प्रधानमन्त्रीलाई भेटेर राजदूतले दोहोर्‍याए नेपालको शान्तिपूर्ण यात्रामा अमेरिकाको समर्थन


प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार

तस्वीर : काठमाडौंस्थित अमेरिकी दूतावास

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा प्रधानमन्त्री कार्की र राजदूत थम्प्सनबीच आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिइन् । साथै, उनले आगामी दिनमा पनि अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरिन् ।

सो अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरे । उनले यसअघि जस्तै प्राथमिकताका साथ नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त जनाए ।

अमेरिकी दूतावासका अनुसार राजदूत थम्प्सनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोर्‍याएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद्‌ व्यवस्थापन र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसिसी सम्झौताका प्राथमिकताहरूमा छलफल गरेको समेत दूतावासले जनाएको छ ।

दूतावासले उक्त भेटवार्ता र छलफलले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्‍याउने समेत विश्वास लिएको छ ।

राजदूतावासले भनेको छ, “अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद्‌ व्यवस्थापन, र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसिसी सम्झौताका प्राथमिकताहरूमा छलफल गर्नुभयो, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्‍याउँछ।”

गत भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजीको आन्दोलन हिंसात्मक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २६ शुक्रबार पूर्व प्रधानन्याधीशसमेत रहेकी कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

कार्की प्रधानमन्त्रीमा नियुक्त भएपछि दूतावासले नेपालको अन्तरिम सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको थियो । साथै, अमेरिकाले दुःखको यस घडीमा नेपालसँग शोकमा साथ रहेको पनि विश्वास व्यक्त गरेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com