अमेरिकामा ‘पब्लिक चार्ज’ नबन्न नेपालीलाई नेपाल सरकारको अनुरोध, भिसा र ग्रिनकार्ड रद्द हुनसक्ने
प्रकाशित मिति : माघ १५, २०८२ बिहीबार
यसैसाथा नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट उर्बोमले परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेट गरेका थिए । फोटो: परराष्ट्र मन्त्रालय
नेपाल सरकारको परराष्ट्र मन्त्रालयले विभिन्न उद्देश्यले अमेरिकामा रहेका नेपालीहरूलाई अमेरिकामा रहँदा गैर कानुनी तवरले कुनै पनि सरकारी सुविधा तथा सहायता नलिन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै विभिन्न सिलसिलामा अमेरिकामा रहँदा गलत सूचना वा विवरण पेश गरी कुनै पनि सरकारी सुविधा तथा सहायता नलिन आग्रह गरेको हो ।
मन्त्रालयले बी१/बी२ भिसाको दुरुपयोग नगर्न अमेरिकामा रहेका नेपालीहरूलाई आग्रह गर्दै अमेरिकामा रहँदा गलत विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता र शैक्षिक सहायता जस्ता सुविधा तथा सहायता माथि निर्भर नहुन अपिल गरेको हो ।
विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्याङ्कले मात्रै पनि नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकोले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको भन्दै मन्त्रालयले सचेत गराएको छ।
मन्त्रालयले भनेको छ, “विभिन्न उदेश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूले संयुक्त राज्य अमेरिकामा रहँदा गैरकानूनी तवरले वा गलत सूचना वा विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधा/सहायता माथि निर्भर नहुन/नगराउनुहुन, साथै बी१/बी२ भिसाको दुरुपयोग नगर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।”

मन्त्रालयले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा अमेरिकामा रहेको कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनैपनि सुविधा वा सहायता माथि निर्भर भए गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्ध समेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको उल्लेख गरेको छ ।
बी१/बी२ भिसामा अमेरिका गएका नेपालीहरू अमेरिकामा ओभरस्टे गरेको र रोजगारी लगायत तोकिएको भन्दा फरक काममा संलग्न भएको पाइएको आधारमा अमेरिकी सरकारले २१ जनवरीदेखि लागू हुने गरी बी१/बी२ भिसा आवेदनमा अमेरिकी डलर ५००० देखी १५००० सम्म धरौटी राख्नुपर्ने प्रावधान लागू गरेको स्मरण गराउँदै मन्त्रालयले भनेको छ, “यस्ता कार्यले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप प्रभावित हुनसक्ने हुँदा भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकलाई अमेरिकी भिसा प्राप्ति अझ कठीन हुन जाने र मुलुकको प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्न जान्छ।”
परराष्ट्रमन्त्रालयको वक्तव्य लगत्तै अमेरिकामा रहेको नेपाली दूतावास र महावाणिज्यदूतावासहरुले पनि सोही सूचना प्रकाशित गरेका छन् । यसैसाता अमेरिकी दूतावास काठमाडौंका अधिकारीसँग परराष्ट्रसचिवको भेटघाट लगत्तै परराष्ट्र मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।






