‘अमेरिकन ड्रीम’को मूल्य: १५ हजार नेपालीका मुद्दा पेन्डिङ, हजारौँ कागजातविहीन
एआईद्वारा सिर्जना गरिएको चित्र।
अमेरिका पुग्ने सपना धेरैको हुन्छ । सजिलो बाटो (कानुनी मार्ग) बाट अमेरिका पुग्न नसकिने देखिएपछि मानिसहरू गैरकानुनी बाटो रोज्न थाल्छन् । यही गैरकानुनी मार्गबाट भए पनि पुग्नै पर्ने ‘अमेरिकन ड्रीम’को कारण हजारौँ नेपालीहरू अमेरिकामा ‘गैरकानुनी हैसियतमा’ बस्न बाध्य भएका छन् । आधिकारिक कागजातबिना अमेरिकामा बस्ने नेपालीहरूको डिपोर्ट हुने क्रम पनि रोकिएको छैन ।
कति छन् अमेरिकामा गैरकानुनी रूपमा बस्ने नेपाली ?
अमेरिकामा कति नेपाली गैरकानुनी रूपमा बसिरहेका छन् भन्नेबारे नेपाल सरकारसँग यकिन तथ्याङ्क छैन । वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका नेपालीहरूको सङ्ख्याबारे कुनै प्रमाणित तथ्याङ्क उपलब्ध नभएको जनाएको राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि, अमेरिकास्थित नेपाली समुदायलाई उद्धृत गर्दै दूतावासले आर्थिक वर्ष २०७९/८० मा करिब ५ हजार नेपाली नागरिक गैरकानुनी रूपमा बसोबास गरिरहेको अनुमान गरेको थियो । यो सङ्ख्या बढेर आर्थिक वर्ष २०८०/८१ मा ७ हजार पुगेको थियो । साथै, आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या ९ हजार पुगेको अनुमान गरिएको छ । तर, कस्तो हैसियतमा बसेकाहरूलाई गैरकानुनी रूपमा बसोबास गरिरहेको भनिएको हो भन्नेबारे दूतावासद्वारा स्पष्ट पारिएको छैन ।

सामान्यतया, एसाइलम (शरण) आवेदन विचाराधीन रहेका र देशनिकालाको आदेश पाएर पनि अमेरिका नछाडेका नेपालीहरूको संख्या मात्र गणना गर्दा यो झन्डै १८ हजार पुग्छ, जसलाई अमेरिकामा ‘कागजातविहीन’ को रूपमा गणना गरिन्छ। यीमध्ये झण्डै ७ हजारलाई विगतमा टीपीएसले समेत संरक्षण प्रदान गरेको थियो। त्यस्तै, कुनै पनि आवेदन नदिई भिसाको अवधिभन्दा बढी बसेका (ओभरस्टे) वा मेक्सिको सीमाबाट विनाभिसा प्रवेश गरी अदालतमा उपस्थित हुने सूचना (नोटिस टु एपियर) समेत प्राप्त नगरेकाहरूको संख्या थप्दा यो २० हजारभन्दा बढी हुन आउँछ। जुन मानवअधिकार आयोगको रिपोर्टमा उल्लेख भएको र दूतावासले अनुमान गरेको भन्दा झण्डै दोब्बर हो ।
खसोखासले हालै फ्रिडम अफ इन्फर्मेशन एक्ट प्रयोग गरेर यूएससीआईएसबाट प्राप्त गरेको विवरणअनुसार नेपालीहरूका ५ हजार ७ सय २ वटा एसाइलम आवेदन पेन्डिङ अवस्थामा रहेका छन् । मार्च २०२६ सम्मको रेकर्डअनुसार अमेरिकी अध्यागमन अदालतमा ९ हजार ६ सय ५७ नेपालीका एसाइलमलगायतका मुद्दा पेन्डिङ अवस्थामा रहेका छन् । यसरी हेर्दा झण्डै १५ हजारभन्दा बढी नेपालीका एसाइलमसम्बन्धी मुद्दा यूएससीआईएस र अमेरिकी अध्यागमन अदालतमा पेन्डिङ अवस्थामा रहेका छन् ।

त्यस्तै, खसोखासले मार्च २०२६ सम्मको रेकर्ड विश्लेषण गर्दा अमेरिकी अध्यागमन अदालतबाट १७ हजार ७ सय ८ नेपालीका मुद्दाको निर्णय गरिएकोमध्ये ४ हजार ४ सय ४३ जनालाई देशनिकालाको आदेश दिइएको थियो भने ७ सय ५७ जनालाई स्वैच्छिक रूपमा अमेरिका छाड्न निर्देशन दिइएको थियो । यो विवरण सन् १९९८ यताकै हो ।

एक वर्षअघि अमेरिकी अध्यागमन एजेन्सी आइसले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ हजार ३ सय ६५ नेपालीहरूले देशनिकालाको आदेशपछि पनि अमेरिका नछाडेको उल्लेख गरिएको थियो ।
त्यतिबेला ३ हजार ४ सय ४९ नेपालीले अदालतबाट देशनिकालाको आदेश पाइसकेका थिए भने ६ सय ८ नेपालीलाई स्वैच्छिक रूपमा अमेरिका छाड्न निर्देशन दिइएको थियो । आर्थिक वर्ष २०२५ र २०२६ को मार्चसम्म थप १ सय ४९ नेपालीले अमेरिकाबाट स्वैच्छिक रूपमा प्रस्थान गर्न निर्देशन पाएका छन् भने १ हजार ७ नेपालीले देशनिकालाको आदेश पाएका छन् ।
खसोखासले विश्लेषण गरेको एक्जिक्युटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्याङ्कअनुसार नेपालीहरूले २०१५ मा टीपीएस प्राप्त गर्नुभन्दा अगाडि १ हजार ८ सय नेपालीले अदालतबाट देशनिकालाको आदेश पाएका थिए । तीमध्ये निकै कमले मात्र अमेरिका छाडेका थिए र देशनिकालाको आदेश पाइसकेका झण्डै १५ सय नेपालीले टीपीएसबाट संरक्षण पाएर अमेरिकामा बस्दै आएका थिए । आर्थिक वर्ष २०१६ देखि २०२६ को मार्चसम्म २ हजार ६ सय १ नेपालीले अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका छन् ।
आर्थिक वर्ष २०१३ देखि २०२२ सम्मको अवधिमा ५ सय ८४ नेपालीलाई अमेरिकाले देशनिकाला गरेको थियो भने ३ सय १२ नेपालीलाई फर्काएको थियो । त्यसअघि आर्थिक वर्ष २००९ देखि २०१२ सम्म १ सय ९३ नेपालीलाई अमेरिकाले फर्काएको तथा २००३ देखि २०१२ सम्म ४ सय ३६ नेपालीलाई देशनिकाला गरेको रेकर्ड होमल्याण्ड सेक्युरिटीको तथ्याङ्कमा उल्लेख छ ।
बाइडेन प्रशासनका पछिल्ला वर्ष अर्थात् आर्थिक वर्ष २०२४ र २०२५ मा ७२ नेपाली आइसमार्फत अमेरिकाबाट देशनिकाला भएका थिए ।
डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रेकर्डअनुसार २०२५ मा ट्रम्प प्रशासन आउनुअघि झण्डै १२ सय नेपाली अमेरिकाबाट देशनिकाला भइसकेका थिए । ट्रम्प प्रशासन सुरु भएपछि सन् २०२५ को जनवरीदेखि २०२६ को अप्रिलसम्म ७ सय ६० भन्दा बढी नेपाली आइसमार्फत अमेरिकाबाट देशनिकाला भइसकेका छन् ।
यी बाहेक कतिजनाले स्वेच्छिक रूपमा अमेरिका छाडे भन्ने विवरण कतै उल्लेख छैन । यो तथ्याङ्क हेर्दा अहिले पनि अमेरिकाबाट देशनिकालाको आदेश पाइसकेका झण्डै २५ सय नेपाली अमेरिकाभित्रै रहेको देखिन्छ ।
‘अमेरिकन ड्रीम’को मोह र जोखिमपूर्ण यात्रा
नेपालीहरूको अमेरिकन ड्रीमप्रतिको आकर्षणको प्रमुख कारण बेरोजगारी, कम आम्दानी र भविष्यप्रतिको अन्योल हो । विकसित देशमा पुगेर सुन्दर भविष्य बनाउने सपना बोकेर मानव तस्कर तथा एजेन्ट समूहलाई लाखौँ रुपैयाँ बुझाई नेपालीहरू गैरकानुनी मार्ग हुँदै अमेरिका छिर्ने गर्छन् । अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका नेपालीमध्ये सबैभन्दा धेरै मेक्सिकोको गैरकानुनी मार्ग हुँदै अमेरिका प्रवेश गरेका रहेको राजदूतावासले जनाएको छ ।
गैरकानुनी रूपमा दलाललाई पैसा बुझाएर अमेरिका पुग्नु पनि नेपालीका लागि सहज छैन । नेपालबाट सुरु हुने यो गैरकानुनी यात्रा दर्जनभन्दा बढी देश हुँदै अमेरिकासम्म पुग्ने राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८२’ मा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार अमेरिकासम्म पुग्न प्रयोग गरिने मार्ग लामो र खतरनाक छ ।
यो मार्ग नेपालबाट सुरु भएर भारत, रुस, स्पेन, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिका पुग्ने गर्दछ । यात्राका क्रममा विभिन्न देश पार गर्न दिनौँदेखि हप्तौँसम्म समय लाग्ने र बस, ट्रक, विमान तथा डुङ्गाजस्ता विभिन्न साधन प्रयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खसोखासले विश्लेषण गरेको होमल्याण्ड सेक्युरिटीको तथ्याङ्कअनुसार राष्ट्रपति जो बाइडेनको कार्यकालमा मात्रै ९ हजारभन्दा बढी नेपाली विनाभिसा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका थिए । ट्रम्पको अघिल्लो चार वर्षे कार्यकालमा यो सङ्ख्या १ हजार ८ सय ५० थियो ।
अक्टोबर २०२२ पछिका २४ महिनामा मात्रै ६ हजार ८ सय ३० नेपाली विनाभिसा अमेरिका प्रवेश गरेका थिए । बाइडेन ह्वाइट हाउसमा रहँदै आर्थिक वर्ष २०२५ का पहिलो दुई महिना अर्थात् अक्टोबर र नोभेम्बर २०२४ मा मात्रै ७ सय ४० नेपाली विनाभिसा अमेरिका प्रवेश गरेका थिए । यो सङ्ख्या सीबीपीले फेला पारेकाहरूको मात्र हो । सीमा सुरक्षा गस्तीलाई छल्दै अमेरिका प्रवेश गर्नेहरूको सङ्ख्या यसमा समावेश छैन ।
अमेरिकामा अपराधमा नेपालीको संलग्नता
आयोगको प्रतिवेदनअनुसार अमेरिका जाने यात्रुहरूले नेपालदेखि भारतसम्म बसमार्फत यात्रा गर्छन् । भारतदेखि रुस हुँदै स्पेन र त्यसपछि बोलिभियासम्म हवाई जहाज प्रयोग गर्छन् भने बोलिभियादेखि पेरु हुँदै इक्वेडर र कोलम्बियासम्म पुनः बसमा यात्रा गर्छन् ।
कोलम्बियादेखि पानामासम्म घना जङ्गलको बाटो (डेरियन ग्याप) हुँदै पैदल यात्रा गरिन्छ भने कोस्टारिका पुगेपछि त्यहाँदेखि निकारागुवासम्म बसमा यात्रा गरिन्छ । मेक्सिकोदेखि भने फेरि पैदल यात्रा गर्दै अमेरिका पुग्ने गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
अमेरिकामा अपराधमा संलग्न भई डिपोर्ट हुने नेपालीहरूको सङ्ख्या पनि वर्षेनी बढ्दो छ । अमेरिकी दूतावासका अनुसार अमेरिकी अदालतबाट विभिन्न अपराधमा दोषी ठहर भएपछि सन् २०२३ मा ३५ नेपाली डिपोर्ट गरिएका थिए । यो सङ्ख्या सन् २०२४ मा बढेर ६८ पुगेको थियो भने सन् २०२५ मा एकै वर्ष २ सय २० नेपालीलाई अमेरिका सरकारले नेपाल फिर्ता पठाएको मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेपछि अमेरिकामा अध्यागमन नीति कडाइका साथ लागू गरिएको छ । बिना कागजात अमेरिकामा बस्ने विदेशी नागरिकमाथि डिपोर्ट प्रक्रिया तीव्र बनाइएपछि नेपालीहरू पनि प्रभावित भएका हुन् ।
सोहीअनुसार, सन् २०२६ का चार महिनामा मात्रै ३ सय २० नेपाली अमेरिकाबाट डिपोर्ट भई स्वदेश फर्किसकेका छन् । अध्यागमन विभागले खसोखासलाई दिएको जानकारीअनुसार सन् २०२६ को जनवरीमा १ सय १, फेब्रुअरीमा १ सय ३०, मार्चमा ४३ र अप्रिलमा ४६ नेपाली अमेरिकाबाट डिपोर्ट भएका हुन् ।
न्युयोर्कबाट थप रिपोर्टिङ





