अमेरिकीसहित एक वर्षमा ३३ हजार बढी विदेशी पर्यटक मनाङ भित्रिए


प्रकाशित मिति : बैशाख ६, २०८२ शनिबार

मनाङमा कोरोना कहर र बाढीपहिरोको प्रभावपछि विदेशी पर्यटक आगमन बढ्दै गएको छ । विसं २०८१ मा यहाँ ३३ हजार ६४८ विदेशी पर्यटक भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ ।

यहाँको प्राकृतिक सौन्दर्यता र संस्कृतिमा रमाउन पर्यटकको आगमन हुने गरेको छ । मनाङ भ्रमणका लागि दुई समयमा उत्कृष्ट मानिन्छ । दुई याममा गरी यस वर्ष ३३ हजार छ सय ४८ विदेशी पर्यटक जिल्लामा भित्रिएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए ।

उनले भने, “विस्तारै सडक सञ्जालको सहजता, प्राकृतिक सौन्दर्यताले विश्वका पर्यटकको आगमन बढ्दो छ । साथै आन्तरिक पर्यटकको पनि आगमन बढे पनि तथ्याङ्क भने राखिएको पाइदैन ।” उनका अनुसार बीस हजार १६१ पुरुष र १३ हजार ४८७ महिला विदेशी पर्यटकले यहाँका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् ।

भुजेलका अनुसार गत वर्ष एक सय २३ देशका नागरिकले अन्नपूर्ण पदमार्गका साथै मनाङका विभिन्न स्थानको भ्रमण गरेका छन् । उनले भने, “विसं २०८१ मा सबैभन्दा बढी तीन हजार ३८८ जना फ्रान्सका नागरिकले मनाङ भ्रमण गरेका छन् ।” इजरायल, जर्मनी, भारत, बेलायत, अमेरिका, अस्टे«लिया, चीन, नेदरल्याण्ड, रसिया, पोल्याण्डलगायत मुलुकका नागरिकले मनाङ भ्रमण गरेका उनले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैभन्दा बढी कात्तिकमा नौ हजार २७९ विदेशी पर्यटक यहाँ आएका प्रमुख भुजेलले जानकारी दिनुभयो । उनका अनुसार सबैभन्दा कम साउनमा दुई सय ५२ विदेशी पर्यटकको आगमन भएको छ । मनाङ भ्रमणका लागि मौसम अनुकूल हुने समयमा स्वदेश तथा विदेशी पर्यटकको आगमन वृद्धि हुँदै गएको एक्यापले जनाएको छ ।

“अहिले नेपाली नागरिकमा पनि भ्रमणमा जाने प्रचलन बढ्दै गएको छ । जोखिमयुक्त भ्रमण गर्ने र ग्रामीण पर्यटनको प्रवर्द्धनमा आन्तरिक पर्यटक पनि जोडिन थालेका छन् । यसले मुलुकमा रहेका पर्यटकीय गन्तव्य प्रचारप्रसार र पर्यटन प्रवर्द्धन भइरहेको छ”, कार्यालय प्रमुख भुजेलले भने, “विदेशी पर्यटक विशेषगरी यहाँको मानवीय जिन्दगीको आभास गर्न र मौलिक संस्कृतिका साथै प्राकृतिक सौन्दर्यतामा रमाउन आउने गरेका छन् ।”

तालगाउँका पर्यटन व्यवसायी एवं होटल पिसल्याण्डका सञ्चालक गुरुप्रसाद गुरुङले अहिले पर्यटकको आकर्षण बढ्दै गएको बताए । उनका अनुसार स्वदेशी तथा विदेशी गरी दैनिक आउने पर्यटकको सङ्ख्या करिब दुई सयले बढेको छ । पर्यटकीय याममा अन्य समयको तुलनामा बढी पर्यटक आउने गरेका उनको भनाइ छ । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आगमन हुने गर्दछ ।

विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गमध्येको अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सहज भएपछि चामे, खाङ्सारसम्म सवारीसाधनमार्फत पर्यटक पुग्ने गरेका छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा तय हुन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com