धुर्मुस–सुन्तलीको अमेरिकामा निर्मित हास्य शृंखला बाढीपीडितप्रति श्रद्धाञ्जलीसहित प्रसारणमा


प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार

अमेरिकामा निर्मित नयाँ हास्य शृंखला ‘म त मर्छु कि क्या हो’को एक दृश्यमा सीताराम कट्टेल, मोहन मिश्र र कुञ्जना घिमिरे।

न्युयोर्क — नेपाली हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा निर्माण गरेको नयाँ हास्य शृंखला नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीका पीडितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रसारणमा ल्याएका छन्।

धुर्मुस–सुन्तली मिडियाले निर्माण गरेको यो शृंखला धुर्मुस–सुन्तलीको युट्युब च्यानलमार्फत प्रसारण सुरु भएको छ। शृंखलाको शीर्षक कट्टेलको चर्चित हास्य संवादबाट लिइएको हो।

शृंखलाको पहिलो भाग करिब दुई साताअघि नै प्रसारण गर्ने तयारी गरिएको थियो। तर, अगस्ट २६ मा नेपालमा गएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति, विस्थापन र मानवीय संकट निम्त्याएपछि यसको प्रसारण केही समयका लागि स्थगित गरिएको थियो।

पछिल्ला विवरणअनुसार, विपद्पछि करिब १,४०० जनाको शव फेला परिसकेको छ भने ५,००० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन्। नेपाल–तिब्बत सीमाना नजिक भएको हिमपहिरो र चट्टानसहितको ठूलो पहिरोपछि आएको पानी र गेग्रान भोटेकोशी नदी प्रणाली हुँदै तलतर्फ बग्दा विभिन्न बस्तीमा व्यापक क्षति पुगेको थियो।

शृंखला सुरु हुनुअघि बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको सन्देश प्रस्तुत गरिएको छ। सन्देशमा मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धारका लागि कामना गरिएको छ।

सन्देशमा विपद्का कारण विस्थापित भएका नागरिकलाई सरकारले तत्काल राहत तथा उचित पुनःस्थापना उपलब्ध गराउनुपर्नेमा पनि जोड दिइएको छ।

शृंखलाको कथावस्तुमै बाढीपीडितका लागि राहतको सन्देशसमेत समेटिएको छ। पीडितका लागि रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको प्रसंगलाई कथामा समावेश गरिएको छ।

नेपालले पटक–पटक प्राकृतिक विपद्को सामना गर्दै आएको र हरेकपटक सामूहिक प्रयासबाट पुनः उठ्न सफल भएको विषयमा पनि संवादमार्फत चर्चा गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हाम्रो देशले फेरि कहिल्यै यस्तो विपद्को सामना गर्न नपरोस्,” शृंखलाका एक पात्रले भनेका छन्। “विपद्ले पटक–पटक हामीलाई कमजोर बनाए पनि हामी फेरि उठ्न सक्छौँ। हामी २०७२ सालको भूकम्पपछि उठ्यौँ। २०७४ सालको तराई बाढीपछि उठ्यौँ। मेलम्ची बाढीपछि उठ्यौँ। कोरोना महामारीका बेला पनि उठ्यौँ। अहिलेको बाढीमा पनि हामी संसारभरिबाट उठिरहेका छौँ।”

संवादमा राहत र उद्धारका क्रममा देखाएको एकताजस्तै अब पुनर्निर्माणमा पनि सबै नेपाली एकजुट हुनुपर्ने सन्देश दिइएको छ।

“अब हामी सबैले हातेमालो गरेर पुनर्निर्माणमा जुट्नुपर्छ,” अर्को पात्रले भनेका छन्।

शृंखलाको एक दृश्यमा पात्रले नेपालमा हालै आएको बाढी, त्यसबाट भएको क्षति र विपद्का बीच नेपाली समाजको पुनः उठ्ने क्षमताबारे कुरा गरेका छन्।

नर्थ क्यारोलिनाबाट नयाँ अभिनय यात्रा

कट्टेलका अनुसार शृंखला हरेक शुक्रबार नेपाली समयअनुसार राति ८ः१५ बजे प्रसारण हुनेछ। अमेरिकाको पूर्वी समयअनुसार भने शुक्रबार बिहान १०ः३० बजे शृंखला हेर्न सकिनेछ।

नर्थ क्यारोलिनाको र्‍याले क्षेत्रलाई मुख्य पृष्ठभूमि बनाएर निर्माण गरिएको शृंखलाको छायांकन र्‍याले, क्यारी, होली स्प्रिङ्स, हाई प्वाइन्ट, ग्रिन्सबोरो र शार्लोटमा गरिएको हो। शृंखलाको निर्देशन कट्टेलले गरेका छन्।

वरिष्ठ हास्यकलाकार मोहन मिश्रले शृंखलामा प्रमुख भूमिकामा अभिनय गरेका छन्। कलाकारहरूमा दिनेश कार्की, शंकरराज वाग्ले, संयम लामिछाने, मनिका चौलागाईं, चुडा धिमाल, धर्म भारती र शुभद्रा आचार्य रहेका छन्।

यस शृंखलाबाट कट्टेल र घिमिरेकी छोरी सुबिहानी कट्टेलले बालकलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी छन्। नेपाली चलचित्रका पूर्वअभिनेता जीवन लुइँटेल पनि अतिथि भूमिकामा देखिएका छन्।

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’की छोरी सुबिहानी कट्टेलले बालकलाकारका रूपमा अभिनय यात्रा सुरु गरेकी छन्।

राजु केसीले छायांकन गरेका छन्। आशीष अविरलले स्वर दिएका छन् भने प्रकाश पुंगले गीतका शब्द लेखेका छन्। राजेन्द्र बजगाईंले संगीत दिएका छन् र राजेन्द्र मानन्धरले सम्पादन गरेका छन्।

मनोरञ्जनसँगै समुदायका लागि सन्देश

निर्माण पक्षका अनुसार यो शृंखला मनोरञ्जनमा मात्र सीमित रहने छैन। हास्य र व्यङ्ग्यमार्फत अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, अवसर र चुनौतीलाई प्रस्तुत गर्ने उद्देश्यले शृंखला निर्माण गरिएको हो।

कट्टेलका अनुसार आगामी भागहरूमा अमेरिकामा रहेका नेपालीका लागि दैनिक जीवनमा उपयोगी हुने विभिन्न जानकारीसमेत हास्य शैलीमा प्रस्तुत गरिनेछ।

उनले शृंखलाले दर्शकलाई मनोरञ्जन दिनुका साथै अमेरिकामा रहेका नेपाली समुदायका सदस्यलाई उनीहरूको दैनिक जीवनसँग सम्बन्धित उपयोगी जानकारी प्राप्त गर्न पनि सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा नेपाली अमेरिकीहरूको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, सामुदायिक गतिविधि र आप्रवासी जीवनका विविध अनुभवलाई समेत प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ।

शृंखलाका सल्लाहकारसमेत रहेका वैज्ञानिक तथा लेखक डा. चन्द्र गिरीले विदेशमा रहेका नेपालीले भोगिरहेका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्‍याउने प्रयास महत्वपूर्ण रहेको बताए।

“विदेशमा रहेर यहाँबाट नियमित कलात्मक काम सुरु गर्नु आफैँमा प्रशंसनीय कुरा हो,” गिरीले भने। “यस्ता प्रयासलाई प्रवासमा रहेका सबै नेपालीले समर्थन गर्नु आवश्यक छ।”

कट्टेल र घिमिरे अमेरिका आएपछि पनि सिर्जनात्मक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनीहरूले अमेरिकामा रहँदा करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका लागि विज्ञापनसमेत निर्माण गरेका छन्।

“सबैभन्दा महत्वपूर्ण कुरा अब दर्शकहरूले हाम्रो शृंखला नियमित रूपमा हेर्न पाउनुहुनेछ,” कट्टेलले भने। “हामी जहाँ बसे पनि आफ्नो कला र सिर्जनात्मक कामलाई निरन्तरता दिन सक्छौँ भन्ने सन्देश दिन चाहन्छौँ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com