अमेरिकी पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र: पर्यटकीय चहलपहल बढ्दै
प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार
फोटो : रासस
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ। ताप्लेजुङ जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकीय चहलपहल बढेको हो। यो क्षेत्र विशेष गरी अमेरिकी पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ।
अमेरिकी पर्यटकका अलावा जापान, जर्मनी, अष्ट्रेलिया, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन र स्विडेन लगायतका देशबाट पर्यटकहरू आउने गरेका छन्। तर भारत र चीनबाट भने तुलनात्मक रूपमा कम सङ्ख्यामा पर्यटकहरू भ्रमण तथा आरोहणका लागि यस क्षेत्रमा आउने गरेका छन्।
मौसम राम्रो हुँदै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको हो। कञ्चनजङ्घा क्षेत्र चैतको पहिलो सातादेखि जेठको तेस्रो सातासम्म भ्रमणका लागि उपयुक्त समय मानिन्छ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, घुन्सा चेकपोस्टका पर्यटन सहायक टाँसीछिरिङ शेर्पाका अनुसार पछिल्लो एक महिनामा १६५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। वर्षमा दुई पटक प्रमुख पर्यटकीय याम मानिन्छ।
पहिलो चैतदेखि जेठसम्म र दोस्रो असोजदेखि मङ्सिरसम्म। गत वर्ष पहिलो याममा मात्रै ७५० विदेशी पर्यटक यहाँ आएका थिए।
कञ्चनजङ्घा आधार शिविर पुग्न दुई प्रमुख पदमार्ग प्रयोग हुँदै आएका छन्। पाँचथरको गणेशचोक हुँदै सिरिजङ्घा गाउँपालिका भएर र काठमाडौँबाट हवाई मार्ग हुँदै सुकेटार विमानस्थल पुगेर फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी आधार शिविर पुग्न सकिन्छ।
पर्यटकलाई लक्षित गर्दै यस पदमार्गमा साना-ठूला गरी ५२ वटा होटल सञ्चालनमा रहेका छन्। सदरमुकाम फुङ्लिङ बजारमा समेत ठूलो लगानीका होटलहरू सञ्चालनमा आएका छन्। पर्यटकको आगमन बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित बनेका छन्।
कञ्चनजङ्घा संरक्षण क्षेत्रका स्थानीय समुदायको मुख्य जीविकोपार्जन पर्यटन, होटल व्यवसाय र पशुपालनमा आधारित छ। सन् १९५५ मे २५ मा कञ्चनजङ्घाको पहिलो सफल आरोहण भएको इतिहास छ।
विगतमा फुङ्लिङबाट पैदल यात्रा गर्दा करिब २४ दिन लाग्ने यस क्षेत्रको भ्रमण अवधि अहिले छोटिएर ११ देखि १६ दिनमा झरेको छ। हिमाल आरोहण भने मुख्यतः वैशाख र जेठ महिनामा हुने गर्दछ। रासस





