न्युयोर्कमा अन्तर्राष्ट्रिय खाना महोत्सवमा नेपाली परिकारको स्वादमा रमाए विभिन्न देशका कुटनीतिज्ञ
प्रकाशित मिति : मंसिर ७, २०८२ आईतबार
अमेरिकी कुटनीतिज्ञलाई नेपाली खानाबारे जानकारी दिदै महावणिज्यदूत दधिराम भण्डारी । फोटो: राजन काफ्ले
न्युयोर्कमा सोसाइटी अफ फरेन कन्सल्सले शनिबार आयोजना गरेको अन्तर्राष्ट्रिय खाद्य महोत्सवमा नेपालको महावाणिज्य दूतावासले प्रदर्शन गरेको नेपाली खाना र पेय पदार्थहरूको स्वादमा विश्वका विभिन्न देशका कुटनीतिज्ञहरु र सहभागीहरु रमाए । कार्यक्रममा सहभागीहरूले नेपाली खानाको स्टलमा राखिएका विभिन्न परम्परागत र प्रामाणिक नेपाली परिकारहरूको स्वाद लिए।
महावाणिज्य दूतावासले मम, सेल रोटी, आलु दम र नेपाली मसला चिया सहितको फूड काउन्टर राखेको थियो। ४०० भन्दा बढी आगन्तुकहरू सहभागी महोत्सवमा कैयनले नेपाली स्टलमा आई परिकारहरूको स्वाद लिनुका साथै नेपालबारे थप जानकारी हासिल गरेका थिए । खाना खुवाउनु र हरेक परिकारको सांस्कृतिक महत्त्वबारे बताउनुको अलावा महावाणिज्य दूतावासका अधिकारीहरूले आगन्तुकहरूलाई नेपालको अद्यावधिक यात्रा जानकारी पनि प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै जर्जियाका महावाणिज्य दूत तथा सोसाइटी अफ फरेन कन्सल्स इन न्युयोर्कका अध्यक्ष माइया बार्टाइयाले कार्यक्रमको सफल आयोजना र सदस्यहरूको उत्साहजनक सहभागिताप्रति खुसी व्यक्त गरेकी थिइन् । सोसाइटीले न्युयोर्कमा आफ्ना सदस्य राष्ट्रहरूको विविधता प्रदर्शन गर्ने दिशामा निरन्तर काम गरिरहेको उनले बताइन् ।

अमेरिकी विदेश मन्त्रालयको न्युयोर्कस्थित विदेशी नियोगहरूको कार्यालयकी क्षेत्रीय निर्देशक क्याथी एगनले उत्सवको आयोजना गरी विश्वभरका राष्ट्रहरूको सांस्कृतिक र पाककला विविधताको उत्सव मनाएकोमा सोसाइटी अफ फरेन कन्सल्सलाई बधाई दिइन् । टर्कीका महावाणिज्य दूत मुहितिन अहमेतले मानिसहरूलाई एकसाथ ल्याउन र विविधता प्रवर्द्धन गर्न खाना र संस्कृतिको शक्तिमाथि प्रकाश पारेका थिए । त्यसैगरी, न्युयोर्क मेयरको कार्यालयमा आयुक्तकी विशेष सहायक तथा रणनीतिक सम्पर्क अधिकृत फर्नान्डा पेरेज भिल्लारियलले न्युयोर्क शहरको विविधता र यस सन्दर्भमा संस्कृति, परिकार र सम्बन्धहरूको महत्त्वबारे बोलेकी थिइन् ।

कार्यक्रम सोसाइटी अफ फरेन कन्सल्सको साझेदारीमा आयोजना गरिएको थियो भने न्युयोर्कस्थित टर्कीको महावाणिज्य दूतावासले टर्कीस हाउसमा आयोजना गरेको थियो। एक दर्जन भन्दा बढी न्युयोर्कस्थित महावाणिज्य दूतावासहरूले आफ्ना राष्ट्रिय परिकार र पेय पदार्थहरूको प्रदर्शनी र सेवा प्रदान गरेका थिए। सोसाइटी अफ फरेन कन्सल्सका कार्यकारी सदस्यहरूले कार्यक्रमभरि आफ्ना सांस्कृतिक प्रस्तुतिहरू पनि दिएका थिए।

कार्यक्रममा अमेरिकी विदेश मन्त्रालयको न्युयोर्कस्थित विदेशी नियोगहरूको कार्यालयका क्षेत्रीय निर्देशक र वरिष्ठ अधिकारीहरूस, न्युयोर्क सिटीका मेयरको कार्यालयका प्रतिनिधिहरू, स्थानीय राजनीतिक नेताहरू, न्युयोर्कस्थित राजदूत र स्थायी प्रतिनिधिहरू, महावाणिज्य दूतहरू, कूटनीतिक समुदायका सदस्यहरू र डायस्पोराका सदस्यहरुका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।







