अमेरिकामा आयोजित तीज कार्यक्रमबाट नेपालका बाढीपीडितका लागि करिब १३ लाख रुपैयाँ


प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार

कोलोराडो — नेपालमा आएको विनाशकारी बाढी र त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिपछि कोलोराडोस्थित टुकी इभेन्ट्सले यस वर्षको तीज कार्यक्रमलाई राहत संकलनमा केन्द्रित गरेको जनाएको छ।

हिन्दु महिलाहरूको पर्व तीजका अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम यस वर्ष पनि बाढी आउनुअघि नै तय भइसकेको थियो। तर भदौ १० गते नेपालका विभिन्न जिल्लामा बाढी र पहिरोबाट ठूलो क्षति भएपछि कार्यक्रम आयोजना गर्ने वा नगर्ने विषयमा आयोजकबीच छलफल भएको थियो।

कार्यक्रमका विषयमा सामाजिक सञ्जालमार्फत र व्यक्तिगत रूपमा विभिन्न प्रतिक्रिया आएको आयोजकले जनाएको छ। केहीले विपत्तिका बेला मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने बताएका थिए भने केहीले कार्यक्रमलाई राहत संकलनको माध्यम बनाउनुपर्ने सुझाव दिएका थिए।

टुकी इभेन्ट्सकी इभेन्ट प्लानर श्रुति पाण्डेका अनुसार आयोजकले कार्यक्रम स्थगित गर्नुको सट्टा त्यसबाट प्राप्त हुने रकम राहतका लागि प्रयोग गर्ने निर्णय गरेको थियो।

“हामीलाई पनि कार्यक्रम गर्ने कि नगर्ने र नेपाल पीडामा हुँदा कसरी रमाइलो गर्ने भन्ने प्रश्न थियो,” पाण्डेले भनिन्। “तर कार्यक्रमलाई निरन्तरता दिने र त्यसबाट उठेको रकम राहतका लागि दिने निर्णय गर्‍यौं।”

आयोजकका अनुसार यस वर्षको कार्यक्रमलाई “टुकी तीज–४ फर नेपाल” नाम दिइएको थियो। टिकट बिक्री र प्रायोजकबाट प्राप्त रकम गरी करिब १३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको पाण्डेले बताइन्।

टुकी इभेन्ट्सकी शान्ति भुसालका अनुसार अघिल्ला वर्षमा २०० भन्दा बढी सहभागी हुने कार्यक्रममा यस पटक करिब ७० जनाको सहभागिता थियो। सहभागी संख्या घटे पनि राहतका लागि रकम संकलन गर्न सकेकोमा आफूहरू सन्तुष्ट रहेको उनले बताइन्।

“त्यो दिनको कार्यक्रमबाट उठेको रकमले केही परिवारलाई एक छाक खाना जुटाउन सहयोग पुग्न सक्छ,” भुसालले भनिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा सहभागी टिकटको रकमसँगै विभिन्न प्रायोजकबाट प्राप्त सहयोग पनि राहत कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमसँग सम्बन्धित केही व्यक्तिले आफ्नो पारिश्रमिकसमेत नलिएको पाण्डेले बताइन्।

उनका अनुसार कार्यक्रमका डिजे निरज अर्याल र गोल्डेन क्रेस्ट भिज्युअल्सका फोटोग्राफर प्रमिस खत्रीले पारिश्रमिक नलिई सहयोग गरेका थिए।

नेपालमा आएको बाढीपछि विदेशमा रहेका नेपाली समुदायका विभिन्न संस्था र समूहले राहत तथा सहयोग अभियान सञ्चालन गरिरहेका छन्। त्यस्ता अभियानमा औपचारिक कार्यक्रमसँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधि पनि आयोजना हुने गरेका छन्।

पाण्डेका अनुसार कार्यक्रमका क्रममा नेपालमा भएको विपत्तिप्रति संवेदनशीलता कायम राख्ने प्रयास गरिएको थियो।

“नेपालमा भएको घटनाले हामी सबैलाई दुःखी बनाएको छ,” उनले भनिन्। “तर आफ्नो नियमित जीवन र काम पनि निरन्तरता दिनुपर्ने अवस्था हुन्छ। हामीले कार्यक्रमबाट संकलित रकम राहतमा पठाउन सकेका छौं।”

टुकी इभेन्ट्सका अनुसार करिब १३ लाख रुपैयाँ राहत कोषमा जम्मा भइसकेको छ। आयोजकले कार्यक्रमबाट प्राप्त रकमको विवरण सार्वजनिक गर्दै सहयोग गर्ने सहभागी, प्रायोजक तथा कार्यक्रमसँग जोडिएका व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com