५५ वर्षदेखि सुदूरमा देउडा खेलाउँदै रामदत्त जोशी


प्रकाशित मिति : भाद्र १६, २०८१ आईतबार

देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन् । पचहत्तर वर्षीय जोशीको जोश युवा अवस्थाको जस्तै छ । बैतडीको दशरथचन्द नगरपालिका–९ मा जन्मनुभएका उहाँ देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना हुने देउडा कार्यक्रममा पुग्ने गर्नुभएको छ ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा देउडा कार्यक्रम आयोजना गरिएको थियो । ती सबै ठाउँमा देउडा खेलाउन पुग्नुहुन्छ जोशी । बैतडीका देउडा कार्यक्रममा सहभागी भएर उहाँ देउडा खेल्नका लागि ग्वाल्लेकबाट महेन्द्रनगर पुग्नुभयो । देउडा खेलाउन माहिरजोशी सम्भव भएसम्म सुदूरका सबै बस्तीमा पुग्ने गर्नुहुन्छ । छब्बिस वर्षको उमेरदेखि देउडा खेल्न सुरु गर्नुभएका जोशी सुदूरपश्चिमका नौवटै जिल्ला पुगेर देउडा खेलाउने गर्नुहुन्छ ।

“१४/१५ वर्षको उमेरमा गोठालो जाँदा गीत गाउँथे देउडा खेलाउन थालेको २६ वर्षको उमेरदेखि हो”, जोशीले भन्नुभयो, “मैले सुदूरमा देउडा खेलाउन थालेको ५५ वर्ष भइसक्यो ।” देउडा खेल्दा छुट्टै आनन्द प्राप्त हुने जोशीको भनाइ छ । “मान्छे बूढो भए पनि मन बूढो हुँदैन”, गीतकार जोशीले भन्नुभयो, “१६ वर्षको उमेरदेखि देउडामा रमाउन थालेँ, आनन्द लाग्छ सबैसँग भेट हुन्छ । उहाँले देउडा खेल्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको बताउनुभयो ।

देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्ने भएकाले आफूलाई यसैमा आनन्द लाग्ने गरेको जोशीले बताउनुभयो । “देउडा भनेको मनोरञ्जनका लागि गाउने गीत हो”, उहाँले भन्नुभयो, “आफू दुःखमा भए पनि देउडा नजिक पुग्यो भने आनन्द मिल्छ ।” देउडा मनोरञ्जन मात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत जान्न सकिने उहाँको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

देउडामा श्रीकृष्ण लीला, रामलीला वा गाउँको कथालाई गीतका माध्यमबाट गाउने गरेको जोशीले उल्लेख गर्नुभयो । “गीतमार्फत सवालजवाफ हुँदा पुराना कुराहरु जान्ने अवसर मिल्छ । साथै मनोरञ्जन हुने, हाम्रो पुर्खा र देवीदेवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।” देउडामा गीतकारले देवीदेवताको गाथा, इतिहास, संस्कृति र देशको वर्तमान अवस्थाका बारेमा गीतमार्फत सवालजवाफ हुने उहाँको भनाइ छ ।

सुदूरपश्चिममा रामदत्त जोशी भन्नेबित्तिकै युवादेखि पाका पुस्तासम्म आकर्षित हुने गरेको उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन् । “उहाँको संस्कृतिप्रतिको अथाह प्रेम छ”, देउडिया (गीतकार) रमेश पन्तले भन्नुभयो, “उहाँले सुदूरपश्चिमभरि देउडा खेलाइसक्नुभएका जोशी ७५ वर्षको उमेरमा पनि युवा अवस्थाको जस्तै उत्साहित देखिनुहुन्छ ।”

गीतकारलाई तत्कालै प्रतिउत्तर दिन सब्ने क्षमता भएका जोशीले विशेषगरी संस्कृति र इतिहाससँग सम्बन्धित विषयवस्तुलाई देउडाका माध्यमबाट उठाउने गरेका पन्तले बताउनुभयो ।

देउडामा विम्ब र अलङ्कार सिर्जना गर्नसक्ने र तुरुन्तै प्रतिउत्तर दिनसक्ने देउडीकाका रुपमा जोशी सुदूरपश्चिममा चिनिने साहित्यकार कविराज भट्टले बताउनुभयो । “जोशी व्यङ्ग्यमा पनि पोख्त छन् र मनोरञ्जन दिनसक्ने अदभूत क्षमता छ”, उहाँले भन्नुभयो, “उहाँमा पौराणीय कुराको ज्ञान पनि धेरै छ ।”

आफूले सानै उमेरमा बैतडीको देहिमाण्डौँ मेलामा जोशीलाई देउडा खेलाउन देखेको भट्टले सम्झनुभयो । “तीस वर्षअघि जुन जोशका साथ देउडा खेलाउँथे अहिले पनि उस्तै छ”, उहाँले भन्नुभयो, “उतिबेला पनि रामदत्त जोशीकै देउडा हेर्न भनेर गाउँगाउँबाट मान्छे देहिमाण्डौँ पुग्थे ।” जोशीसँग सुदूरको संस्कृति र इतिहासको ज्ञान रहेकाले नयाँ पुस्ताले पनि उहाँबाट धेरै कुरा सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवै रुपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलोघेरामा एकआपसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालका आधारमा डेड पाइला अगाडि र डेढपाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरु बताउँछन् । देउडामा देव गाथाहरूलाई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिन्छ ।

देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहरी हुने गर्दछ । यसमा एउटाले प्रश्न सोध्ने र अर्कोले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ । देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने गरेको छ ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी पुरुष, युवा पाका सबै पुस्ताले खेल्न पाउँछन् । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com