न्युयोर्क राज्यमा ड्युटीका बेला मास्क लगाउन आइस अधिकारीलाई रोक लगाउने तयारी
तस्वीर : चार्ली ट्रिबालेउ/एएफपी-रासस
अमेरिकाको न्युयोर्क राज्यले ड्युटीका क्रममा कानुन कार्यान्वयन अधिकारीहरूले मास्क लगाउन नपाउने व्यवस्था लागू गर्ने तयारी गरेको छ। गभर्नर क्याथी होचुलले बिहीबार यस्तो घोषणा गर्दै यो कदम ट्रम्प प्रशासनसँग कानुनी विवादको विषय बन्न सक्ने संकेत गरेकी छन्।
डेमोक्र्याट नेतृ होचुलले सन् २०२७ को न्युयोर्क राज्य बजेटबारे सांसदहरूसँग सहमति भएको जानकारी दिँदै अध्यागमन नीतिमा व्यापक परिवर्तन गरिने बताइन्। उक्त सहमतिअनुसार राज्यका कानुन कार्यान्वयन निकायहरूलाई संघीय अध्यागमन निकाय अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)सँग सहकार्य गर्न प्रतिबन्ध लगाइनेछ।
नयाँ व्यवस्थाअनुसार अदालतको आदेश (ज्युडिसियल वारेन्ट) बिना आइस अधिकारीहरूलाई विद्यालय, स्वास्थ्य संस्था, निजी घर तथा अन्य संवेदनशील स्थानहरूमा प्रवेश गर्न नदिइने भएको छ।
राज्यका बजेट निर्देशक ब्लेक जी. वासिङ्टनले डेमोक्र्याट बहुमत रहेको संसदले यी विधेयकहरू आगामी हप्तासम्म पारित गर्ने अपेक्षा गरिएको बताएका छन्।
“कानुन कार्यान्वयन अधिकारीहरूलाई मास्क लगाउन प्रतिबन्ध लगाइनेछ । तर, ग्यास मास्कजस्ता वास्तविक सुरक्षात्मक आवश्यकता भएका दुर्लभ अवस्थामा भने छुट दिइनेछ ।”, गभर्नर होचुलले भनिन् । उनल् सामान्य कारबाहीका क्रममा राज्य, स्थानीय वा संघीय अधिकारीहरूले मास्क प्रयोग नगर्ने दाबी गरिन्।
यसबारे अध्यागमन कारबाहीको संघीय निगरानी गर्ने अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
यसअघि क्यालिफोर्निया र न्युजर्सी लगायत डेमोक्र्याट नेतृत्व भएका अन्य राज्यहरूले पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन अभियानका क्रममा आइस अधिकारीहरूले मास्क लगाएर कारबाही गर्ने अभ्यासमाथि रोक लगाउने प्रयास गरेका थिए।
तर, अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसले ती राज्यहरूको कदमविरुद्ध मुद्दा दायर गर्दै संघीय अधिकारमाथि हस्तक्षेप भएको दाबी गरेको थियो। फेब्रुअरीमा एक संघीय न्यायाधीशले क्यालिफोर्नियाको यस्तै प्रतिबन्ध खारेज गर्दै उक्त व्यवस्था संघीय अधिकारीहरूमाथि गैरकानुनी विभेद भएको फैसला सुनाएका थिए।





