वन डढेलोका कारण वायु प्रदूषण , श्वासप्रश्वासमा समस्या आउनसक्ने चिकित्सकको भनाई


प्रकाशित मिति : चैत्र २६, २०८० सोमबार

मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ ।

काठमाडौँको सोमबार वायु गुणस्तर सूचकाङ्क एक्यूआई १ सय ६५ छ । वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई १ सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ । “वायु गुणस्तर सूचकाङ्क एक्यूआई शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ”, थापाले भन्नुभयो ।

अभियन्ता थापाका अनुसार नेपालमा साधरणतया वर्षमा २ हजार ५ सयको हाराहारीमा डढेलाको घटना घट्छन् । “असी प्रतिशत वन डढेलाको घटना फागुन मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “मध्य फागुनदेखि जेठ मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क हुनु जरुरी हुन्छ ।”

अमेरिकास्थित द नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन नासाको वेवसाइटको तथ्याङ्कअनुसार सोमबार दिउँसो मुलुकका विभिन्न १ सय ३० स्थानमा डढेलो लागिरहेको छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले वायु गुणस्तर सुधारका लागि राज्यको पर्याप्त लगानी नहुनु, मानवीय चेतनाको कमी, अन्तरनिकायबीच समन्वयको अभावले समस्या उत्पन्न भएको बताउनुहुन्छ ।

छातिरोग विषेशज्ञ डा निरज बमले प्रदूषणका कारण मानवीय स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम रहेको बताउनुभयो । “वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात हुने समस्या देखिनसक्छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक आँखा र छाला चिलाउनेलगायतका समस्या पनि देखिन्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com