२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नेपालदेखि अमेरिकासम्मको जोखिमपूर्ण गैरकानुनी यात्रा: १० देश पार, अन्त्यमा डिपोर्ट

अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गर्‍यो । अप्रिल ७ मा चार्टर्ड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका ४८ जना नै पुरुष थिए । उनीहरूमध्ये दुई जना अमेरिकाको ग्रिन कार्ड बाहक नागरिक थिए पनि बाँकी ४६ जनासँग कुनै कानुनी कागजात थिएन । अर्थात्, उनी गैर कानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए । 

त्यसअघि सन् २०२६ कै दुई महिना (जनवरी र फेब्रुअरी)मा गरी दुई सय ३१ जना नेपालीलाई अमेरिकाले देश निकाला गरी स्वदेश फिर्ता पठाएको थियो । फेब्रुअरीमा मात्रै १३० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए, जसमा १२४ जना पुरुष र ६ महिला थिए । जनवरीमा १०१ जना डिपोर्ट भएका थिए । जसमा ४ जना मात्र महिला थिए भने बाँकी सबै पुरुष थिए । 

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेपछि अमेरिकामा गैर कानुनी रूपमा बसेका ७ सय १८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । साथै, सन् २०२२ मा ६ जना, सन् २०२३ मा १९ जना र सन् २०२४ मा भने एक सय ३९ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्याङ्कमा उल्लेख छ । उनीहरूमध्ये अधिकांश दलाललाई मोटो रकम बुझाएर गैर कानुनी मार्ग हुँदै अमेरिका पुगेका थिए । 

जोखिमले भरिएको यात्रा

गैर कानुनी रूपमा दलाललाई पैसा बुझाएर अमेरिका पुग्न त्यति सजिलो भने छैन । 

राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८२’ मा उल्लेख गरिएअनुसार नेपालबाट अमेरिकासम्म पुग्न प्रयोग गरिने मार्ग  सीधा, छोटो वा सुरक्षित नभई अत्यन्त घुमाउरो, लामो र खतरनाक छ ।

यो मार्ग नेपालबाट सुरु भएर भारत, रुस, स्पेन, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै अमेरिका पुग्ने गर्दछ।

यात्राका क्रममा विभिन्न देशहरू पार गर्न दिनौँदेखि हप्तौँसम्म समय लाग्ने र बस, ट्रक, विमान तथा डुङ्गा जस्ता विभिन्न साधन प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

‘डारिएन ग्याप’ : सबैभन्दा खतरनाक खण्ड
प्रतिवेदनका उल्लेख भएअनुसार नेपालमा ’डंकी रुट’को रूपमा चिनिने यस मार्गमा पर्ने प्रत्येक देश पार गरी अर्को देशमा प्रवेश गर्नका लागि दिनौँ वा हप्तौँ समय व्यतीत गर्नुपर्ने हुन्छ । एक देशबाट अर्को देशमा जानका लागि बस, ट्रकदेखि विमान र डुङ्गासम्मका विभिन्न यातायातका साधनहरू प्रयोग गरिन्छ । 

त्यति मात्रै होइन, यात्रीहरूले कोलम्बिया र पानामाको बीचमा पर्ने घना जङ्गलमा कतिपय अवस्थामा दशौँ किलोमिटर पैदल यात्रासमेत गर्नुपर्ने हुन्छ ।

अल जजीराका स्तम्भकार बेलेन फर्नान्डेजको पुस्तक ’द डारिएन ग्याप : अ रिपोर्टर्स जर्नी थ्रु द डेड्ली क्रस रोड्स अफ अमेरिकान्स’ लाई उद्धृत गर्दै आयोगको प्रतिवेदनमा लेखिएको छ, ‘यो मार्ग यति घातक र खतरनाक छ कि, जुन ठाडो पहाड, घना वर्षा हुने वन, दलदल र बाढी प्रभावित क्षेत्रहरू हुँदै फैलिएको छ ।’

’डारिएन ग्याप’ पानामा र कोलम्बियाको बीचमा पर्दछ । यो मार्ग सशस्त्र समूहहरूको नियन्त्रणमा रहेको छ । यसलाई पार गर्न १० दिनभन्दा बढी समय लाग्दछ । 

प्रतिवेदनअनुसार यात्राका क्रममा हत्या, लुटपाट, बलात्कार जस्ता गम्भीर अपराधका घटना हुने, साथै धेरै यात्रुहरू ज्यान गुमाउने वा बेपत्ता हुने जोखिम उच्च रहने उल्लेख छ। कतिपय अवस्थामा परिवारका सदस्यहरू छुट्टिने र बालबालिका अभिभावकविहीन हुने अवस्थासमेत देखिएको छ।

आयोगको प्रतिवेदनमा भनिएको छ, ‘पत्रकार फर्नान्डेजले यस यात्राका क्रममा ठाडा पहाड र नदीहरूमा भेटिएका शवहरू, जीवनसाथीबाट छुट्टिएका मानिसहरू, दुवै अभिभावकको मृत्युका कारण अलपत्र परेका बालबालिकाका साथै सशस्त्र समूहहरूबाट हुने हत्या, बलात्कार र लुटपाटका घटनाहरूलाई समेटेकी छिन् ।’

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उक्त मार्ग प्रयोग गर्ने क्रममा कति नेपालीले ज्यान गुमाए वा बेपत्ता भए भन्ने यकिन तथ्याङ्क उपलब्ध छैन। तर यस्तो घटनाहरू भइरहेको पुष्टि गरिएको छ।

नेपालबाट अमेरिका पुग्न प्रयोग गरिने यातायातको माध्यम

नेपालबाट अमेरिका जाने यात्रीहरूले नेपालदेखि भारतसम्म बसको माध्यमबाट यात्रा गर्छन् । 

भारतदेखि रुस हुँदै स्पेन अनि बोलिभियासम्म हवाई जहाजमा यात्रा गर्छन् भने बोलिभियादेखि पेरु हुँदै इक्वेडर अनि कोलम्बिया पुनः बसमा यात्रा गर्छन् । 

कोलम्बियादेखि पानामासम्म घना जङ्गलको बाटो (डेरियन ग्याप) हिँडेर यात्रा गर्छन् भने कोस्टारिका पुगेपछि त्यहाँदेखि निकारागुवा बसमा यात्रा गर्छन् । मेक्सिकोदेखि भने फेरी उनीहरूले हिँडेरै अमेरिकासम्मको यात्रा गर्ने गरेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।