के आवेदन दिएको ६ महिनामा युएससीआईएसले ग्रिनकार्डबारे निर्णय दिन सुरु गरेको हो ?


प्रकाशित मिति : फाल्गुन १७, २०८० बिहीबार

युएससीआईएसले आवेदन प्राप्त भएको ६ महिनामा नै सबैलाई ग्रिनकार्डबारे निर्णय दिन लागेका भिडियोहरु सामाजिक सञ्जालहरुमा यत्रतत्र देखिएका छन् । तर यसरी देखिएका भिडियोहरु पूर्णरुपमा सत्य छैनन् । यस्ता केही भिडियोहरुले आवेदकहरुलाई अन्यौलको अवस्था समेत श्रृजना गरेको पाइएको छ भने कतिपयले यी भिडियोहरुको सत्यतथ्य सार्वजनिक गर्न खसोखासलाई अनुरोध समेत गरेका छन् ।

केही भिडियोहरुमा युएससीआईएसले आर्थिक बर्ष २०२४ मा ६ महिनाभित्र ग्रिनकार्ड आवेदनबारे निर्णय दिने योजना बनाएको बताइएको छ भने केहीमा ६ महिनामा युएससीआईएसले ग्रिनकार्डबारे निर्णय दिन सुरु गरेको बताइएको छ । यी भिडियोहरु युएससीआईएसले हालै सार्वजनिक गरेको आर्थिक बर्ष २०२३ को एक रिपोर्टमा आधारित रहेर आइरहेका छन् ।

रिपोर्टमा के छ ?

रिपोर्टमा युएससीआईएसले विभिन्न प्रकारका आवेदनबारे निर्णय गर्ने आफ्नो लक्ष्यको कति नजिक पुगेको छ भन्ने सार्वजनिक गरिएको छ । जस अनुशार ग्रिनकार्ड आवेदनबारे ६ महिनाभित्र निर्णय दिने युएससीआईएसको लक्ष्य रहेको छ । यद्यपी यो लक्ष्य युएससीआईएसले पहिलेदेखि नै तय गर्दै आएको लक्ष्य हो । यो लक्ष्यभन्दा युएससीआईएस निकै टाढा रहेको छ ।

रिपोर्ट अनुशार आर्थिक बर्ष २०२२ मा ग्रिनकार्ड आवेदन आई ४८५ बारे औषतममा झण्डै साढे १५ महिनामा निर्णय दिदै आएको थियो । आर्थिक बर्ष २०२३ मा यसमा केही प्रगति भएको छ । आर्थिक बर्ष २०२३ मा औषतमा साढे १३ महिनामा ग्रिनकार्ड आवेनदबारे निर्णय दिइएको रिपोर्टमा उल्लेख छ ।

त्यसैले साढे १३ महिनाबाट एकैपटक ६ महिनामा झर्नका लागि युएससीआईएसलाई त्यती सहज देखिदैन । सिंगै आर्थिक बर्षमा २ महिनामात्र ब्याकलग घटाउन सफल भएको युएससीआईएसले आर्थिक बर्ष २०२४ मा एकैपटक साढे ७ महिनाको ब्याकलग घटाएर ६ महिनामा झार्ने अपेक्षा तत्काल गर्न सकिदैन । यद्यपी २०२३ को तुलनामा केही छिटो भने हुनसक्ने देखिएको छ ।

के सबैको ग्रिनकार्डबारे निर्णय एउटै समयमा आउँछ?

सबैको ग्रिनकार्डबारे निर्णय एउटै समयअवधिमा आउँदैन । यो ग्रिनकार्डको श्रेणी, सर्भिस सेन्टर र फिल्ड अफिसहरुमा समेत भर पर्छ । फरक फरक श्रेणीका ग्रिनकार्डका लागि निर्णय दिन लाग्ने अवधि फरक फरक हुन्छ । त्यस्तै फरक फरक सर्भिस सेन्टर र फिल्ड अफिसले लगाउने अवधि पनि फरक फरक हुन्छ । साढे १३ महिनाको अवधि केबल औषतमा मात्र निकालिएकाले कतिपयको ग्रिनकार्डबारे योभन्दा छिटोपनि निर्णय हुनसक्छ भने कतिपयको ग्रिनकार्डका लागि यो भन्दा लामो समय लाग्छ ।

उदाहरणका लागि रोजगारमा आधारित ग्रिनकार्डबारे निर्णय हुन क्यालिफोर्निया सर्भिस सेन्टरमा साढे २० महिना, नेब्रास्का सर्भिस सेन्टरमा साढे ३८ महिना, टेक्सास सर्भिस सेन्टरमा साढे ६४ महिना लाग्ने गरेको युएससीआईएसको हालको प्रकृया अवधिमा उल्लेख छ । त्यस्तै परिवारमा आधारित ग्रिनकार्डका सन्दर्भमा न्युयोर्क सिटी, क्वीन्स, बु्रकलिन लगायतका फिल्ड अफिसमा १८ महिना र लङ आइल्याण्डको फिल्ड अफिसमा साढे १५ महिना लाग्ने युएससीआईएसको हालको प्रकृया अवधिमा उल्लेख छ । क्यालिफोर्नियाको सान होजेमा साढे १३ महिना लाग्ने गरेको देखिएको छ ।

एसाइलममा आधारित ग्रिनकार्डमा भने औषतमा साढे ३२ महिना लाग्ने गरेको देखिएको छ । टीभिसामा आधारित ग्रिनकार्डमा साढे ३५ महिना र यु भिसामा आधारित ग्रिनकार्डमा नेब्रास्का सर्भिस सेन्टरमा २१ महिना र भर्मोन्ट सर्भिस सेन्टरमा साढे २८ महिना लाग्ने गरेको देखिएको छ । त्यसको अतिरिक्त ग्रिनकार्ड आवेदकले समयमै पेश गरेका कागजात, मेडिकल रिपोर्ट लगायतका आधारमा समेत ग्रिनकार्डका लागि लाग्ने अवधिमा फरक पर्छ ।

भिसा करेन्ट हुनुपर्ने श्रेणीमा के हुन्छ ?

रोजगारमा आधारित पहिलो बाहेक अन्य श्रेणीका ग्रिनकार्डका लागि भिसा करेन्ट छैन । त्यस्तै परिवारमा आधारित कुनै पनि श्रेणीका ग्रिनकार्डका लागि भिसा करेन्ट छैन । यद्यपी अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष ननाघेका छोराछोरी र बुबाआमाका लागि भने भिसा करेन्ट हुनु पर्दैन । त्यो बाहेक अन्य परिवारका सदस्यहरुलाई लागि स्पोन्सर गर्न र ग्रिनकार्डवाहकले परिवारका कुनै पनि सदस्यहरुलाई स्पोन्सर गर्न भिसा करेन्ट हुनुपर्छ ।

यसको अर्थ भिसा करेन्ट नभएका श्रेणीका ग्रिनकार्ड आवेदकहरुले भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्छ । त्यसपछि अमेरिकाभित्र हुनेहरुले ग्रिनकार्ड आवेदन आई ४८५ पेश गर्न सक्छन् । त्यसपछिमात्र उनीहरुको आवेदनबारे निर्णय हुनका लागि औषत अवधिको गणना हुन्छ । भिसा करेन्ट नभएकाहरुले पनि युएससीआइएसले लक्ष्य लिएको ६ महिनाको अवधि वा हालको एकबर्षभन्दा बढीको अवधिमा ग्रिनकार्डबारे निर्णय प्राप्त गर्न सक्दैनन् ।

रोजगारमा आधारित ग्रिनकार्ड मार्चमा कुन कुन श्रेणीको कुन अवस्थामा छ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

परिवारमा आधारित ग्रिनकार्ड मार्चमा कुन कुन श्रेणीको कुन अवस्थामा छ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

अन्य आवेदनका सन्दर्भमा के छ ?

केही आवेदनका सन्दर्भमा भने युएससीआईएसले लक्ष्य प्राप्त गरिसकेको छ । रोजगारमा आधारित पिटिसन आई १४० बारे ६ महिनाभित्र निर्णय गर्ने युएससीआईएसको लक्ष्य रहेकोमा त्यो भन्दा अगाडि नै अर्थात् औषतमा साढे ५ महिनामा नै युएससीआईएसले निर्णय गरेको छ । त्यस्तै परिवारमा आधारित पिटिसन आई १३० बारे ६ महिनाभित्र निर्णय गर्ने युएससीआईएसको लक्ष्य रहेकोमा आर्थिक बर्ष २०२३ को अन्त्यमा औषतमा साढे १२ महिनामा निर्णय गरिएको युएससीआईएसले जनाएको छ ।

आई १४० को प्रिमियम प्रोसेस, आई १२९ को प्रिमियम प्रोसेसबारे २ साताभित्र निर्णय गर्नुपर्नेमा सो भन्दा कम अवधिमा नै युएससीआईएसले निर्णय गर्ने गरेको छ । एसाइलीका परिवारका सन्दर्भमा दिइने आवेदनमा भने युएससीआईएसले उल्लेख्य प्रगति गरेको छ । त्यस्ता आवेदनबारे २०२२ मा निर्णय गर्न झण्डै २५ महिना लगाएकोमा २०२३ को अन्त्यमा यो अवधि झण्डै ७ महिनामा झरेको छ । यी आवेदनमा ६ महिनाभित्र निर्णय गर्ने युएससीआईएसको लक्ष्य रहेको छ ।

अमेरिकी नागरिकता आवेदनका सन्दर्भमा पनि युएससीआइएसले ६ महिनाको लक्ष्य प्राप्त गरिसकेको छ । नागरिकता आवेदनबारे २०२२ मा निर्णय गर्न झण्डै साढे ७ महिना लगाएकोमा २०२३ को अन्त्यमा यो अवधि ६ महिनाभन्दा कममा झरेको छ । त्यस्तै गैर आप्रवासी स्थीति थप वा परिवर्तनका सन्दर्भमा पनि युएससीआइएसले ३ महिनाको लक्ष्य प्राप्त गरिसकेको छ । यी आवेदनबारे २०२२ मा निर्णय गर्न झण्डै साढे ९ महिना लगाएकोमा २०२३ को अन्त्यमा यो अवधि ३ महिनाभन्दा कममा झरेको छ ।

आई १३० वा आई १४० सँग ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ पेश गरेको खण्डमा निर्णयका लागि लाग्ने समय ग्रिनकार्डमा आधारित हुने युएससीआईएसले प्रष्ट पारेको छ । युएससीआईएसले आई १३०, आई १४० र आई ३६० आवेदनका साथमा स्थिति समायोजन गर्न ग्रिनकार्ड आवेदन दिने व्यक्तिहरूका लागि स्पष्टीकरण जारी गरेको हो ।

त्यस्तै स्थिति समायोजनको लागि ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नेहरुलाई उक्त आवेदनका साथमा मेडिकल तथा खोप रिपोर्ट समेत पेश गर्न युएससीआईएसले सुझाव दिएको छ । आई ४८५ आवेदनका साथमा नै मेडिकल रिपोर्ट पठाउँदा युएससीआईएसले थप कागजातको अनुरोध गर्नुपर्ने आवश्यकता कम हुने युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com