छिटो निर्णयका लागि ग्रिनकार्ड आवेदनसँगै मेडिकल रिपोर्ट पनि पेश गर्न युएससीआईएसको सुझाव


प्रकाशित मिति : फाल्गुन ६, २०८० आईतबार

person sitting while using laptop computer and green stethoscope near

स्थिति समायोजनको लागि ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नेहरुलाई उक्त आवेदनका साथमा मेडिकल तथा खोप रिपोर्ट समेत पेश गर्न युएससीआईएसले सुझाव दिएको छ । आई ४८५ आवेदनका साथमा नै मेडिकल रिपोर्ट पठाउँदा युएससीआईएसले थप कागजातको अनुरोध गर्नुपर्ने आवश्यकता कम हुने युएससीआईएसले जनाएको छ । ग्रिनकार्ड आवेदनका साथमा मेडिकल रिपोर्ट पेश गर्दा आवेदनबारे छिटो निर्णय हुनसक्ने भएकाले आवेदकहरुलाई यस्तो सुझाव दिइएको हो ।

युएससीआईएसले सामान्यतया सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले २ वर्षसम्म मेडिकल रिपोर्टलाई मान्यता दिन्छ । मार्च ३१, २०२३ देखि मेडिकल रिपोर्टको म्यादबारेको नीतिमा युएससीआईएसले पुनरावलोकन गरेको हो । जस अनुशार सिभिल सर्जनले हस्ताक्षर गरेको मितिले मेडिकल रिपोर्टले २ बर्षसम्म काम गर्छ । तर उक्त २ बर्ष म्याद सकिदासम्मपनि ग्रिनकार्ड आवेदनबारे निर्णय हुन नसकेको खण्डमा भने नयाँ रिपोर्ट पेश गर्नुपर्छ ।

त्यस्तै मेडिकल रिपोर्टमा सिभिल सर्जनले हस्ताक्षर गरेको ६० दिनभित्र युएससीआईएसमा पेश गर्नुपर्ने प्रावधानलाई समेत युएससीआईएसले हटाइसकेको छ । सन् २०२१ को डिसेम्बर अगाडि भने अध्यागमन सुविधाका लागि आवेदन दिंदा सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेको ६० दिन नाघिसकेको भएमा त्यस्तो रिपोर्टलाई मान्यता दिइदैनथ्यो । डिसेम्बर ९, २०२१ देखि उक्त नियममा अस्थायी छुट प्रदान गरिएकोमा मार्च ३१, २०२३ बाट उक्त नियममा स्थायी छुट नै प्रदान गरिएको छ ।

ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दाकै समयमा मेडिकल रिपोर्ट पेश गर्नु अनिवार्य छैन । केही आवेदकहरूले मेडिकल रिपोर्ट आफ्नो अन्तर्वार्तामा पनि ल्याउन सक्छन् । तर केही आवेदनहरूलाई अन्तर्वार्ता आवश्यक नहुने भएकाले अन्तर्वार्ता आवश्यक नहुनेहरुको सन्दर्भमा ग्रिनकार्ड आवेदनका साथमा नै मेडिकल रिपोर्ट पठाउँदा प्रकृया सहज र छिटो हुनेगर्छ । अन्तरवार्ता आवश्यक पर्ने नपर्ने निर्णय युएससीआईएसले आवेदन अनुशार गर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com