पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने: नयाँ दिल्ली जानुपर्ने बाध्यता अन्त्य हुने


प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार

Flag of Portugal

फोटो: लुइस फेलिसियानो / अनस्प्ल्यास

युरोपेली मुलुक पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय खोल्ने भएको छ। पोर्चुगल सरकारले काठमाडौँमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने औपचारिक घोषणा गरेको हो।

पोर्चुगलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘फेसबुक र एक्स’ मार्फत उक्त निर्णय सार्वजनिक गरेको हो। नेपालमा कन्सुलर कार्यालय स्थापना गर्ने पोर्चुगल सरकारको यो निर्णयले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आपसी हित, सहकार्य र सहयोग अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ।

नेपालले पोर्चुगल सरकारसँग काठमाडौँमा दूतावास स्थापना गर्न आग्रह गर्दै आएको थियो। काठमाडौँमा कन्सुलर कार्यालय स्थापना हुने भएपछि पोर्चुगलमा रहेका तथा जान चाहने नेपालीहरूलाई ठुलो सहजता हुनेछ।

यसबाट भिसा, कागजात प्रमाणीकरण तथा अन्य कन्सुलर सेवाका लागि भारतको नयाँ दिल्ली धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ।

नेपालमा पोर्चुगलको कूटनीतिक उपस्थिति भएसँगै व्यापार, लगानी, पर्यटन, ऊर्जा, कृषि तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य विस्तार हुने देखिन्छ।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका विदेशमन्त्री पाउलो रान्जेलबीच टेलिफोन वार्ता भएको थियो। सो क्रममा मन्त्री खनालले सक्कली प्रहरी रिपोर्टमा नक्कली छाप (फेक स्ट्याम्प) लागेका कारण प्रक्रियागत समस्यामा परेका दुई हजारभन्दा बढी नेपाली नागरिकको मुद्दाबारे ध्यानाकर्षण गराउँदै सहजीकरणका लागि आग्रह गरेका थिए।

जवाफमा विदेशमन्त्री रान्जेलले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्दै कठिनाइमा परेका नेपालीका समस्यालाई मानवीय दृष्टिकोणबाट समीक्षा गर्न सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका थिए। रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com