अमेरिकामा रिटायर्डका लागि ४० सोसल सेक्युरिटी क्रेडिट बनाउन कति ट्याक्स फाइल गर्नुपर्छ?


प्रकाशित मिति : माघ २१, २०८० आईतबार

तपाई अमेरिकामा सोसल सेक्युरिटी बेनिफिटका लागि योग्य हुन कम्तीमा ४० सोसल सेक्युरिटी क्रेडिट हासिल गरेको हुनुपर्छ । जब तपाई काम गरेर सोसल सेक्युरिटी ट्याक्स तिर्नुहुन्छ, तब यस्तो क्रेडिट हासिल हुन्छ ।

तपाईको रिटार्डमेन्ट वा अपांगताको सुविधाको योग्यता मापन गर्नका लागि सरकारले तपाईले कमाएको क्रेडिटको मात्रा प्रयोग गर्छ । यदि प्रयाप्त क्रेडिट छैन भने सरकारले सोसल सेक्युरिटी बेनिफिट प्रदान गर्दैन ।

सन् १९७८ यता हरेक व्यक्तिले बर्षमा ४ क्रेडिटसम्म प्राप्त गर्नसक्छ । कतै जागिर गरेको वा स्वरोजगार व्यक्तिले यस्तो क्रेडिट प्राप्त गर्न सक्छ । तर उसले बर्षमा कम्तीमा ६ हजार ४० डलर आम्दानी गरेर त्यसको ट्याक्स फाइल गरेको हुनुपर्छ । क्रेडिट प्राप्त गर्नका लागि बर्षभर काम गरेको हुनुपर्दैन, केबल आम्दानीको थ्रेसहोल्ड पूरा गरे हुन्छ ।

क्रेडिट हासिल गर्नका लागि लाग्ने आम्दानीको रकम प्रत्येक बर्ष परिवर्तन हुनसक्छ । सन् २०२२ को हिसाब गर्दा तपाईले हरेक १५१० डलर आम्दानीको लागि १ क्रेडिट प्राप्त गर्नुहुनेछ । अर्थात् तपाईको बर्षभरको आम्दानी १५१० डलर छ भने एक क्रेडिट, ३ हजार २० डलर छ भने २ क्रेडिट, ४५ सय ३० डलर ६ भने ३ क्रेडिट र ६ हजार ४० डलरभन्दा माथि छ भने ४ क्रेडिट प्राप्त गर्न सक्नुहुनेछ ।

focus photography of person counting dollar banknotes

तपाईले जीवनभर तपाईका लागि आवश्यक पर्ने ४० भन्दा बढी क्रेडिट पनि हासिल गर्न सक्नुहुन्छ । तर बढी क्रेडिट हासिल गर्दैमा सोसल सेक्युरिटी बेनिफिट रकम भने बढ्दैन । तपाईले हासिल गर्नुभएको क्रेडिटको कुल संख्याले नभई तपाईले काम गरेको बर्षमा कति औषत आम्दानी गर्नुभएको थियो भन्ने आधारमा तपाईले पाउने सोसल सेक्युरिटी बेनिफिट निर्धारण हुन्छ ।

सन् १९२९ वा त्यो भन्दा पछाडि जन्मिएकाहरुले कम्तीमा १० बर्ष काम गरेर ४० क्रेडिट हासिल गरेको हुनुपर्छ । आम्दानीका कारण ४० क्रेडिट पूरा भएको छैन भने १० बर्षभन्दा बढी समय पनि लाग्नसक्छ । अपांगता भएका कारण कति रकम पाउने भन्ने कुरा कुन उमेरमा अपांगता भएको हो भन्ने कुराले निर्धारण गर्छ । त्यस्तै मृत्युपछि परिवारले सोसल सेक्युरिटी रकम प्राप्त गर्ने कुरा पनि कुन उमेरमा मृत्यु भएको हो भन्ने कुराले निर्धारण गर्छ ।

तपाईले ६२ बर्षको उमेरदेखि सोसल सेक्युरिटी सुविधा रकम लिन थाल्नुभएको खण्डमा कम रकम पाउनुहुनेछ भने ७० बर्षदेखि लिन थाल्नुभएको खण्डमा बढी रकम पाउनुहुनेछ । यदि तपाईले ६५ बर्षपछिमात्र रकम लिन चाहनुभएको खण्डमा ६५ औं जन्मदिनभन्दा तीनमहिनाभित्र मेडिकेयर सुविधाका लागि आवेदन दिनुपर्छ । तपाईले कति क्रेडिट हासिल गरिसक्नुभएको छ भन्ने जाँच्न अनलाइन एकाउन्ट बनाउन सक्नुहुनेछ । वा सोसल सेक्युरिटी एड्मीनिष्ट्रेशनमा सम्पर्क समेत गर्न सक्नुहुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com