अमेरिकी अध्यागमन हिरासतमा पछिल्लो दुई महिनामा ११ आप्रवासीको मृत्यु


प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट’  को हिरासतमा रहेका आप्रवासीहरूको मृत्यु हुने क्रम डरलाग्दो रूपमा बढेको छ। प्राप्त आधिकारिक तथ्याङ्क अनुसार, सन् २०२६ को जनवरीदेखि मार्चको पहिलो सातासम्ममा मात्रै कम्तीमा ११ जना आप्रवासीले हिरासतमा ज्यान गुमाएका छन्।

गत वर्ष सन् २०२५ मा ३१ जनाको मृत्यु भएको थियो, जुन विगत दुई दशकयताकै उच्च संख्या हो। यो वर्षको सुरुवाती दुई महिनाको ट्रेन्डले स्थिति अझ भयावह हुन सक्ने संकेत गरेको छ।

मार्च महिनाको सुरुवातमै तीन जनाको मृत्यु भइसकेको छ। मार्च २ मा एरिजोनाको अस्पतालमा हाइटियन नागरिक इमानुएल क्लिफोर्ड डमास को मृत्यु भयो। सास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। यद्यपि, उनका भाइले भने समयमै दाँतको दुखाइ र त्यसबाट फैलिएको संक्रमणको उपचार नपाउँदा उनको मृत्यु भएको दाबी गरेका छन्।

त्यस्तै, मार्च १ मा ५९ वर्षीय इरानी नागरिक पेजमान कर्सेनास नजाफाबादी को मिसिसिपीको अस्पतालमा मृत्यु भयो। उनलाई ‘फेन्टानिल’ राखेको अभियोगमा पक्राउ गरी लुजियानाको हिरासतमा राखिएको थियो। फेब्रुअरी २७ मा क्यालिफोर्नियामा ४८ वर्षीय मेक्सिकन नागरिक अल्बर्टो गुटिएरेज रेयेस को पनि हिरासतमा रहँदा छाती दुख्ने र श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको छ।

हिरासतमा भएका कतिपय मृत्युहरूमा गम्भीर प्रश्न उठाइएका छन्। टेक्सासको ‘क्याम्प इस्ट मोन्टाना’ मा ज्यान गुमाएका क्युवाली नागरिक गेराल्डो लुनास क्याम्पोस को मृत्युलाई लिएर विवाद उत्पन्न भएको छ। वाशिङ्गटन पोस्टका अनुसार, अन्य थुनुवाहरूले सुरक्षा गार्डहरूले उनलाई घाँटी थिचेको देखेको बताएका छन्, जबकि विभागले उनले आत्महत्याको प्रयास गर्दा रोक्न खोजेको दाबी गरेको छ।

अन्य मृतकहरूमा ३६ वर्षीय निकारागुआन नागरिक भिक्टर म्यानुअल डियाज र ३४ वर्षीय मेक्सिकन नागरिक हेबर सान्चेज डोमिन्गुएज रहेका छन्, जसले जनवरी १४ मा आत्महत्या गरेको बताइएको छ।

 लुइस बेल्ट्रान यानेज–क्रुज (६८) र लुइस गुस्ताभो नुनेज कासेरेस (४२) को जनवरीमा उपचारका क्रममा मृत्यु भएको थियो। ग्वाटेमाला र कम्बोडिया, जाइरो गार्सिया हर्नान्डेज (२७) र लार्थ सिम (५९) को फेब्रुअरी १६ मा मृत्यु,फिलाडेल्फिया ४६ वर्षीय क्याम्बोडियन नागरिक पाराडी लाको लागुऔषध संक्रामक उपचारका क्रममा मृत्यु भएको थियो।

मानव अधिकारवादी र स्थानीय जनप्रतिनिधिहरूले हिरासतभित्रको चिकित्सा सेवाको गुणस्तरमाथि प्रश्न उठाएका छन्। यद्यपि, होमल्याण्ड सेक्युरिटी विभागले भने हिरासतमा रहेका सबैलाई व्यापक स्वास्थ्य सेवा प्रदान गरिएको दाबी गर्दै आएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com