नेपालमा संविधानको पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्ने अमेरिकी विदेशमन्त्रीको भनाई
प्रकाशित मिति : आश्विन १, २०८२ बिहीबार
अमेरिकी विदेशमन्त्री मार्को रुबियो (फ्रेडी एभरेट/ विदेश मन्त्रालयको आधिकारिक तस्बिर)
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक वक्तव्य जारी गर्दै सेप्टेम्बर १९ मा नेपालको संविधान दिवस मनाइरहँदा अमेरिकाको सरकारको तर्फबाट नेपालका जनतालाई बधाई ज्ञापन गरेका छन् । उनले आगामी महिनाहरूमा चुनावको तयारी भइरहँदा लोकतान्त्रिक समाधान प्राप्त गर्नका लागि देशको संविधानलाई पालन गर्ने पारदर्शी सरकारको लागि नेपाली जनताको चाहनालाई अमेरिकाले समर्थन गर्ने बताएका छन् ।
भर्खरैका विरोध प्रदर्शनहरूमा ज्यान गुमाएकाहरूप्रति अमेरिकाले पनि नेपालका जनतासँगै शोक मनाउने उल्लेख गर्दै वक्तव्यमा विदेशमन्त्री रुबियोले मारिएका र घाइते भएकाहरूका परिवारप्रति समवेदना प्रकट गरेका छन् । नेपालका जनता आर्थिक विकासलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सुदृढ गर्ने र सबैको लागि समृद्धि प्रवर्द्धन गर्ने कुरामा केन्द्रित उज्ज्वल भविष्यको लागि योग्य भएको उनले बताएका छन् ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात र ऊर्जा पूर्वाधारको विस्तारलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, र दीर्घकालीन आर्थिक विकासलाई अगाडि बढाउनुका साथै यसले अमेरिका- नेपाल साझेदारीलाई पनि सुदृढ गर्ने रुबियोको भनाई छ । साथै अमेरिकी कम्पनीहरूका लागि व्यापार अवसरहरू सिर्जना गर्ने उनको भनाई छ ।
वक्तव्यमा भनिएको छ – “हामी यस दिनमा नेपालका जनतालाई बधाई दिन्छौं । र दक्षिण एसियामा स्थायित्व प्रवर्द्धन गर्न तथा अझ सुरक्षित र थप सुदृढ विश्वमा योगदान गर्न नेपालसँगको घनिष्ट सहयोगलाई निरन्तरता दिन तत्पर छौं।”








