इजरायली आक्रमणबाट गाजामा मारिने पत्रकारको सङ्ख्या २२९ पुग्यो


प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार

गाजामा इजरायली आक्रमण सुरु भएदेखि हालसम्म मारिएका पत्रकारहरूको सङ्ख्या २२९ पुगेको छ। पछिल्लो पटक प्यालेस्टाइन टुडे समाचार एजेन्सीका सम्पादक तथा फोटोग्राफर अहमद सलामा अबु आइशाको मृत्युपछि यो सङ्ख्या पुगेको हो।

गाजाको सरकारी मिडिया कार्यालयले आज जारी गरेको विज्ञप्तिमा अबु आइशा मध्य गाजाको नुसिरात शरणार्थी शिविर नजिकै अल–सवारा क्षेत्रमा रहेको आफ्नो घरबाहिर इजरायली ड्रोन हमलामा मारिएको पुष्टि गरेको छ।

विज्ञप्तिमा गाजास्थित पत्रकारहरू ‘व्यवस्थित रूपमा लक्षित र हत्या’ गरिएको भन्दै गम्भीर निन्दा गरिएको छ। कार्यालयले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अरब पत्रकार महासङ्घसहित विश्वभरिका सबै पत्रकार संगठन तथा युनियनहरूलाई गाजामा सञ्चारकर्मीहरू विरुद्ध भइरहेका आक्रमणहरूको स्पष्ट निन्दा गर्न आह्वान गरेको छ।

मिडिया कार्यालयले मानव अधिकार सङ्गठनहरू र अन्तर्राष्ट्रिय समुदायलाई गाजामा भइरहेको ‘नरसंहारको अपराध’ विरुद्ध निर्णायक कदम चाल्न आग्रह गर्दै पत्रकारहरूलाई सुरक्षित राख्न, जानाजानी लक्षित आक्रमण रोक्न तथा अपराधीलाई अन्तर्राष्ट्रिय अदालतमार्फत जवाफदेही बनाउने व्यवस्था मिलाउन आह्वान गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मानव अधिकार संस्थाहरू र संयुक्त राष्ट्रसंघका विभिन्न प्रतिवेदनअनुसार इजरायली सेनाले गाजामा सञ्चारकर्मीहरू तथा मिडिया कार्यालयहरूलाई लक्षित गरी आक्रमण गर्दै आएको छ। हालसम्म ४०० भन्दा बढी पत्रकार घाइते भएका छन् भने दर्जनौँ पक्राउ परेका छन्। अधिकांश स्थानीय तथा अन्तर्राष्ट्रिय मिडिया संस्थाहरूका कार्यालयहरू ध्वस्त पारिएका छन्।

त्यस्तै, सबै स्थानीय रेडियो स्टेसनहरू पनि विस्थापन, विद्युत र इन्टरनेटको गम्भीर अभावका कारण सञ्चालनविहीन बनेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com