न्युयोर्कमा आइस एजेन्टको गोलीकाण्डपछि माम्दानीद्वारा आइस खारेज गर्न माग


प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार

आइसको अधिकार क्षेत्रभन्दा बाहिरका गतिविधिविरुद्ध उभिने विषयमा न्युयोर्क सिटीका मेयर जोहरान क्वामे माम्दानीले गभर्नर क्याथी होकुल र महान्यायाधिवक्ता लेटिसिया जेम्ससँगै घोषणा गर्दै, बुधबार, अगस्ट १२, २०२६। तस्बिर : माइकल एप्पलटन/मेयरको फोटोग्राफी कार्यालय।

न्युयोर्क — न्युयोर्क सिटीका मेयर जोहरान क्वामे माम्दानीले बिहीबार न्युयोर्कमा अमेरिकी अध्यागमन एजेन्सी आइसका एजेन्टले गोली चलाएर एक व्यक्तिलाई घाइते बनाएको घटनाको निन्दा गर्दै यसलाई ‘अस्वीकार्य र अत्यन्तै गम्भीर’ बताएका छन्। उनका अनुसार गोली चलाइँदा ती व्यक्ति पाँच वर्षका बालकसहित कारमा थिए।

माम्दानीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेको बताउँदै कुराकानी हुँदा न्युयोर्क सिटीमा आइसका सबै अध्यागमन कारबाही तत्काल रोक्न माग गर्ने बताएका छन्। उनले आइस खारेज गर्नुपर्ने आफ्नो मागसमेत दोहोर्‍याएका छन्।

बिहीबार अपराह्न करिब ४ बजे म्यानह्याटनको मार्बल हिल क्षेत्रमा गोली चलेको थियो। वेस्ट २२५औँ स्ट्रिट र मार्बल हिल एभिन्यु नजिकै रहेको यो क्षेत्र प्रशासनिक रूपमा म्यानह्याटनमा पर्छ, तर भौगोलिक रूपमा ब्रोंक्ससँग जोडिएको छ।

संघीय अध्यागमन एजेन्टहरूले एक व्यक्तिलाई पक्राउ गर्ने प्रयासका क्रममा गोली चलाएका थिए। घाइते व्यक्तिलाई नजिकैको अस्पताल पुर्‍याइएको थियो। अस्पताल लैजाँदा उनी होसमा रहेको र उनको चोट ज्यानलाई तत्काल खतरा नहुने प्रकृतिको रहेको बताइएको छ। घटनामा दुई आइस एजेन्ट पनि घाइते भएका र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको कानुन कार्यान्वयन अधिकारीले बताएका छन्।

माम्दानीको कार्यालयका अनुसार प्रारम्भिक विवरणमा एजेन्टहरूले ती व्यक्तिको कारलाई घेरा हालेपछि पटकपटक गोली चलाएको उल्लेख छ। कारभित्र पाँच वर्षका बालक पनि थिए। पछाडिको सिटमा बसेका ती बालक शारीरिक रूपमा घाइते नभएको प्रारम्भिक अनुमान गरिएको छ।

न्युयोर्क प्रहरीले आफ्ना अधिकारीहरू घटनामा संलग्न नरहेको र गोली चलाइँदा प्रहरी घटनास्थलमा उपस्थित नभएको जनाएको छ। पछि भने भीड नियन्त्रण र प्रमाण सङ्कलनमा सहयोग गर्न प्रहरीले थप जनशक्ति परिचालन गरेको थियो।

बिहीबार साँझ जारी लिखित वक्तव्यमा माम्दानीले घटनालाई ‘अस्वीकार्य र अत्यन्तै गम्भीर परिस्थिति’ भन्दै आफूले ट्रम्पसँग सम्पर्क गरेको बताएका छन्।

“मैले राष्ट्रपतिलाई फोन गरेको छु। उहाँसँग कुरा हुँदा म हाम्रो सहरमा आइसका सबै कारबाही रोक्न माग गर्नेछु,” माम्दानीले भने। “आइस एजेन्टहरूले हाम्रा समुदायलाई त्रसित बनाइरहँदा म चुप लागेर बस्नेछैनँ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले वक्तव्यको अन्त्यमा आइसलाई सहरका विभिन्न स्थानबाट हटाउन माग गर्दै निकाय नै खारेज गर्नुपर्ने बताएका छन्।

“आइसलाई हाम्रा छिमेकबाट हटाऊ। हाम्रा अस्पतालबाट हटाऊ। हाम्रा सडकबाट हटाऊ। हाम्रा बालबालिकाबाट टाढा राख। आइस खारेज गर।”

होमल्याण्ड सेक्युरिटीको दाबी

अमेरिकी होमल्याण्ड सेक्युरिटीले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत घटनाबारे थप विवरण सार्वजनिक गर्दै आइस एजेन्टहरूले ब्रोंक्समा लक्षित पक्राउ अभियान सञ्चालन गरिरहेको जनाएको छ।

होमल्याण्ड सेक्युरिटीका अनुसार अक्टोबर ८ मा पूर्वी अमेरिकी समयअनुसार अपराह्न करिब ४ बजे डोमिनिकन गणतन्त्रका एक व्यक्तिलाई पक्राउ गर्न अभियान चलाइएको थियो। विभागले ती व्यक्तिलाई अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेको र आपराधिक पृष्ठभूमि भएको व्यक्तिका रूपमा वर्णन गरेको छ।

होमल्याण्ड सेक्युरिटीका अनुसार ती व्यक्तिलाई ठूलो चोरीसम्बन्धी कसुरमा पहिले दोषी ठहर गरिएको थियो। उनीमाथि आक्रमण, लुटपाट, लागूऔषधको स्वामित्व र हतियार राख्नेसम्बन्धी विभिन्न घटनामा यसअघि पनि पक्राउ परेको अभिलेख रहेको होमल्याण्ड सेक्युरिटीको दाबी छ। उनी ट्रिनिटारियोस नामक गिरोहसँग सम्बन्धित रहेको आरोपसमेत विभागले लगाएको छ। उक्त गिरोहले गत वर्ष अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका एक अधिकारीमाथि गोली चलाएको घटनासँग सम्बन्ध रहेको होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

होमल्याण्ड सेक्युरिटीका अनुसार न्युयोर्क प्रहरीले सन् २०२३ डिसेम्बर ७ मा ती व्यक्तिलाई पक्राउ गरेको थियो, तर केही दिनपछि समुदायमा छाडेको थियो। विभागले त्यसका लागि डेमोक्रेटिक पार्टीका नेताहरूले समर्थन गरेका आप्रवासनसम्बन्धी संरक्षण नीतिलाई दोष दिँदै त्यस्ता नीतिले अमेरिकी नागरिकको जीवन जोखिममा पार्ने आरोप लगाएको छ।

“घटनाका क्रममा आइसका एक अधिकारीले आफ्नो हतियार चलाए र ती व्यक्ति घाइते भए,” विभागले वक्तव्यमा भनेको छ। आइस एजेन्टहरूले तत्काल घाइतेलाई सहायता उपलब्ध गराएको र उनी जीवित रहेको तथा स्थानीय अस्पतालमा उपचार भइरहेको पनि होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

होमल्याण्ड सेक्युरिटीका अनुसार संघीय अनुसन्धान ब्युरो (एफबीआई) र होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभागका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। घटनाको अनुसन्धान जारी रहेको र थप जानकारी उपलब्ध भएपछि सार्वजनिक गरिने होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

होमल्याण्ड सेक्युरिटीले वक्तव्यमा आप्रवासनसम्बन्धी संरक्षण नीतिको पनि आलोचना गरेको छ। स्थानीय अधिकारीहरूले संघीय कानुन कार्यान्वयन निकायलाई सहयोग नगर्दा आइस एजेन्टहरूले अप्रत्याशित र जोखिमपूर्ण सार्वजनिक स्थानमा पक्राउ अभियान सञ्चालन गर्नुपर्ने अवस्था आउने विभागको दाबी छ। स्थानीय नेताहरूको असहयोगका कारण संघीय अधिकारी र सर्वसाधारणले अनावश्यक जोखिम मोल्न नपर्ने विभागले जनाएको छ।

यी आरोप र घटनाबारे होमल्याण्ड सेक्युरिटीले दिएको विवरण स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन्। घटनाको अनुसन्धान जारी रहेकाले गोली चल्नुको सम्पूर्ण परिस्थिति र त्यससँग सम्बन्धित जिम्मेवारीबारे थप जानकारी आउन बाँकी छ।

एफबीआईको न्युयोर्कस्थित प्रमाण प्रतिक्रिया टोली पनि संघीय अधिकारीहरूलाई सहयोग गर्न घटनास्थल पुगेको एफबीआईले स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ।

गभर्नर होकुलद्वारा निन्दा, संघीय अधिकारीसँग जवाफ माग

न्युयोर्ककी गभर्नर क्याथी होकुलले पनि घटनाको निन्दा गर्दै संघीय अधिकारीहरूसँग तत्काल स्पष्टीकरण माग गरेकी छन्। घटनापछि आप्रवासी समुदाय त्रसित भएको र न्युयोर्कवासी आक्रोशित बनेको उनले बताएकी छन्।

बिहीबार साँझ सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “आज राति न्युयोर्कवासी आक्रोशित छन्। आप्रवासी समुदाय त्रसित छ। र हामी जवाफ मागिरहेका छौँ।”

होकुलले घटनाबारे अझै धेरै कुरा स्पष्ट हुन बाँकी रहेको बताउँदै पाँच वर्षका बालक कारभित्रै रहेका बेला आइस एजेन्टहरूले गोली चलाएको प्रारम्भिक विवरणप्रति ध्यानाकर्षण गराएकी छन्।

“प्रशिक्षण प्राप्त कुनै पनि कानुन कार्यान्वयन अधिकारीलाई यस्तो घटनाले कति सजिलै भयावह परिणाम निम्त्याउन सक्थ्यो भन्ने थाहा हुन्छ,” उनले लेखेकी छन्। बालक शारीरिक रूपमा घाइते नभएको देखिएको पनि उनले उल्लेख गरेकी छन्।

“कुनै पनि बालबालिकाले गोली चलेको त्रास भोग्नुपर्नेसम्मको अवस्था आउनु हुँदैन। अझ आफू जीवितै घर फर्कन पाउँछु कि पाउँदिनँ भनेर सोच्नुपर्ने अवस्था त झन् आउनु हुँदैन,” होकुलले भनेकी छन्। “आमा र हजुरआमाका रूपमा ती क्षण कति भयावह थिए होलान् भनेर म कल्पना पनि गर्न सक्दिनँ।”

गभर्नरले संघीय निकायको कार्यशैलीको पनि कडा आलोचना गर्दै हिंसा र जवाफदेहिताको अभाव दोहोरिँदै आएको आरोप लगाएकी छन्।

“न्युयोर्कवासीले जवाफदेहिताबिना काम गर्ने एक अनियन्त्रित संघीय निकाय र पर्याप्त तालिम नपाएका एजेन्टहरूबाट भएका हिंसाका धेरै घटना देखिसकेका छन्,” उनले लेखेकी छन्। “संघीय अधिकारीहरूले जवाफ दिनुपर्छ, र त्यो तत्काल हुनुपर्छ।”

यसअघि जारी अर्को वक्तव्यमा होकुलले ब्रोंक्समा संघीय कानुन कार्यान्वयन अधिकारीहरूसँग सम्बन्धित गोलीकाण्डबारे आफूलाई जानकारी गराइएको बताउँदै घटनाको सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेकी थिइन्।

“यस घटनाको परिस्थितिबारे संघीय अधिकारीहरूले पूर्ण र पारदर्शी विवरण उपलब्ध गराउने अपेक्षा गरेका छौँ,” उनले भनेकी छन्। “के भयो र किन भयो भन्ने कुरा जान्ने अधिकार न्युयोर्कवासीलाई छ।”

प्रत्यक्षदर्शीले पाँचदेखि छ पटक गोली चलेको आवाज सुने

प्रहरीलाई दिएको विवरणमा प्रत्यक्षदर्शीहरूले पाँचदेखि छ पटकसम्म गोली चलेको आवाज र मानिसहरू चिच्याएको सुनेको बताएका छन्।

सञ्चारमाध्यमहरूले प्राप्त गरेका घटनास्थलका तस्बिर र भिडियोमा रणनीतिक सुरक्षा पोसाक लगाएका सादा पोसाकका एजेन्टहरूले भुइँमा रहेका एक व्यक्तिलाई नियन्त्रणमा लिइरहेको देखिएको छ।

घटनापछि प्रदर्शनकारीहरू घटनास्थलमा भेला भएका थिए। उनीहरूले एजेन्टहरूलाई प्रश्न गर्दै नाराबाजी गरेका थिए र उनीहरूको गतिविधि भिडियोमा रेकर्ड गरेका थिए। यसबीच अधिकारीहरूले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि सुरक्षित बनाएका थिए।

संघीय र स्थानीय नेतृत्वबीच बढ्दो तनाव

यो गोलीकाण्ड राष्ट्रपति ट्रम्पको प्रशासन र न्युयोर्कका डेमोक्रेटिक नेतृत्वबीच संघीय अध्यागमन कार्यान्वयनका विषयमा बढिरहेको तनावका बीच भएको हो।

होमल्याण्ड सेक्युरिटी सचिव मार्कवेन मुलिनले करिब एक महिनाअघि होकुल र माम्दानीले संघीय अध्यागमन अधिकारीहरूसँग पर्याप्त सहकार्य नगरेको आरोप लगाउँदै आलोचना गरेका थिए। स्थानीय अधिकारीहरूको विरोधका बाबजुद अध्यागमन कार्यान्वयन अभियान जारी रहने उनले बताएका थिए। युएसए टुडेको समाचारअनुसार, मुलिनले संघीय कारबाही नरोकिने बताएका थिए।

माम्दानी प्रशासनले सहरका सरकारी तथा सार्वजनिक सुविधामा आइसको पहुँच सीमित गर्ने र आप्रवासीलाई संरक्षण दिने नीतिलाई बलियो बनाउने प्रयास गर्दै आएको छ। यसले संघीय अधिकारी र सहर प्रशासनबीच अध्यागमन कार्यान्वयनका विषयमा थप विवाद उत्पन्न हुने सम्भावना बढाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com