७४ र म्यानमार ६ हजार २० जना रहेका थिए ।

साथै, अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ विदेशी नागरिक नेपाल आएका थिए । जसमा भारतबाट २५ हजार १९६, चीनबाट ११ हजार ७२२, अमेरिकाबाट ८ हजार ७२४, अस्ट्रेलियाबाट ५ हजार ३२७, बङ्गलादेशबाट ५ हजार २३१ जना रहेका थिए । साथै, संयुक्त अधिराज्यबाट ४ हजार ८८६, जर्मनीबाट ३ हजार १४३, मलेसियाबाट ३ हजार ८५, रुसबाट २ हजार ६३७ र म्यानमारबाट २ हजार ६२६ जना नेपाल भित्रिएका थिए ।

यस्तै, गत वर्ष २०२५ को डिसेम्बरमा ९८ हजार १९० विदेशी नागरिक नेपाल आएका थिए । साथै, सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म एघार लाख ५८ हजार ४ सय ५९ जना विदेशी यात्रु नेपाल आएको अध्यागमन विभागले जनाएको छ ।

अपेक्षाअनुसार प्रणालीसँग जोडिएनन् सेवा प्रदायक

विभागले अपेक्षा गरेअनुसार विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सेवा प्रदायकहरू यो प्रणालीसँग जोडिएका छैनन् । विशेष गरी, यो प्रणालीमा जोडिने होटेलको सङ्ख्या अपेक्षाकृत भन्दा कम रहेको छ । अध्यागमन विभागले यसको प्रमुख कारण प्रणालीबारे पर्याप्त सचेतनाको अभाव, साना तथा मझौला होटेलमा प्राविधिक क्षमता कमजोर हुनु र डिजिटल प्रणाली सञ्चालनमा कठिनाइ देखिनु रहेको जनाउँछ ।

होटेल एसोसिएसन नेपाल (हान)का प्रमुख कार्यकारी अधिकृत टेकबहादुर महत विदेशी नागरिक अनुगमन वा सुरक्षा सम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन केवल होटेल व्यवसायीको सहकार्य मात्र पर्याप्त नहुने बताउँछन् । उनी तीनै तहका सरकार, पर्यटनसँग सम्बन्धित निकाय तथा अनौपचारिक आवास क्षेत्रसमेत समेटिने गरी व्यापक समन्वय र सचेतना कार्यक्रम आवश्यक रहेको जिकिर गर्छन् ।

उनले हानले आफ्ना सदस्य होटेलहरूलाई मात्रै सर्कुलर र समन्वय गर्न सक्ने स्पष्ट पारे। “हामीले पत्राचार गर्दैमा सबै होटेलले त्यसलाई पालना गरिहाल्छन् भन्ने हुँदैन। हाम्रो पहुँच मुख्यतः सदस्य संस्थासम्म मात्रै हुन्छ,” उनले भने।

महतका अनुसार होटेल क्षेत्रभित्र हानबाहेक महासङ्घ, क्षेत्रीय सङ्घसंस्था तथा साना–मझौला व्यवसायीसमेत सक्रिय छन्। साथै, पर्यटकीय स्तरका होटेलहरूको दर्ता प्रक्रिया प्रदेश तहमा हस्तान्तरण भइसकेकाले प्रदेश सरकार र प्रदेश पर्यटन कार्यालयको सक्रिय भूमिका पनि आवश्यक रहेको उनी बताउँछन् ।

pathway between houses

फोटो: ओरेन योम्तोभ

उनले सौराहा र पोखराजस्ता केही क्षेत्रमा समन्वयको प्रयास भए पनि त्यो पर्याप्त नरहेको उल्लेख गर्दै सातै प्रदेशमा पुगेर सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। महतले होमस्टे, अपार्टमेन्ट तथा बीएनबीजस्ता आवास सेवाहरू पनि निगरानी र समन्वयको दायरामा आउनुपर्ने बताए। कतिपय सेवा प्रदायक कुनै पनि संस्थामा आबद्ध नरहेको उनले जिकिर गरे ।

“सबै क्षेत्रलाई समेटेर अभिमुखीकरण, चेतना जागरण र सूचना प्रवाहका कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उनले भने, “सुरुमा नयाँ व्यवस्था बुझ्न गाह्रो हुन सक्छ, तर यसले पर्यटन सुरक्षालाई बलियो बनाउँछ भन्ने बुझाइ विकास गर्न आवश्यक छ ।”

प्रणाली कार्यान्वयनको प्रगति र समीक्षा


अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणालीको कार्यान्वयनको प्रगतिबारे मंगलबार समीक्षा गरेको थियो । जसमा गृह मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, आन्तरिक राजस्व विभाग, होटेल एसोसिएसन नेपाल, होटेल व्यवसायी महासङ्घ, पर्यटक प्रहरी लगायत निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

उक्त छलफलले होटेल तथा विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने अन्य सेवा प्रदायक संस्थामाथिको अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । यसका लागि पर्यटन विभागसहित सम्बन्धित नियामक निकायहरूले अनुगमनलाई तीव्रता दिने विषयमा सहमति गरेका छन् । त्यस्तै, होटेल लगायत अन्य प्रकृतिका सेवा प्रदायक संस्थालाई सो प्रणालीमा आबद्ध गराउन देशका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने समेत बैठकमा निर्णय गरिएको छ ।

नेपालको अध्यागमन विभाग । फोटो: खसोखास

अध्यागमन विभागले अनुगमन प्रणालीलाई राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील प्रणालीका रूपमा व्याख्या गर्दै अपेक्षाअनुसार धेरै होटेल प्रणालीमा आबद्ध हुन नसकेको अवस्थामा वैकल्पिक उपायबारे समेत अध्ययन भइरहेको जनाएको छ । विभागका अनुसार आन्तरिक राजस्व विभाग र पर्यटन विभागमार्फत होटेललाई उपलब्ध गराइने सेवासँग उक्त प्रणालीलाई एकीकृत गर्ने विकल्पमाथि छलफल भइरहेको छ ।

साथै, प्रणालीमा आबद्ध भएका होटेलहरूको सूची अध्यागमनको नेपाली पोर्टलमा राख्ने र विदेशी नागरिकले भिसा आवेदन दिँदाकै समयमा त्यस्ता सूचीकृत होटेल छनोट गर्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा पनि तयारी गरिरहेको विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।