बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान


प्रकाशित मिति : चैत्र १९, २०८१ मंगलबार

बैंकक प्रस्थान गर्ने क्रममा प्रम ओली काठमाडौँ, १९ चैतः प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंकक प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिरः रत्न श्रेष्ठ÷रासस

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैङ्कक प्रस्थान गरेका छन् ।

थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले बिदाइ गरेका थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओली र उनका थाई समकक्षीबीच नेपाल–थाइल्याण्ड सम्बन्धका विविधि विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनेछन् । सोही दिन उनले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक हुनेछन् ।

शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता हुनेछ ।

प्रधानमन्त्रीका साथ प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक एवं विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याललगायत छन् । प्रधानमन्त्री ओली यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकोले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन् ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उपप्रधानमन्त्री सिंहलाई उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com