इरानसँग हुने आगामी कूटनीतिक वार्ता सकारात्मक हुने अमेरिकाको अपेक्षा


प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग हुने आगामी कूटनीतिक वार्ता सकारात्मक हुने अपेक्षा व्यक्त गरेका छन्। शुक्रबार पाकिस्तानतर्फ प्रस्थान गर्ने क्रममा उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै वार्ताबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । यद्यपी, उनले इरानलाई स्पष्ट चेतावनी दिँदै ‘हामीसँग खेल्ने प्रयास नगर्न’ आग्रह गरेका छन्।

वासिङ्टनबाट प्रस्थानअघि पत्रकारहरूसँग बोल्दै भान्सले भने, “हामी वार्ताको प्रतीक्षामा छौँ । मलाई लाग्छ यो निकै सकारात्मक हुनेछ।”

उनले अमेरिकी सरकार वार्तामार्फत समाधान खोज्न प्रतिबद्ध रहेको संकेत पनि दिएका छन्।

उनका अनुसार, यदि इरानले इमान्दारीपूर्वक र विश्वासका साथ वार्तामा सहभागी हुन्छ भने अमेरिका पनि खुला मनले सहकार्य गर्न तयार छ। “यदि इरानी पक्ष राम्रो नियतका साथ अघि बढ्छ भने, हामी उनीहरूसँग हातेमालो गर्न तयार छौँ,” उनले भने।

तर, उनले चेतावनी दिँदै थपे, “यदि उनीहरूले हामीलाई भ्रममा पार्ने वा खेल्ने प्रयास गर्छन् भने, हाम्रो वार्ता टोली त्यस्तो व्यवहारप्रति सहज हुने छैन।”

यो वार्ता अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। विशेषगरी आणविक कार्यक्रम, क्षेत्रीय सुरक्षा र आर्थिक प्रतिबन्धका विषयमा दुवै पक्षबीच सहमति खोज्ने प्रयास भइरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com