अन्तरिम सरकार गठनपछि जनजीवन सहज, होटेलदेखि हिमालसम्म पाहुनाको स्वागतका लागि तयार


प्रकाशित मिति : भाद्र २७, २०८२ शनिबार

पोखराको लेकसाइडमा साइकल चलाएर गन्तव्यतर्फ जाँदै विदेशी पर्यटक।

नेपालमा हालैका घटनाक्रमपछि अवस्था सामान्य बनेपछि पर्यटन गतिविधि फेरि सहज बन्न थालेको छ । नेपाल पर्यटन बोर्डले शनिबार एक विज्ञप्ती जारी गर्दै नेपाल अहिले सुरक्षित, शान्त र विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार रहेको जनाएको छ ।

नेपालमा पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि दैनिक जनजीवन सहज बन्न थालेको छ । निषेधाज्ञा र यात्रामा लगाइएका प्रतिबन्ध हटेपछि नागरिकहरू आफ्ना कामकाजतर्फ फर्किएका छन्। व्यवसाय, कार्यालय र बजारहरू नियमित रूपमा सञ्चालन हुन थालेका छन् भने मुलुकभर आशा र विश्वासको वातावरण देखिएको बोर्डले जनाएको छ।

पर्यटन बोर्डले विशेष गरी युवापुस्तामाझ सुशासन र सामाजिक–आर्थिक समृद्धिप्रतिको विश्वास बढ्दै गएको जनाएको छ। अन्तरिम सरकारले तोकिएको समयमा निर्वाचन गराउने प्रतिबद्धता जनाएकाले जनविश्वास थप मजबुत भएको बोर्डले निष्कर्ष समेत निकालेको छ ।

बोर्डका अनुसार सार्वजनिक यातायात, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्। प्रमुख पर्यटन स्थलहरू, होटेल, रेस्टुरेन्ट र यात्रा सेवाहरू खुलेका छन् र पाहुनाहरूलाई सुरक्षित तथा आरामदायी वातावरणमा स्वागत गरिरहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पर्यटन बोर्डले पर्यटन व्यवसायी र सेवा प्रदायकहरू पूर्ण रूपमा सञ्चालनमा फर्किइसकेका भन्दै नेपाल भ्रमणमा आउने पर्यटकलाई कुनै असुविधा नहुने स्पष्ट पारेको छ।

नेपालको पर्यटन उद्योग विगतमा राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप र अन्य चुनौतीहरूका बीच पनि निरन्तर टिक्दै आएको छ। पर्यटन बोर्डले नेपालले बारम्बार पुनः उत्थान गरेर आफ्नो आकर्षण कायम राखेको बताएको छ।

“नेपाली जनताको अदम्य आत्मा, अन्तर्राष्ट्रिय पर्यटन समुदायको समर्थन र नेपालका हिमाल, संस्कृति तथा सम्पदाको आकर्षणले पर्यटन क्षेत्रलाई बलियो बनाउँदै ल्याएको छ,” विज्ञप्तिमा भनिएको छ।

पर्यटन बोर्डले आगामी दिनमा नेपालको पर्यटन अझ सबल भएर अघि बढ्ने विश्वास व्यक्त गरेको छ। नेपालले हिमालको अनौठो सुन्दरता, जीवन्त सांस्कृतिक परम्परा, र धार्मिक–ऐतिहासिक स्थलहरूको कारणले पर्यटकलाई निरन्तर आकर्षित गर्ने बोर्डले विज्ञप्तीमा उल्लेख समेत गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com