अमेरिकाले नयाँ प्रकारका २ वटा गैर आप्रवासी भिसाहरु थप्दै, १८० दिनसम्म बस्न अनुमति दिइने


प्रकाशित मिति : भाद्र २१, २०८१ शुक्रबार

अमेरिकी सरकारले सेप्टेम्बर ५, २०२४ देखि दुई नयाँ भिसा वर्गीकरण लागू गर्ने घोषणा गरेको छ। यी भिसाहरू गैर नागरिकहरूलाई अमेरिकी भूमिमा प्रवेश गरेर विदेशी व्यापारमा संलग्न जहाजमा सामेल हुन र जहाजदेखि जहाजसम्म तरल कार्गो स्थानान्तरणको लाइटरिङ गतिविधिहरू गर्न अनुमति दिनेछन्।

नयाँ भिसा वर्गीकरण अन्तरगत सीफोर भिसाले गैर नागरिकहरूलाई लाइटरिङ जहाजमा सामेल हुन अमेरिकी भूमिमा प्रवेश गर्न अनुमति दिन्छ। त्यस्तै डी थ्री भिसाले गैर नागरिकहरूलाई लाइटरिङ गतिविधिहरू गर्न अनुमति दिन्छ। थप रूपमा, आवेदकहरू सीफोर डीथ्री संयोजन भिसाका लागि पनि योग्य हुन सक्छन्। सीवान र सीवानडी भिसा वाहकहरूको अमेरिकी भूमिमा बसाइ २९ दिन भन्दा बढी हुन नसक्ने भए पनि सीफोर र डीथ्री भिसा वाहकहरूलाई १८० दिनसम्म बस्न अनुमति दिइनेछ।

यी नयाँ भिसा वर्गीकरणहरूले अमेरिकी भूमिमा लाइटरिङ गतिविधिहरूमा संलग्न हुन चाहने गैर नागरिकहरूलाई थप सुविधा प्रदान गर्नेछन्। अमेरिकामा आप्रवासी र गैर आप्रवासी श्रेणीमा विभिन्न प्रकारका भिसाहरु उपलब्ध रहेका छन् । हरेक प्रकारका भिसाका फरक फरक नियमहरु रहेका छन् ।

अमेरिकामा कुन भिसामा कतिदिनसम्म बस्न पाइन्छ? कुन भिसा थपको आवेदन दिन पाइन्छ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका नियमहरू र सञ्चालन निर्देशनहरूले फरकफरक गैरआप्रवासीहरूको लागि प्रवेशको अधिकतम प्रारम्भिक अवधिलाई अनुमति दिन्छ भने फरक फरक भिसाहरु थपका लागि आवेदन दिने प्रावधानबारे पनि फरक फरक नियमहरु रहेको छ ।

अमेरिकामा आफूलाई कतिसमय बस्न अनुमति दिइएको छ भनेर जाँच्ने एकमात्र र भरपर्दो तरिका भनेको अनलाईनमा आफ्नो आई ९४ चेक गर्नु हो । अमेरिका प्रवेश गरे लगत्तै सीबीपीको वेवसाइटमार्फत आफ्नो आई ९४ चेक गर्नुपर्छ जसमा आप्रवासी भिसावाहक कहिलेसम्म अमेरिकाबस्न सक्छन् र कहिलेसम्म फर्कनुपर्छ भनेर उल्लेख गरिएको हुन्छ । विगतमा कागजी आई ९४ प्रदान गरिदै आएकोमा यो अब डिजिटल भइसकेको छ ।

कूटनीतिज्ञ वा विदेशी सरकारी अधिकारीलाई प्रदान गरिने एवान भिसा फर्कने अवधि उल्लेख गरिएको हुँदैन । अर्थात् डीएस (ड्युरेशन अफ स्टाटस) लेखिएको हुन्छ । विदेशी सरकारको अनुरोध अनुसार अमेरिकी विदेशमन्त्रालयबाट मान्यताको नवीकरण भएको अवधिसम्म यो भिसामा अमेरिका बस्न सकिन्छ । अर्थात् छुट्टै भिसा थपका लागि आवेदन दिइरहनु पर्दैन । अन्य विदेशी सरकारी अधिकारी वा पूर्णकालिन कर्मचारीहरुका लागि प्रदान गरिने एटु श्रेणीको भिसामा पनि यही नियम लागु हुन्छ ।

कूटनीतिज्ञ र सरकारी अधिकारीहरूका लागि व्यक्तिगत कर्मचारी, परिचर, वा घरेलु कामदारहरूले पाउने ए थ्री भिसामा पनि नियम थोरै फरक छ । यो भिसामा अधिकतम ३ बर्षसम्म अमेरिकामा बस्न पाइन्छ भने दुई वर्षको लागि भिसा अवधि थप्न पाइन्छ । तर त्यसका लागि औपचारिक रुपमा शुल्क तिरेर आवेदन दिनुपर्छ । भिजिटर भिसा बी वानका लागि अमेरिकामा अधिकतम १ बर्षसम्म बस्न अनुमति दिइनसक्छ । तर सामान्यतया ६ महिनासम्मको अवधि दिइनेभएतापनि पोर्ट अफ इन्ट्रीमा अधिकारीले अधिकतम १ बर्षसम्मको अवधि दिनपाउने अधिकार छ । अमेरिका आइसकेपछि थप ६ महिनाका लागि भिसा थपको आवेदन दिनसकिन्छ । धार्मिक नोट भएकाहरुले १ बर्ष भिसा थपको आवेदन दिनसक्छन् । असाधारण अवस्था आएमा त्यसपछि पनि भिसा थपका लागि आपेदन दिन सकिन्छ । बी टु श्रेणीको भिसामा पनि यही नियम लागु हुन्छ ।

भिसा वेभर कार्यक्रम अन्तरगत ९० दिनको अन अराइभल भिसा थपका लागि अमेरिकामा आवेदन दिन मिल्दैन । त्यस्तै ट्रान्जिट भिसाका सन्दर्भमा पनि भिसा थपको आवेदन दिन मिल्दैन । यो भिसामा अमेरिकामा अधिकतम २९ दिनसम्म बस्न पाइन्छ । विदेशी नागरिकहरूलाई संयुक्त राष्ट्र संघको मुख्यालय क्षेत्रमा निरन्तर ट्रान्जिटका रुपमा यात्रा गर्नका लागि सी टु भिसा दिइन्छ, यो भिसामा आवश्यक पर्दासम्म बस्न सकिने भएकाले भिसा थपको आवेदन दिनु पर्दैन । तर सरकारी अधिकारीहरू र तिनीहरूका परिवारहरू, परिचरहरू, कामदारहरु र कर्मचारीहरूलाई देश मार्फत ट्रान्जिट गर्ने उद्देश्यका लागि अमेरिका यात्रा गर्न अनुमति दिने सी थ्री भिसामा भने अधिकतम २९ दिन बस्न पाइन्छ, भिसा थपको लागि आवेदन दिन पाइदैन ।

क्रूमेम्बरलाई प्रदान गरिने डी भिसामार्फत अमेरिकामा व्यावसायिक समुद्री जहाज वा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूमा काम गर्न अनुमति पाइन्छ तर यो भिसामा पनि अधिकतम २९ दिनसम्म अमेरिकामा बस्न पाइन्छ भने भिसा थपको आवेदन दिन पाइदैन । सन्धि व्यापारीहरूलाई प्रदान गरिने ईवान भिसामा अमेरिकामा अधिकतम २ बर्ष बस्न पाइन्छ । तर थप अवधि बस्नु परेमा कामदार भिसा आई १२९ का लागि आवेदन दिनुपर्छ । त्यस्तै अमेरिकामा विद्यार्थी भिसा एफ वानमा पढाई चलुन्जेल जति अवधि पनि बस्न पाइन्छ । आई २० अद्यावधिक हुँदासम्म भिसा थपका लागि छुट्टै आवेदन दिनुपर्दैन । विद्यार्थी भिसाका डिपेन्डेन्टहरुको एफ टु भिसा एफ वान भिसा वाहकको भिसा अद्यावधिक रहँदासम्म कुनै समस्या हुँदैन ।

अन्तर्राष्ट्रिय संगठनका अधिकारीहरू र कर्मचारीहरू र उनीहरूको नजिकका परिवारका सदस्यहरूलाई प्रदान गरिने जीवान देखि जी फोरसम्मका भिसामा भिसा फर्कने अवधि उल्लेख गरिएको हुँदैन । अर्थात् डीएस (ड्युरेशन अफ स्टाटस) लेखिएको हुन्छ । तोकिएको कामको अवधिसम्म यो भिसामा अमेरिका बस्न सकिन्छ । अर्थात् छुट्टै भिसा थपका लागि आवेदन दिइरहनु पर्दैन । तर ती भिसावाहकका व्यक्तिगत कर्मचारीलाई दिइने जी फाइभ भिसामा भने अधिकताम ३ बर्ष बस्न पाइन्छ भने २ बर्षका लागि भिसा थपको आवेदन दिन सकिन्छ ।

कामदार भिसा एचवानबीमा अमेरिकामा ३ बर्षसम्म बस्न पाइन्छ । यो भिसा थप गरेर कुल अवधि ६ बर्षसम्म बस्न पाइन्छ तर त्यसका लागि कामदार भिसा आवेदन आई १२९ पेश गर्नुपर्छ । अस्थायी कामदार भिसा एचटु ए र एच टु बीमा १ बर्षसम्म बस्न पाइन्छ । रोजगारदाताले एक वर्षको विस्तार सहित थप दुई वर्षको लागि पुन प्रमाणीकरणको लागि आवेदन दिन सक्छ, तर प्रत्येक नयाँ आवेदनमा रोजगारदाताले नवीकरण अनुरोधको कारणलाई औचित्य दिनुपर्छ। यी भिसाका डिपेन्डेन्टहरु मुल भिसा वाहकको भिसाको अवधि कायम रहँदासम्म अमेरिका बस्न पाउँछन् ।

गैरआप्रवासी प्रशिक्षार्थी वा विशेष एजुकेशन एक्चेन्ज भिजिटरलाई प्रदान गरिने एच ३ भिसामा अधिकतम २ बर्ष बस्न पाइन्छ । यो भिसा थपका लागि आवेदन दिन पाइदैन । त्यस्तै पत्रकारहरुलाई प्रदान गरिने आई भिसामा उक्त पत्रकारिताको जागिरमा रहँदासम्म अमेरिकामा बस्न पाइन्छ । भिसा थपको आवेदन दिनुपर्दैन । त्यस्तै एक्सजेन्ज भिजिटर जे वान भिसामा डीएस २०१९ मा उल्लेख भएको अवधिले थप ३० दिन अमेरिका बस्न पाइन्छ । कार्यक्रम पूरा गर्न थप समय आवश्यक परेमा भिसा थपको गर्न सकिन्छ । मुल भिसा वाहकको जेवान भिसा कायम रहँदासम्म जे टु डिपेन्डेन्टहरु अमेरिकामा बस्न पाउँछन् ।

अमेरिकी नागरिकका मंगेतरहरुका लागि प्रदान गरिने के वान भिसामा ९० दिन अमेरिका बस्न पाइन्छ । ९० दिनभित्र विवाह गर्नुपर्छ वा फर्कनुपर्छ । भिसा थपको लागि आवेदन दिन पाइदैन । केवान भिसा वाहकका छोराछोरी भने बुबाआमाले ९० दिनभित्र विवाह नगरेमा बाँकी ३० दिनभित्र फर्कनुपर्छ । भिसा थपका लागि आवेदन दिन पाइदैन । इन्ट्रा कम्पनी स्थानान्तरण एल वान भिसामा अधिकतम ३ बर्षसम्म बस्न पाइन्छ । एकपटकमा २ बर्षका दरले भिसा थपको आवेदन दिन पाइन्छ । तर अधिकतम ७ बर्षभन्दा बढी बस्न पाइदैन । आफ्नो भिसा थपका लागि कसरी र कहिले आवेदन दिने, आवेदन दिन पाउने नपाउने भन्नेबारे युएससीआईएस वा लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई समयमै सम्पर्क गर्नुपर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com