फेडरल रिजर्भले ब्याजदर घटाएपछि घर किन्नेको मोर्गेजको मासिक भुक्तानी कति?
प्रकाशित मिति : कार्तिक २५, २०८२ मंगलबार
फोटो: रोजर स्टार्नेस सिनियर
अमेरिकामा फेडरल रिजर्भले सेप्टेम्बर र अक्टोबरमा लगातार ब्याजदर घटाएपछि मोर्गेज बजारमा राहत मिलेको छ। फेडरल रिजर्भको दर परिवर्तनले मोर्गेज दरहरूलाई सीधै प्रभाव नपारे पनि यसले यी र अन्य दरहरू कुन दिशामा जान्छन् भन्ने कुरामा असर गर्छ। उदाहरणका लागि अक्टोबरको अन्त्यमा फेडरल रिजर्भको आधिकारिक दर घोषणा हुनुभन्दा ठीक अगाडि ऋणदाताहरूले अपेक्षित परिवर्तनहरूसँग तालमेल मिलाउन खोज्दा मोर्गेज दरहरू छोटो समयका लागि तीन वर्षकै न्यून बिन्दुमा पुगेका थिए।
त्यस समयदेखि मोर्गेज दरहरू थोरै बढेका छन् । ३० वर्षे निश्चित मोर्गेजको औसत दर अहिले ६ दशमलव २ प्रतिशतभन्दा अलि माथि रहेको छ। यो अक्टोबरको अन्त्यमा देखिएको दरभन्दा थोरै बढी भए पनि २०२५ को सुरुमा रहेको ७ प्रतिशतभन्दा माथिको दरहरूको तुलनामा निकै कम हो। आवास बजारमा प्रवेश गर्ने अवसरको पर्खाइमा रहेका ऋणीहरूका लागि यसले वास्तविक सुधार देखाउँछ।
७ लाख ५० हजार डलरको दायरामा मोर्गेज ऋण हेरिरहेका घर खरीदकर्ताहरूका लागि यी दर परिवर्तनहरूले प्रत्येक महिना तिर्नुपर्ने रकममा ठूलो प्रभाव पार्न सक्छ। यति उच्च रकममा तपाईंले पाउनुहुने दरले या त तपाईंको बजेटलाई असहज रूपमा कसिलो बनाउन सक्छ वा तपाईंलाई घरको स्वामित्वको आनन्द लिनको लागि सहजता दिन सक्छ। त्यसैले यदि तपाईं ७ लाख ५० हजार डलरको मोर्गेज ऋण लिने विचार गर्दै हुनुहुन्छ भने आजको कम ब्याजदरको वातावरणमा तपाईंको मासिक भुक्तानी कस्तो देखिन सक्छ भनी जान्नु आवश्यक छ ।
६ दशमलव २२ प्रतिशतमा ३० वर्षे मोर्गेज दरमा तपाईंको मासिक भुक्तानी ४ हजार ६ सय ३ डलर हुनेछ। तर ५ दशमलव ५प्रतिशतमा १५ वर्षे मोर्गेज दरमा तपाईंको मासिक भुक्तानी ६ हजार १ सय २८ डलर हुनेछ। बचत कति हुन्छ भनेर बुझ्नका लागि अघिल्ला दर अवधिहरूसँगको तुलना आवश्यक छ। उदाहरणका लागि जनवरी २०२५ मा मोर्गेज दरहरू वास्तविक रूपमा उच्च थिए, जसको औसत ३० वर्षे मोर्गेज ऋणमा ७ दशमलव ०४ प्रतिशत दर थियो भने साढे ७ लाखको मोर्गेजमा मासिक भुक्तानी ५ हजार ९ डलर थियो ।
अहिले साढे ७ लाख डलरको ३० वर्षे मोर्गेज लिने ऋणीले जनवरीको तुलनामा दरहरू घटेकाले मासिक ४०५ डलरभन्दा बढी र वार्षिक ४ हजार ८६ सय ६० डलर भन्दा बढी बचत गर्छ। अक्टोबर २०२४ मा पनि मोर्गेज दरहरू आजको भन्दा उच्च थिए । साढे ७ लाखको ३० वर्षे मोर्गेज ऋणका लागि ६ दशमलव ७२ प्रतिशतको दरमा मासिक भुक्तानी ४ हजार ८ सय ४९ डलर थियो । गतबर्षको अक्टोबरको तुलना गर्दा ३० वर्षे मोर्गेज ऋणमा बचत अझै पनि मासिक २४६ डलर भन्दा बढी र वार्षिक २,९५२ डलर भन्दा बढी हुन्छ।
केही घर मालिकहरूले आजको दरहरूले रिफाइनान्स गर्न लायक छ कि छैन भनेर पनि विचार गरिरहेका हुन सक्छन्। साढे ७ लाख डलरको रिफाइनान्स गरिएको मोर्गेजको आजको औसत लागत हेर्दा ६ दशमलव ५ प्रतिशत दरमा ३० वर्षे रिफाइनान्स गर्दा मासिक भुक्तानी ४ हजार ७ सय ४० डलर हुन्छ । मोर्गेज दर औसत ७ प्रतिशतको दायरामा हुँदा दर निश्चित गरेका घर मालिकहरूका लागि रिफाइनान्स गर्दा उनीहरूको मासिक भुक्तानी घटाउन वा ठूलो उकालो बिना ऋणको अवधि छोटो बनाउन सक्छ। तर ऋणीहरूले क्लोजिङ लागत, ब्रेक इभन टाइमलाइन र उनीहरू घरमा कति लामो समय बस्ने योजनामा छन् भन्ने कुरालाई पनि विचार गर्नुपर्छ । यी सबै कारकहरूका कारणमात्र रिफाइनान्स गर्दा समयसँगै साँच्चै पैसा बचत गर्छ कि गर्दैन भन्ने कुरा निर्धारण गर्न सक्छन्।
अहिले मोर्गेज दरहरु फेडरल रिजर्भको भर्खरको कटौतीले नरम भएका छन् । जसले गर्दा अहिले घर किन्नेहरुका लागि २०२५ को सुरुतिर वा २०२४ को अन्त्यतिरको तुलनामा मासिक मोर्गेज भुक्तानी कम हुनेछ । अहिले खरीदकर्ताहरूले ती अघिल्ला दर वातावरणको तुलनामा प्रत्येक महिना सयौं डलर बचत गर्ने अपेक्षा गर्न सक्छन्। र उच्च दरमा ऋण लिएका वर्तमान घर मालिकहरूका लागि रिफाइनान्सले उनीहरूको विद्यमान दर र दीर्घकालीन योजनाहरूमा निर्भर गर्दै थप बचत कायम गर्न सक्छ।








