श्रीमान श्रीमतीबिचको सम्वन्ध किन कमजोर भइरहेको छ ? कानूनी प्रावधान के छ


प्रकाशित मिति : बैशाख १९, २०८१ बुधबार

रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गएको बर्ष रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आर्थिक वर्षको ९ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन् । रसुवाको यो बिबरण प्रतिनिधिमुलक मात्रै हो ।

यस्ता मुद्धा देशभरका अदालतमा बढिरहेका छन । सम्वन्ध बिच्छेदका घटना बढिरहेका यस्ता खालका तथ्याङहरुले पुष्टि गर्दछ । अधिकांश सम्बन्धविच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन् भने केही पुरुषले दर्ता गराएका छन् । वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट नै अधिकांश मुद्दा दर्ता भएका छन् ।

पति र पत्नीबीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरुप पति पत्नीबीचको नाता सम्बन्धको त्यागपत्र नै सम्बन्धविच्छेद हो । नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्था मुलुकी देवानी सहिता २०७४ को परिच्छेद ३ बमोजिम व्यवस्था गरेको छ ।

सम्बन्ध विच्छेदपछि श्रीमान, श्रीमतीको अस्तित्व कानूनी रुपमा समाप्त गरी दुवै पक्षलाई स्वतन्त्रता प्राप्तिको लागि चालिने कानूनी हक नै सम्बन्धविच्छेद हो ।
नेपालको कानूनले आपसी सहमतिमा र अदादतको आदेश मार्फत हुने सम्वन्ध बिच्छेदलाई प्रबन्ध गरेको छ ।

डिसोर्भ नेपालका अनुसार मुलुकी देवानी सहिता २०७४ दफा ९३ बमोजिम बमोजिम पति पत्नी दुबैले चाहेमा जुनसुकै बेला सम्बन्ध विच्छेद गर्न सकिन्छ । दुबै पति पत्नी मध्ये कसैको गल्ती नभएपनि आपसी सहमतिमा जुनसुकै बेला सम्बन्ध विच्छेद गर्न सकिन्छ ।

आपसी सहमतिमा सम्बन्ध विच्छेद गर्दा प्रायजसो श्रीमतीले श्रीमान सँग अंशको दाबी नलिई सम्बन्ध विच्छेद गर्दछन् । सम्बन्ध विच्छेद गर्दा सम्पत्ति लिन पाउने पत्नीको कानूनी अधिकार हो । छिटो सम्बन्ध विच्छेद गर्ने भनेर प्राय व्यक्तिले अशं नलिई सम्बन्ध बिच्छेद गर्दछन् ।

यदि पति पत्नी बीच झगडा भई कानूनले सम्बन्ध विच्छेद गर्न पाउने अवस्था सृजना भएमा सम्बन्ध विच्छेदको लागि अदालतमा मुद्दा दायर गर्नुपर्दछ ।
अदालतमा सम्बन्ध विच्छेदको लागि पति र पत्नीका लागि भिन्दा भिन्दै अवस्था सृजना गरेको छ । पतिले चार अवस्था सृजना भएमा सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउने छ ।

पहिलो अवस्था कानून बमोजिम अंश लिई भिन्न भएको अवस्था वा पत्नीले पतिको मञ्जुरी नलिई लगातार ३ वर्ष वा सोभन्दा बढी समयदेखी अलग बसेको अवस्था भएको हुनु पर्दछ । दोस्रोमा पत्नीले पतिलाई खान लाउन नदिई घरबाट बाहिर निकाला गरिदिएको अवस्था हुनु पर्दछ । तेस्रो आधारमा पत्नीले पतिलाई अङ्ग भङ्ग हुने गरी कुटपिट गरेमा शारीरिक र मानसिक कष्ट हुने कार्य गरेको हुनु पर्दछ ।

अन्तिम तथा चौथौ आधारमा पत्नीले अन्य पुरुषसग यौन सम्बन्ध राखेको ठहरेमा पतिले सम्बन्ध विच्छेदको लागि निवेदन दिन पाउछन् । त्यस्तै कानून बमोजिम ६ अवस्थामा पत्नीले सम्बन्ध विच्छेदको निवेदन दिन पाउछन् । माथि उल्लेख भएका ४ अवस्था बाहेक थप २ अवस्था अर्थात पतिले अर्को विवाह गरेमा र पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा पत्नीले पतिमाथि सम्बन्ध विच्छेदको निवेदन दिन पाउछन ।

यस्तो सम्बन्ध विच्छेदमा अदालतले उचित प्रमाण बुझेर सकेसम्म दुबैलाई मिलापत्र गर्नको लागि अदालतले पहल गर्दछ । मिलेर बस्न सकिँदैन भने छुट्टिएर बस्नु स्वाभाविक हो । यही मनसाय र उद्देश्यले नै कानूनमा सम्बन्धविच्छेदको व्यवस्था गरिएको हो। तर सँगै मिलेर बस्न सकिने सम्भावनाको खोजी नै नगरी हतारमा छुट्टिन खोज्ने निर्णय अपरिपक्व हो ।

समस्यालाई समयमै सम्बोधन गरिएन भने ठूलो रूप लिन सक्दछ र बेमेल र हिंसाबाट अर्को ठूलो अपराध जन्मिन पनि सक्छ । त्यसैले समस्याको सहज र समयमै निकास दिनु पनि स्वस्थ र सकारात्मक अभ्यास मानिन्छ ।

विवाह विच्छेदका लागि सम्वन्धित विवाहित जोडीमात्र जिम्मेवार हुँदैनन्। उनीहरुका घर परिवार र आफन्तहरुको सोच, व्यवहार, कार्यशैली, पारिवारिक मान्यता र अभ्यासले पनि विच्छेदको मनोविज्ञानलाई मलजल गरिरहेको हुन्छ।

न्यायाधिस हेमन्त रावलका अनुसार युवा पुस्ताको मनोभावलाई नबुझ्नु, संस्कारका नाममा पारिवारिक बन्धनमा राख्न खोज्नु, उ हुर्केको परिवार, सँस्कार र वातावरणको ख्याल नगरेर आफूअनुकूल मात्रै बनाउन खोज्नु र आफूमै आश्रित बनाई राख्न खोज्ने प्रवृत्तिले आफ्नो भविष्यको स्वतन्त्र सम्भावना बोकेको दम्पतीमध्येको एउटालाई त्यो अवस्था असहज लाग्नु र आनन्दित महसुस गर्नुपर्ने वैवाहिक सम्बन्धलाई बोझ महसुस गर्दै जाने अवस्थाले पनि विच्छेदको सम्भावनालाई बल पुर्याइरहेको रहेको हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com