एडीसीसी एम्याटोर विश्व च्याम्पियनसिपमा बेल्जियम निवासी युवा आशिष थापालाई कांस्य पदक


प्रकाशित मिति : २७ भदौ २०८३, शनिबार

बेल्जियम — बेल्जियम निवासी युवा आशिष थापाले एडीसीसी एम्याटोर विश्व च्याम्पियनसिप २०२६ मा सबमिसन ग्र्याप्लिङअन्तर्गत ब्राजिलियन जिउ–जित्सु तथा एडीसीसी सबमिसन फाइटिङ विधामा प्रतिस्पर्धा गर्दै कांस्य पदक जितेका हुन्।

सेप्टेम्बर ११ मा पोल्याण्डको क्राकोवस्थित ताउरोन एरेनामा सम्पन्न प्रतियोगितामा थापाले ९१ केजी इन्टरमिडिएट एम्याटोर विश्व विधामा प्रतिस्पर्धा गरेका थिए। उनले पोल्याण्डका खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेका हुन्।

विश्वभरका अम्याटोर ग्र्याप्लिङ खेलाडीका लागि खुला यस प्रतियोगितालाई नयाँ तथा उदीयमान खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिने गरेका छन्। यस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले तेस्रो स्थान हासिल गर्नु नेपाल र विदेशमा रहेका नेपाली समुदायका लागि गौरवको विषय बनेको छ।

थापाले सन् २०२२ देखि बेल्जियमको ब्रसेल्समा ग्र्याप्लिङ तथा यससँग सम्बन्धित फाइट विधामा प्रशिक्षण र प्रतिस्पर्धा गर्दै आएका छन्। यस अवधिमा उनले सन् २०२३ को एजेपी बेल्जियम, सन् २०२४ को नागा ब्रसेल्स र एजेपी बेल्जियम तथा सन् २०२५ को एजीएफ एन्टवर्प प्रतियोगितामा पहिलो स्थान हासिल गरेका थिए।

यी प्रतियोगिताहरूमा लगातार पहिलो स्थान हासिल गर्दै आएको अनुभवले उनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने र पदक जित्ने आधार तयार गरेको हो। छोटो समयमै निरन्तर अभ्यास, प्रशिक्षण र प्रतियोगिताबाट अनुभव हासिल गर्दै उनी अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने अवस्थामा पुगेका हुन्।

एडीसीसी अर्थात् आबुधाबी कम्ब्याट क्लबअन्तर्गत हुने ग्र्याप्लिङ प्रतियोगितामा विभिन्न मार्सल आर्ट तथा कम्ब्याट सीपको संयोजन देखिन्छ। यसमा रेसलिङ तथा ग्र्याप्लिङसँगै प्रतिद्वन्द्वीलाई नियन्त्रणमा लिने, लक गर्ने र सबमिसन गराउने प्राविधिक सीपमा विशेष जोड दिइन्छ। प्रतियोगिताको प्रकृतिअनुसार स्ट्राइकिङसम्बन्धी सीपको प्रभाव देखिन सक्ने भए पनि मुख्य जोड ग्र्याप्लिङ, टेकडाउन, नियन्त्रण र सबमिसनमा हुन्छ।

यिनै प्राविधिक पक्षमा निरन्तर अभ्यास र दक्षता हासिल गरेका थापाले पोल्याण्डमा भएको प्रतियोगितामा आफ्नो क्षमता प्रस्तुत गर्दै विश्वस्तरमा कांस्य पदक हासिल गर्न सफल भएका हुन्।

बेल्जियममा रहेर अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा सक्रिय नेपाली युवा थापाको यो उपलब्धिले विदेशमा रहेका नेपाली युवा खेलाडीलाई पनि प्रेरणा र हौसला मिल्ने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित प्रतियोगितामा नेपाली खेलाडीले पदक जित्नु नेपाली खेलकुदका लागि पनि उत्साहजनक उपलब्धि मानिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com