विपिनको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
प्रकाशित मिति : श्रावण २६, २०८२ सोमबार
तस्वीर स्रोत : अबुल हुसेन अन्सारीको फेसबुकबाट
कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका छन्। विपिनलाई हमासले बन्धक बनाएको छ।
उनीहरू सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर इजरायल गएका हुन्। विमानस्थलमा प्रवेश गर्दा उनीहरू निकै भावुक देखिन्थे।
‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ देखि परिवारको सम्पर्कमा छैनन्।
सोही दिन हमासको नेतृत्वमा रहेका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।
विपिनलाई हमासले बन्धक बनाएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी आएको छैन।
विपिनको उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल जारी राखे पनि कुनै ठोस उपलब्धि हासिल हुन सकेको छैन।
इजरायलले पद्मा र पुष्पालाई संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारी गरेको छ। इजरायल सरकारले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन उनीहरूलाई इजरायल बोलाएको हो।
उनीहरूलाई राष्ट्रसंघका पदाधिकारीहरूसँग भेटवार्ता गराउन अमेरिका पठाउने इजरायल सरकारको योजना छ। हमासको नियन्त्रणमा रहेका ५० जना बन्धकमध्ये २० जना मात्र जीवित रहेको अनुमान गरिएको छ।








