इजरायल र हमासबीचको युद्धमा मारिएका विपिन जोशीको शव स्वदेश ल्याइयो
प्रकाशित मिति : कार्तिक ३, २०८२ सोमबार
इजरायल र हमासबीचको युद्धमा मारिएका नेपाली युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । जोशीको शव फ्लाइ दुबईको विमानमार्फत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू तथा अन्य उच्च सरकारी अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् । आइतबार इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा स्वर्गीय विपिनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जोशीको शव नेपाली सेनाको समन्वयमा सोमबार नै कञ्चनपुरस्थित उनको घरमा लैजाने तयारी भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विद्यार्थी विपिन जोशीको ७ अक्टोबर २०२३ मा हमासले गरेको आक्रमणपछि बेपत्ता थिए । हमासको नियन्त्रणमा रहेका उनको अवस्था अज्ञात रहेको थियो । इजरायल र हमासबीचको युद्ध विरामपछि हमासले जोशीको शव इजरायललाई फिर्ता गरेको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।
विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।








