गाजा पुनर्निर्माणका लागि ५ बिलियन अमेरिकी डलर सहयोग गर्ने शान्ति बोर्डको प्रतिबद्धता 


प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धले प्रभावित गाजाको पुनर्निर्माणका लागि नयाँ गठन गरिएको शान्ति बोर्डका सदस्यहरूले ५ बिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएका छन्। साथै, उक्त क्षेत्रको सुरक्षाका लागि अन्तर्राष्ट्रिय स्थिरीकरण तथा प्रहरी बलमा हजारौं जनशक्ति परिचालन गरिने पनि उनले जानकारी दिएका छन्।

ट्रम्पका अनुसार, बोर्डका सदस्यहरू आगामी बिहीबार वासिङ्टनमा हुने पहिलो बैठकमा भेला हुँदा यी प्रतिबद्धताहरू औपचारिक रूपमा घोषणा गरिनेछ। उनले सामाजिक सञ्जालमार्फत शान्ति बोर्ड इतिहासकै सबैभन्दा प्रभावशाली अन्तर्राष्ट्रिय निकाय बन्ने दाबी गरेका छन्।

यसैबीच, इन्डोनेसियाको सेनाले मानवीय तथा शान्ति मिसनअन्तर्गत गाजामा पठाउनका लागि जुन महिनाको अन्त्यसम्म ८ हजार सैनिक तयार पार्ने जनाएको छ। ट्रम्प प्रशासनले प्राप्त गरेको यो पहिलो ठोस सैन्य सहयोग प्रतिबद्धता मानिएको छ।

गाजाको पुनर्निर्माण निकै चुनौतीपूर्ण हुने अनुमान गरिएको छ। संयुक्त राष्ट्र संघ, विश्व बैंक र युरोपेली संघले संयुक्त रूपमा गाजाको पुनर्निर्माणमा करिब ७० बिलियन अमेरिकी डलर खर्च लाग्ने अनुमान गरेका छन्। दुई वर्षभन्दा बढी समयदेखि जारी आक्रमणका कारण गाजा पट्टीका अधिकांश संरचना क्षतिग्रस्त भएका छन्।

युद्धविराम सम्झौताअनुसार सुरक्षाको जिम्मेवारी लिन अन्तर्राष्ट्रिय सशस्त्र बल परिचालन गरी हमासलाई निशस्त्र बनाउने योजना अघि सारिएको छ, जुन इजरायलको मुख्य माग रहेको छ। यद्यपि प्रस्तावित बलमा सहभागी हुन अहिलेसम्म सीमित देशहरूले मात्रै रुचि देखाएका छन्।

गत साता ट्रम्पसँग भेटवार्ता गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भने उक्त बैठकमा सहभागी नहुने बताइएको छ।

यसैबीच, ट्रम्पले बैठक अमेरिकी शान्ति संस्थानमा आयोजना हुने पुष्टि गरेका छन्। उक्त संस्थाको भवनबारे पूर्व कर्मचारी र व्यवस्थापन पक्षले दायर गरेको मुद्दाका कारण कानुनी विवाद समेत जारी रहेको बताइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com