के अमेरिकामा १४ लाख कागजातविहीनले मेडिकेड गुमाउने बिल पारित भएको हो?
प्रकाशित मिति : जेष्ठ ११, २०८२ आईतबार
तस्बिर: अलेजान्ड्रो बार्बा
अमेरिकी प्रतिनिधि सभाबाट पारित भएको प्रस्तावित विधेयकलाई सिनेटले अनुमोदन गरेमा अमेरिकामा बसोबास गर्ने करिब १४ लाख कागजातविहीन आप्रवासीहरूले मेडिकेड गुमाउने ट्रम्प प्रशासन र रिपब्लिकन सांसदहरूले गरेको व्याख्या सत्य नभएको देखिएको छ। किनभने अमेरिकामा कागजातविहीन आप्रवासीहरू मेडिकेडका लागि योग्य नहुने प्रावधान रहेको छ।
उक्त विधेयकमा कागजातविहीनलाई स्वास्थ्य सेवा उपलब्ध गराउने राज्यहरूलाई बीमा कार्यक्रमका लागि दिइने संघीय अनुदान घटाउने प्रावधान समेटेको छ। मेडिकेड एउटा संघीय र राज्य सरकारको संयुक्त कार्यक्रम हो, जसले कम आय भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा प्रदान गर्छ। यद्यपि, अमेरिकाभित्र कागजातविहीन रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई आपतकालीन उपचारबाहेक मेडिकेड सुविधा दिइँदैन।
मे १६ मा ट्रम्पले ट्रुथ सोसियलमा लेखेको पोस्टमा रिपब्लिकन सांसदहरूलाई समर्थन गर्न आह्वान गर्दै यो विधेयकले लाखौं कागजातविहीन आप्रवासीहरूलाई मेडिकेडबाट हटाउने गलत दाबी गरेका थिए। रिपब्लिकन नेतृत्वको हाउस कमिटी अन एनर्जी एन्ड कमर्सले पनि मे १३ मा गरेको पोस्टमा विधेयकले १४ लाख कागजातविहीन आप्रवासीहरूलाई मेडिकेडबाट हटाउने गलत दाबी गरेको थियो।
वास्तवमा, स्वास्थ्य बीमा गुमाउने भनिएका १४ लाख आप्रवासीहरूसँग मेडिकेड नै छैन। उनीहरू राज्यमा आधारित कार्यक्रम अन्तर्गत बीमा गरिएका हुन्। स्वास्थ्य नीति अनुसन्धान समूह केएफएफका अनुसार वासिङ्टन डीसी र १४ राज्यहरूले आप्रवासन स्थितिको पर्वाह नगरी बालबालिकाहरूलाई समेट्न संघीय कोषको सट्टा राज्यकोषको रकम प्रयोग गर्दछन्। जसमध्ये सात राज्यहरू र वासिङ्टन डीसीले व्यक्तिको अध्यागमन स्थितिको पर्वाह नगरी बालबालिकाहरूमात्र नभई केही वयस्कहरूलाई पनि समेट्छन्।
“त्यसैले यस विधेयकका कारण लाखौं कागजात नभएका व्यक्तिहरूले मेडिकेड कभरेज गुमाउने छैनन्, किनकि उनीहरूसँग सुरुदेखि नै मेडिकेड अन्तर्गत व्यापक कभरेज छैन,” विज्ञहरू बताउँछन्। विधेयक अन्तर्गत आप्रवासीहरूलाई प्रदान गरिएको धेरै सीमित आपतकालीन मेडिकेड कभरेजमा कुनै परिवर्तन गरिएको छैन। आपत्कालीन मेडिकेड जस्तै बच्चा जन्माउँदा प्रदान गरिने स्वास्थ्य सुविधालाई भने यो विधेयकले कुनै असर नपार्ने देखिएको छ।
मेडिकेड खर्चको १ प्रतिशतभन्दा कम अमेरिकी नागरिक नभएका आप्रवासीहरूको लागि आपतकालीन हेरचाह कभर गर्न प्रयोग गरिन्छ। त्यो जानकारी २०१७ देखि २०२३ सम्मको आर्थिक वर्षहरूका रिपोर्टबाट आएको हो।








