अमेरिकाले भन्यो : इरानमा शासन परिवर्तन आवश्यक
प्रकाशित मिति : माघ ३०, २०८२ शुक्रबार
फोटो : एएफपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा शासन परिवर्तन हुनु आवश्यक रहेको बताएका छन्। उनले इरानको शासन परिवर्तन हुनु “त्यहाँका लागि सबैभन्दा राम्रो कुरा” हुने बताएका हुन्। इरानको धार्मिक नेतृत्वलाई प्रतिस्थापन गर्ने पक्षमा उनले दिएको यो अहिलेसम्मकै सबैभन्दा स्पष्ट समर्थनका रूपमा हेरिएको छ।
उनले भने, “४७ वर्षदेखि उनीहरू कुरा मात्रै गरिरहेका छन्। यसबीच हामीले धेरै ज्यान गुमाएका छौँ।” उनले इरानको नेतृत्व कसले लिनुपर्छ भन्ने स्पष्ट नपारे पनि “त्यहाँ नेतृत्व लिन सक्ने मानिसहरू छन्” भन्ने उल्लेख गरेका छन्। इरानका सर्वोच्च नेता खामिनीले ट्रम्पको पछिल्लो अभिव्यक्तिबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउन मध्यपूर्वमा दोस्रो विमानवाहक युद्धपोत पठाएको छ। ट्रम्पका अनुसार विश्वकै सबैभन्दा ठूलो र अमेरिकाको नयाँ विमानवाहक जहाज छिट्टै क्यारेबियनबाट मध्यपूर्वतर्फ प्रस्थान गर्नेछ।
उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा उक्त जहाजको हवाई तस्बिर पनि सार्वजनिक गरेका छन्। यो जहाज पहिले नै मध्यपूर्वमा तैनाथ रहेका अन्य युद्धपोतहरूसँग जोडिने बताइएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले जनवरीमा इरानविरुद्ध आक्रमणको चेतावनी दिएपछि पहिलो विमानवाहक जहाज पठाएको थियो।
त्यतिबेला इरानमा व्यापक प्रदर्शनहरू भएका थिए, जसमा हजारौँ मानिसको ज्यान गएको बताइएको थियो। ती प्रदर्शनहरू सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा ठूलो उथलपुथलमध्ये एक मानिएको छ, जसले सर्वोच्च नेताद्वारा सञ्चालित धार्मिक शासन प्रणाली स्थापना गरेको थियो।
ट्रम्पले आणविक सम्झौता नभए इरानमाथि आक्रमण गर्ने चेतावनी दिए पनि बुधबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्रीसँगको भेटपछि तेहरानसँग वार्ता जारी रहने बताएका थिए। अमेरिकाले इरानलाई युरेनियम संवर्द्धन कार्यक्रम रोक्न दबाब दिइरहेको छ भने नेतान्याहुको सरकारले इरानले आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रम र हमास तथा हिज्बुल्लाहजस्ता समूहलाई दिँदै आएको समर्थन बन्द गर्नुपर्ने अडान राखेको छ।
इरानले प्रतिबन्ध हटाइएमा आफ्नो आणविक कार्यक्रम सीमित गर्न तयार रहेको संकेत दिएको छ। तर, इरानका राष्ट्रपतिले “मागहरूमा नझुक्ने” चेतावनी दिएका छन्। गत वर्ष इजरायल र इरानबीच १२ दिन चलेको युद्धअघि नयाँ सम्झौता गर्ने उद्देश्यले वार्ता पुनः सुरु गरिएको थियो।






