अमेरिकी राष्ट्रपति ट्रम्पले भने – ‘कुनै न कुनै रूपमा क्युबा लिने सम्मान पाउनेछु’


प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाबारे कडा अभिव्यक्ति दिएका छन्। उनले आफूले “कुनै न कुनै रूपमा क्युबा लिने सम्मान पाउने” अपेक्षा गरेको भन्दै छिमेकी देशसँग आफूले चाहेको जस्तो कदम चाल्न सक्ने बताएका छन्।

ट्रम्पको यस्तो भनाइ त्यतिबेला आएको हो, जब अमेरिका र क्युबाबीच दुई देशको तनावपूर्ण सम्बन्ध सुधार गर्ने उद्देश्यले वार्ता सुरु भएको छ। सन् १९५९ मा फिडेल क्यास्ट्रोले अमेरिकाको नजिकको सहयोगी रहेको सरकारलाई हटाएपछि दुई देशबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ।

ह्वाइट हाउसको ओभल अफिसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्युबाको विषयमा आफूले विभिन्न विकल्पहरू प्रयोग गर्न सक्ने बताएका थिए। उनले क्युबालाई “मुक्त गर्ने वा नियन्त्रणमा लिने” दुवै सम्भावनाबारे संकेत गरेका छन्।

अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्सका अनुसार अमेरिका र क्युबाबीच भइरहेको वार्तामा क्युबाका राष्ट्रपति मिगुएल दियाज(कानेललाई पदबाट हटाउनु पनि अमेरिकी पक्षको प्रमुख उद्देश्य हुन सक्छ। वार्तासँग परिचित स्रोतहरूलाई उद्धृत गर्दै उक्त पत्रिकाले अमेरिकी प्रतिनिधिहरूले क्युबाली वार्ताकारहरूलाई दियाज(कानेल हट्नुपर्ने संकेत दिएको जनाएको छ।

यद्यपि, क्युबाले आफ्नो आन्तरिक मामिलामा कुनै बाह्य हस्तक्षेप स्वीकार नगर्ने अडान लिँदै आएको छ। क्युबाली सरकारले यस्ता प्रस्तावलाई सम्भावित सम्झौताका लागि अस्वीकार्य मान्ने गरेको छ।

सन् २०१८ मा राष्ट्रपति बनेका ६५ वर्षीय दियाज(कानेलले हालै अमेरिकासँगको वार्ता “समानता, सार्वभौमिकता र दुवै देशको राजनीतिक प्रणालीप्रति सम्मान”का आधारमा हुनुपर्ने बताएका थिए।

यसैबीच अमेरिकाले भेनेजुएलाबाट क्युबामा आउने तेल आपूर्ति रोकिदिएपछि क्युबा गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। तीन महिनादेखि तेल आपूर्ति नआएको भन्दै क्युबाले ऊर्जा राशन लागू गरेको छ, जसका कारण देशभरि लामो समयसम्म विद्युत् कटौती भइरहेको छ।

सोमबार क्युबाको राष्ट्रिय विद्युत् प्रणाली नै ढलेपछि करिब एक करोड जनसंख्या रहेको देशमा व्यापक विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका र क्युबाबीचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण रहँदै आएको छ। सन् १९६२ को क्युबन मिसाइल संकटपछि सोभियत संघसँग भएको सम्झौता अनुसार अमेरिकाले क्युबामाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com